काठमाडौँ, भदौ ७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल अहिले गम्भीर राजनीतिक तथा राष्ट्रिय संकटको अवस्थामा रहेको बताउनु भएको छ ।
‘बाह्य शक्तिको हस्तक्षेप र नेपालको प्राकृतिक स्रोतसाधनमाथिको विदेशी प्रभाव बढ्दै गएको छ ।’ केसीले भदौ ६ गते कम्युनिस्ट संग्राहलयको चौथो भेलालाई सम्बोधनका क्रममा अगाडि भन्नुभयो– ‘साम्राज्यवादका विरुद्ध राजनीतिक दलहरूबीच कार्यगत एकता आवश्यक छ ।’
केसीले नेपाललाई विदेशी शक्तिले आफ्नो रणनीतिक स्वार्थअनुकूल प्रयोग गर्न सक्ने खतरा रहेको उल्लेख गर्दै त्यसतर्फ राजनीतिक दल र नेपाली जनता सचेत हुनुपर्ने बताउनु भयो । उहाँले नेपाललाई अर्को सिक्किम बन्न नदिन राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्षलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
अध्यक्ष केसीले अमेरिकी साम्राज्यवादले विश्वका विभिन्न मुलुकका प्राकृतिक स्रोतसाधनमाथि आफ्नो प्रभाव विस्तार गरिरहेको दाबी गर्दै नेपालका जलस्रोतलगायत प्राकृतिक सम्पदामाथि पनि विदेशी शक्तिको चासो बढेको बताउनु भयो । उहाँका अनुसार नेपालको स्रोतसाधनलाई बाह्य शक्तिले आफ्नो भू–राजनीतिक स्वार्थमा प्रयोग गर्ने अवस्था सिर्जना भए त्यसले मुलुकको राष्ट्रिय हितमा गम्भीर असर पार्न सक्छ ।
केसीले नेपालको आन्तरिक राजनीतिक कमजोरीले पनि बाह्य हस्तक्षेपका लागि अनुकूल वातावरण बन्न सक्ने चेतावनी दिनु भयो । राजनीतिक दलहरूबीचको विवाद, कमजोरी र विभाजनले साम्राज्यवादी शक्तिलाई नेपालमा खेल्ने अवसर प्रदान गर्ने उहाँको भनाइ थियो।
उनले लोकतन्त्र र गणतन्त्रका लागि संघर्ष गरेका राजनीतिक दलहरूबीच पुनः कार्यगत एकता आवश्यक रहेको बताउनु भयो । अमेरिकी तथा भारतीय प्रभावविरुद्ध राष्ट्रिय हित र स्वाधीनताको पक्षमा सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको केसीको निष्कर्ष छ ।
“दलहरूबीचको कमजोरी र विवादले बाह्य शक्तिलाई खेल्ने अवसर दिन्छ,” केसीले अगाडि भन्नुभयो –“राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षाका लागि राजनीतिक शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य छ।”
केसीले नेपाली जनतालाई राष्ट्रिय स्वाधीनता, प्राकृतिक स्रोतसाधनको संरक्षण र विदेशी हस्तक्षेपविरुद्ध सचेत तथा संगठित हुनसमेत आह्वान गर्नुभएको छ ।

