काठमाडौँ । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजार बढी बिपदका घटना भएका तथा तिनमा दुई सय ५० जनाको मृत्यु भएको छ ।
गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका छन् । ती घटनामा दुई सय ५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार छ सय सात जना घाइते भएका छन् ।
राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्बाट उक्त अवधिमा छ हजार दुई सय ७२ परिवार प्रभावित भएका छन् ।
यस अवधिमा सबैभन्दा बढी आगलागीका एक हजार एक सय ३६ घटना भएका छन् । त्यसैगरी पहिरोका एक हजार ११, सर्पदंशका एक हजार १०, हावाहुरीका चार सय ८०, चट्याङका दुई सय ४५, बाढीका दुई सय ७३ र भारी वर्षाका तीन सय २० घटना भएका छन् ।
प्राधिकरणका अनुसार भदौ ५ गते बिहान ११ बजेसम्म अद्यावधिक भएको विवरणमा जनावरको आक्रमणका दुई सय ७२, लेक लाग्ने ५९, हिमपहिरोका दुई, डुङ्गा पल्टिने एक, वन डढेलोका एक सय ९१, विस्फोटनको एक, असिनाका चार र भूकम्पका चार घटना भएका उल्लेख छ ।
यही भदौ ४ देखि ५ गते बिहान ८ बजेसम्मको विवरणअनुसार देशका विभिन्न भागमा ३३ बिपदका घटना भएका छन् । ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने एक सय ४५ जना प्रभावित भएका छन् ।
प्राधिकरणले त्यस अवधिमा बिपदका कारण अनुमानित रु नौ लाख ७२ हजार बराबरको क्षति भएको तथा दुई स्थानमा सडक अवरुद्ध भएको जनाएको छ ।