दाङ, घोराही । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ–देउखुरीले एलपी ग्यासको अभाव तथा किसानले समयमा मल नपाएको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो ज्ञापनपत्र बुझाएको हो ।
भदौ १ गते, सोमबार जिल्ला प्रशासन दाङलाई दिएको ज्ञापनपत्रमा जिल्ला प्रशासन कार्यालय घोराही, दाङलाई बुझाइएको हो । पछिल्लो समय खाना पकाउने एलपी ग्यासको अभावका कारण सर्वसाधारणमा समस्या बढ्दै गएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ग्यास अभावका कारण कतिपयले ठूलो संख्यामा ग्यास जम्मा गरेको र कतिपयले बिहानैदेखि लाइनमा बस्दा पनि ग्यास प्राप्त गर्न नसकेको गुनासो सामाजिक सञ्जालमार्फत आइरहेको जनमोर्चाले जनाएको छ ।
विशेषगरी बाहिरबाट आएर घरभाडामा बस्ने विद्यार्थी, कर्मचारी तथा मजदुरहरू ग्यासका लागि लामो समय लाइनमा बस्नुपरेको र पालो आउँदा पनि सहज रूपमा ग्यास नपाएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । स्थानीय नागरिकले वैकल्पिक रूपमा दाउरा प्रयोग गर्न सक्ने भए पनि घरभाडामा कोठा लिएर बस्नेहरूलाई त्यस्तो सुविधा नहुने भन्दै उनीहरूमाथि विभेद गर्न नहुने जनमोर्चाले जनाएको छ।
सरकार तथा स्थानीय अधिकारीहरूले सहज आपूर्तिको आश्वासन दिँदै आए पनि समस्या समाधान नभएको भन्दै पार्टीले सबै नागरिकलाई समान रूपमा सहज र सुलभ ढंगले ग्यास उपलब्ध हुने वातावरण बनाउन माग गरेको छ। अन्यथा जनताको अधिकारका लागि सडक संघर्ष गर्न बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमा दिइएको छ।
यसैगरी, किसानले धान रोपेर सक्दासमेत समयमा मल पाउन नसकेको जनमोर्चाले जनाएको छ। दोस्रो पटक मल हाल्ने समयसम्म पनि किसानहरू मलको अभावमा रहेको भन्दै समयमा मलको व्यवस्था नभए वर्षभरि खाने अन्न उत्पादनमा समेत असर पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
जनमोर्चाले किसानका लागि तत्काल मलको व्यवस्था गर्नसमेत जिल्ला प्रशासनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

