१२ मईको आन्दोलन सन् १९८६ (तदनुसार वि.सं. २०४३ वैशाख २९ गते) मा नयाँ दिल्लीमा भएको थियो। त्यो नेपालको एउटा ऐतिहासिक आन्दोलन थियो। आन्दोलन भारतमा भएको भए पनि त्यसको सम्बन्ध नेपालको राजनीतिक व्यवस्थासँग थियो। त्यसैले त्यो नेपालको राजनीतिक इतिहाससँग सम्बन्धित एउटा महत्त्वपूर्ण ऐतिहासिक आन्दोलन थियो।
पञ्चायती तानाशाही व्यवस्था मुर्दावाद !
निरंकुश राजतन्त्र चाहिँदैन !
त्यतिबेला नेपालमा निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था कायम थियो। त्यसअन्तर्गत पञ्चायती निर्वाचन हुन लागेको थियो। नेपालका वामपन्थी तथा प्रजातान्त्रिक पार्टीहरूले उक्त निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए। नेकपा (मसाल) ले पनि पञ्चायती निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो।
त्यही बहिष्कार आन्दोलनको समर्थनमा अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेको थियो। भारत सरकारले उक्त प्रदर्शनका क्रममा १० जना महिलासहित ९५ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो। उनीहरूमाथि शान्ति–सुव्यवस्थामा खलल पुर्याएको आरोपमा मुद्दा चलाइएको थियो र उनीहरूलाई दुईदेखि तीन महिनासम्म हिरासतमा राखिएको थियो।
१२ मईको त्यही ऐतिहासिक आन्दोलनलाई आधार बनाएर नेपाली कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व मोहनविक्रम सिंहले ‘१२ मई’ शीर्षकको नाटक लेख्नुभएको थियो। उक्त नाटकको पहिलो प्रदर्शन सन् १९८९ नोभेम्बरमा (तदनुसार वि.सं. २०४६ कार्तिकको अन्तिम साता) अखिल भारत नेपाली एकता समाजको कानपुरमा सम्पन्न तेस्रो सम्मेलनका अवसरमा भएको थियो।
कानपुरमा पहिलो प्रदर्शन भएको करिब ३७ वर्षपछि अहिले काठमाडौंको प्रज्ञा प्रतिष्ठानको हलमा आगामी २०८३ भाद्र २१ गते ‘१२ मई’ नाटक पुनः प्रदर्शन हुँदै छ। यसको आयोजना रक्तिम सांस्कृतिक अभियानले गरेको हो भने नाटकको रिहर्सल तथा मञ्चनको तयारी काठमाडौंको प्रसिद्ध नाट्य संस्था नेपाल नाट्यघर, सामाखुसीले गरिरहेको छ।
नाटक प्रदर्शनको अवसरमा ‘१२ मई’ नाटकको पुनःप्रकाशन तथा १२ मई आन्दोलनमा गिरफ्तार भएकामध्ये जीवित र काठमाडौंमा उपस्थित हुन सक्ने आन्दोलनकारीहरूलाई अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको छ।
‘१२ मई’ केवल एउटा नाटक मात्र होइन, नेपालको निरंकुश पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध विदेशमा रहेर पनि नेपाली जनताको लोकतान्त्रिक अधिकारका लागि संघर्ष गर्ने आन्दोलनकारीहरूको ऐतिहासिक संघर्षको कलात्मक अभिव्यक्ति हो। यसले त्यस समयको राजनीतिक परिस्थिति, आन्दोलनको उद्देश्य, सहभागीहरूको संघर्ष तथा उनीहरूले सामना गर्नुपरेका कठिनाइहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्दछ।
त्यसैले ‘१२ मई’ नाटकको प्रदर्शनका अवसरमा इतिहासको त्यो महत्त्वपूर्ण अध्यायलाई स्मरण गर्न, आन्दोलनमा सहभागी योद्धाहरूको सम्मान गर्न र नाटकमार्फत त्यस समयको संघर्षलाई बुझ्न तपाईंहरू सबैको गरिमामय उपस्थितिका लागि रक्तिम सांस्कृतिक अभियान हार्दिक सादर अनुरोध गर्दछ।

