केरसिंह अदै, तौलिहवा ।
अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले वर्तमान राज्यव्यवस्थामा आमूल परिवर्तन नगरी आदिवासी जनजातिका समस्या समाधान नहुने दाबी गर्नुभएको छ ।
कपिलवस्तुको चन्द्रौटामा २०८३ साउन ३० गते आयोजित जनजाति सम्मेलनको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
मन्तव्यको क्रममा उहाँले नेपालमा आदिवासी जनजातिलाई कथित ठुला दलले भोट बैङ्कको रूपमा प्रयोग गर्दै आएको बताउनुभयो ।
‘नेपालका आदिवासी जनजातिलाई ठुला भनिएका दलले भोट बैङ्कको रूपमा प्रयोग गर्दै आएका छन्’ उहाँले भन्नुभयो– ‘तर उनीहरूका समस्याको समाधान राज्यव्यवस्थामा आमूल परिवर्तन भएपछि नै सम्भव हुन्छ ।’
अध्यक्ष बुढाथोकीले पछिल्लो समयमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि आदिवासी जनजातिका समस्याको ठोस समाधानमा भ्रम उत्पन्न गरेको आरोप लगाउनुभयो ।
उहाँको भनाइ थियो– ‘राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाले आदिवासी जनजातिका हकअधिकारको नाममा प्रशस्त भ्रम फैलाइरहेका छन् । यसबारे हामी सबैको ध्यान जानुपर्दछ ।’
बुढाथोकी अधिवेशनको उद्घाटनपछि प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै हुनुहुन्थ्यो ।
अधिवेशनलाई अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय सदस्य रामबहादुर विक, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मानबहादुर नेपाली, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य हिमलाल बेलबासे, नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षेत्री र अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष शारदा पौडेलले शुभकामना दिनुभएको थियो ।
अधिवेशनले नरबहादुर घर्तीमगरको अध्यक्ष रहनुभएको ११ सदस्यीय जनजाति सम्मेलन जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रूपलाल जिएम, सचिवमा केहरसिंह पुनमगर, कोषाध्यक्षमा शिवप्रसाद चौधरी तथा सदस्यमा सुशीला राम्जाली, सनबहादुर गुरुङ, शिवशङ्कर थारू, बेगम बुढामगर, ज्ञानबहादुर थापा, झकबहादुर थापा र कर्मराज चौधरी रहनुभएको छ ।
अधिवेशनले मान बहादुर सिँजापति र खगेन्द्र पुनलाई सल्लाहकारमा चयन गरेको छ ।
एवम् प्रकारले सचिवालयमा नरबहादुरर घर्तीमगर, केहरसिंह पुनमगर, रूपलाल घर्ती, शिवप्रसाद चौधरी, बेगम बुढामगर र कर्मराज चौधरी रहनुभएको अधिवेशनमा जानकारी दिइएको छ ।
नयाँ समितिलाई अप्फाका जिल्ला अध्यक्ष सिद्धि आचार्य र कतार नेपाली एकता समाजका पूर्व महासचिव खिम बुढामगरले बधाई दिनुभएको थियो ।
अधिवेशनमा नरबहादुर घर्तीमगरले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन, केहरसिंह पुनमगरले आर्थिक प्रतिवेदन र नयाँ समितिको प्यानल प्रमुख अतिथि निमबहादुर बुढाथोकीले प्रस्तुत गर्नुभएको थियो ।
नरबहादुर घर्तीमगरको अध्यक्षता तथा केहरसिंह पुनमगरको सञ्चालनमा अघि बढेको अधिवेशनका सहभागीलाई मनबहादुर सिँजापतिले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिमका कलाकारले गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो ।


