धनपति सापकोटा, राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी
राष्ट्रिय जनमोर्चाको बाइसौँ केन्द्रीय प्रशिक्षणमा भाग लिन आउनुभएका धनपति सापकोटाज्यूलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।
० आरामै हुनुहुन्छ ?
:: अझै ठिकै छु, धन्यवाद ।
० अनि तपाईं त अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को केन्द्रीय कार्यवाहक अध्यक्ष हुनुहुन्छ । त्यति महŒवपूर्ण सङ्गठनको अध्यक्षको दैनिक काम छोडेर यो प्रशिक्षणलाई महŒव दिनुको कारण के होला ?
:: विनाविचार र विनाप्रशिक्षण अध्यक्ष नै भए पनि काम छैन । हुन त यसभन्दा अगाडि पनि मैले कैयौँ प्रशिक्षण लिइसकेको छु तैपनि यस्तो मौकामा प्रशिक्षण एकपटक लिँदैमा पूर्ण हुँदैन । यसलाई पटकपटक लिनुपर्छ । यसबाट विगतमा सुनेका विषयहरू ताजा हुन्छन् र कैयौँ नयाँ विषय सुन्न पाइन्छ । यसले सङ्गठनात्मक कामलाई निश्चय नै बल पुर्याउँछ भन्ने मलाई लाग्छ ।
० तपाईं भारतदेखि अन्टुकको केन्द्रीय सदस्य, महासचिव हुँदै अध्यक्षसम्म बन्नुभयो । आफैँले पनि देशव्यापी रूपमा प्रशिक्षण चलाउँदै हिँड्नुभयो । तपाईंले तल तल्लो तहमा चलाएको प्रशिक्षण र यहाँ सम्पन्न भएको प्रशिक्षणमा के फरक पाउनुभयो ?
:: तल चलाइने प्रशिक्षण त्यहाँका साथीहरूले कति बुझ्न सक्नुहुन्छ ? त्यसका आधारमा चलाउनुपर्ने हुन्छ । यहाँ हामीले लिएको प्रशिक्षण उच्चस्तरीय हो । सामान्य मान्छेलाई यहाँ ल्याइयो भने उहाँहरूले यो प्रशिक्षण बुझ्न सक्नुहुन्न । शब्द तथा अवधारणाका कुरा हुन्छन् । त्यसैले यो उच्चस्तरीय प्रशिक्षण हो । आवश्यक पनि थियो ।
० अहिलेसम्मको प्रशिक्षणमा कुनकुन विषयमा बढी महŒव दिइयो ?
:: आजसम्म धेरै विषयमा छलफल भइसकेको छ– विश्वदृष्टिकोण, द्वन्द्वात्मक भौतिकवाद, समाजवाद, साम्यवाद, नयाँ जनवादलगायतका विषयमा । धेरै विषयमा हामीले प्रशिक्षण लिएका छौँ र ती नोट पनि गरेका छौँ । यसपालि एउटा नयाँ र अघिपछि नभएको विषय भनेको आइकोरको बारेमा हो । आइकोरका बारेमा पहिले सुनेका त थियौँ तर यसको सङ्गठनात्मक ढाँचा, नीति, कार्यनीति र यो कुन रूपमा सङ्गठित छ भन्ने विषयमा सुभाष जिसीले क्लास दिनुभयो । त्यो धेरै राम्रो लाग्यो ।
० त्यो अरूभन्दा फरक थियो भन्न खोज्नुभएको ?
:: हजुर । फरक र नयाँ थियो ।
० यो प्रशिक्षणमा तपाईंहरूको पार्टीका नेताले मात्रै प्रशिक्षण दिनुहुन्छ कि बाहिरका विषयविज्ञले पनि ?
:: सुरुमा भक्तपुरमा दुईमहिने क्लास सञ्चालन गर्दा पार्टीभित्र र बाहिरका विभिन्न विषयविज्ञ आएर प्रशिक्षण दिने गर्नुहुन्थ्यो तर अहिले बाहिरका विज्ञहरू खासै हुनुहुन्न । मुटुरोग विशेषज्ञ डा. सुमन्त बञ्जाडे आउनुभएको थियो । उहाँले स्वास्थ्य, मुटुरोग लाग्ने कारण र यसबाट बच्ने उपायको विषयमा प्रशिक्षण दिनुभयो, जुन धेरै उपयोगी लाग्यो । अरू विषयमा भने पार्टीभित्रकै नेता तथा साथीहरूले कक्षा चलाउनुभएको छ ।
० यस प्रशिक्षणमा व्यावहारिक प्रशिक्षणको कुरा पनि आएको छ । यो व्यावहारिक प्रशिक्षण भनेको के हो ? सामान्य बैठक वा अरू क्लासभन्दा यो कुन मामलामा फरक छ ?
:: सैद्धान्तिक प्रशिक्षणलाई व्यावहारिक रूपमा कसरी परिणत गर्ने र सिद्धान्तलाई व्यवहारमा कसरी लागु गर्ने भन्ने विषयमा यसमा छलफल भयो । यसको ढाँचा कस्तो छ भने सुरुमा विषयविज्ञले विषयवस्तु प्रस्तुत गर्नुहुन्छ । त्यसपछि सहभागी छलफलमा जान्छौँ । आफ्ना विचार र सुझावहरू साथीहरूले राख्नुहुन्छ । यसरी दोहोरो संवाद र गहन छलफल भएपछि अन्त्यमा प्रशिक्षकले निष्कर्ष निकाल्नुहुन्छ । एकहोरो सुनाउँदा सहभागीले कति बुझ्यो/बुझेन भन्ने थाहा हुँदैन तर यो दोहोरो संवादले प्रशिक्षार्थी र प्रशिक्षक दुवैलाई मदत पुर्याउँछ । पढाएको मान्छेले कति बुझ्यो भन्ने कुरा प्रशिक्षकलाई पनि प्रस्ट हुन्छ ।
० सैद्धान्तिक प्रशिक्षण र व्यावहारिक प्रशिक्षणका विषय एउटै हुन्छन् कि अलगअलग ?
:: मूल विषयवस्तु उस्तै भए पनि प्रस्तुत गर्ने तरिका र ढङ्ग अलि फरक छ ।
० प्रशिक्षणमा सहभागी भइरहँदा तपाईंलाई सबैभन्दा बढी चित्त बुझेको वा प्रस्टसँग बुझेको विषय कुन थियो ?
:: यी सबै विषय पहिला पनि लिएकै विषय हुन् । आइकोरका बारेमा नयाँ कुरा बुझ्ने मौका पाइयो । द्वन्द्वात्मक भौतिकवादका बारेमा धेरैपटक प्रशिक्षण लिएको भए पनि भुलेका वा छुटेका कतिपय कुराहरू पुन: सम्झिने मौका मिल्यो । यसले गर्दा द्वन्द्वात्मक भौतिकवादबारे अझ बढी प्रस्ट भएको महसुस गरेको छु ।
० प्रशिक्षणबाट फर्केर फिल्डमा जाँदा अन्टुकलाई व्यवस्थित र जुझारु बनाउन यसले कत्तिको मदत पुर्याउँछ ?
:: एकदमै मदत पुर्याउँछ । अगाडि काम गर्नका लागि यसले ठुलो ऊर्जा र मदत दिएको छ । अहिले नेपालमा मजदुर सङ्गठन केही कमजोर अवस्थामा छ । एक त उद्योगधन्दाको कमीले गर्दा मजदुरको सङ्ख्या नै कम छ । अर्कातिर भएका मजदुरलाई पनि विभिन्न पार्टीले आफ्नो भोट बैङ्कका रूपमा मात्र प्रयोग गरिरहेका छन् । वास्तविक मजदुरका हकअधिकार के हुन् र तिनलाई कसरी सुनिश्चित गर्ने भन्नेभन्दा पनि सत्तामा जानका लागि प्रयोग गर्ने प्रवृत्ति छ ।
यसलाई चिर्दै हाम्रो अन्टुकले उद्योग, निर्माण, होटल, यातायात, कृषिलगायत असङ्ख्य क्षेत्रका मजदुरलाई सङ्गठित गर्दैछ । यति मात्र होइन, मिडिया हाउसमा काम गर्ने श्रमजीवी पत्रकार वा बैङ्कमा कम्प्युटरमा काम गर्नेजस्ता बौद्धिक श्रम गर्ने मजदुरका समस्यामा आधारित रहेर उनीहरूलाई सचेत र सङ्गठित गर्ने योजना छ । यो प्रशिक्षणपछि बस्ने केन्द्रीय बैठकले ठोस योजना बनाएर हामी देशैभरि लाग्नेछौँ ।
० वर्तमान सरकारले अदालत वा विभिन्न माध्यमबाट ट्रेड युनियन अधिकारमाथि अङ्कुस लगाउने प्रयास गरिरहेको सन्दर्भमा सङ्घर्षमा उत्रिन यो प्रशिक्षणले के मदत गर्यो ?
:: यसले वैचारिक रूपमा मदत पुर्याएको छ । ट्रेड युनियन अधिकार खोसिएको विषय प्रशिक्षणका क्रममा पनि उठेको छ । सरकारको यो कदम अन्तर्राष्ट्रिय कानुनको सिधा उल्लङ्घन हो, जसमा नेपालले पनि हस्ताक्षर गरेको छ । मजदुर अधिकारमाथि अङ्कुश लगाउनु तानाशाही प्रवृत्ति हो । यसका विरुद्ध अन्तर्राष्ट्रिय र राष्ट्रिय रूपमा विभिन्न मजदुर सङ्गठनसँग मिलेर संयुक्त रूपमा विरोध गरिरहेका छौँ र सङ्घर्षलाई अझ अगाडि बढाउनुपर्ने आवश्यकता छ ।
० यस सम्बन्धमा तत्काल आन्दोलन घोषणा गर्ने अवस्था छ कि छैन ?
:: तत्कालै देशै ठप्प पार्ने खालको बृहत् आन्दोलनको अवस्था त छैन किनभने मजदुरका चेतनाको स्तर र सङ्गठनात्मक अवस्था अझै सोचेजति बलियो भइसकेको छैन । अर्कातिर, सरकारले पनि आन्दोलनमा लागे विदेश जान नपाइने वा दागी भइनेजस्ता भ्रम फैलाएर अङ्कुश लगाउने प्रयत्न गरिरहेको छ । त्यसैले परिस्थितिअनुसार हामी आन्दोलन उठाउँदै अगाडि बढ्ने प्रयत्नमा छौँ ।
० अन्त्यमा युगदर्शन मिडियामार्फत भन्नुपर्ने थप केही कुरा छन् ?
:: युगदर्शन मिडियाले गरिबदुखी जनताका आवाज बुलन्द गर्दै आएको छ । सरकार र विभिन्न राजनीतिक दलका गलत क्रियाकलाप, अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्ध यसले जुन खबरदारी गरिरहेको छ, त्यसका लागि युगदर्शन मिडियालाई धेरैधेरै धन्यवाद तथा शुभकामना छ ।