गत आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा सामाजिक सद्भाव बिथोलियो । एक महिनाअघि मनाइसकिएको मोहर्रम पर्वको पताका नहटाइएको तथा बोलबम भजनको क्रममा राति चर्को आवाजमा डिजे बजाइएकोजस्ता विषयमा सो विवाद भएको थियो । त्यस क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको तत्कालै र अर्कोको केही दिनपछि निधन भएको थियो । त्यसपछि उक्त विवादको दुष्प्रभाव मधेस प्रदेशका अन्य जिल्लामा पनि फैलियो । यसै घटनाको दुष्प्रभावले सिराहामा थप एक जनाको मृत्यु भयो । ठाउँठाउँमा झडप हुँदा मानिसहरू घाइते भए; तोडफोड, आगजनी, लुटपाट पनि त्यत्तिकै भए । मधेस प्रदेशमा यसरी सामाजिक सद्भाव बिथोलिँदा सिङ्गो देश नै गृहयुद्धमा जाने हो कि भन्ने आशङ्का उत्पन्न भयो ।
सामाजिक सद्भाव यसरी बिथोलिएका बेला गृहमन्त्री सुधन गुरुङ सक्रिय भए । प्रधानमन्त्री बालेन्द्र शाह पनि ढिलो गरी भए पनि सक्रिय भएर राष्ट्रको नाममा सम्बोधन गरे । यता, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सरकारसँगै सक्रिय भए । त्यति बेलासम्म सामाजिक सद्भाव कायम राख्नुपर्छ भन्ने सवालमा एक प्रकारले देशभरि नै राष्ट्रिय सहमति कायम भइसकेको अवस्था थियो । राजनीतिक दल, स्थानीय धार्मिक सङ्घसंस्था, नागरिक समाज सबैले त्यसमा जोड दिएसँगै सद्भाव र्याली निकालिएको थियो । त्यसको प्रभाव काठमाडौँसम्मै देखिएको थियो । ठिक यही बेला रास्वपा सभापति लामिछानेले सुनसरी पुगेर हिन्दुमुस्लिम धर्मका अगुवाहरूसित वार्ता गरे । वार्तापछि हात मिलाइएको सामूहिक तस्बिरसँगै संयुक्त अपिल पनि जारी गरियो । उता, गृहमन्त्री गुरुङसँग धनुषामा संयुक्त हिन्दु मोर्चाको नाममा वार्तापछि मागपत्र बुझाइयो । मागपत्र बुझाइएपछि फेरि अर्को चरणको वार्ता पनि भएको थियो । मागपत्रको पहिलो बुँदामा नै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने र त्यसक लागि तीन महिनाभित्र सरकारले नै अभियान थालनी गरिनुपर्ने, धार्मिक पर्वमा हातहतियार प्रदर्शन गर्न नपाइने वा चर्को आवाज गर्न नपाइने, प्रधानमन्त्रीका सल्लाहकार असीम साहलाई हटाइनुपर्नेलगायतका माग समावेश गरिएका थिए । अहिले आएर सुनसरी र धनुषाका यी दुई वार्ता र मागपत्रको सन्दर्भमा वार्तामा सहभागी हुने तथा हस्ताक्षर गर्ने कतिपय व्यक्तिहरू सत्तारूढ दल रास्वपाकै नेताकार्यकर्ता भएको सार्वजनिक भएको छ । सुनसरीमा हस्ताक्षर गर्ने राजुराज फुयाँल रास्वपाको गत महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए, यद्यपि उनी पराजित भएका थिए । उनीसँगैका अर्का व्यक्ति रामचन्द्र तिवारी पनि रास्वपाकै नेता हुन् । यता, गृहमन्त्री गुरुङलाई मागपत्र बुझाउने शनि भगत पनि रास्वपाकै जनकपुर–८ का वडासभापति हुन् । यसरी सुनसरी घटनाको सन्दर्भमा सत्तारूढ रास्वपामा दुई पक्षको भूमिका आफै निर्वाह गर्ने दोहोरो चरित्र देखा परेको छ ।
कतिपयले परिणाममा रास्वपाको यस्तो भूमिकाले तत्काल बेफाइदा नगरेकाले विमति राख्नुपर्ने आवश्यकता नभएको बताउका छन् तर यससँगै विजायती तथा अन्तरविरोधी प्रवृत्तिले प्रश्रय पाएको स्पष्ट छ । यसरी सत्तारूढ दलकै नेताकार्यकर्ताका यस खालको दोहोरो भूमिका आगामी दिनमा पनि यथावत् रहने हो भने सरकारलाई अप्ठ्यारो त पर्नेछ नै, यसभन्दा अगागि यसबाट देश र जताका सामु गम्भीर चुनौती उत्पन्न हुनेछ । यसरी सस्तो लोकप्रियताका लागि जे पनि गर्ने सत्तारूढ दलका नेताकार्यकर्ताको कच्चा भूमिकाले देशलाई फाइदाभन्दा घाटा नै पुर्याउनेछ, यद्यपि लोकप्रियतावाद रास्वपाको सामान्य चरित्रगत विशेषता बनिसकेको छ । फेरि पनि जब सत्तारूढ दलमा नै यस खालको समस्या देखा पर्दछ, यसको दुष्प्रभाव धेरै गम्भीर हुनेछ । त्यसैले सत्तारूढ पार्टीले यस्तो लोकप्रियतावादी तथा दोहोरो चरित्रबाट आफूलाई मुक्त राख्नुपर्दछ । यस्तो गर्नु स्वयम् रास्वपाको राजनीतिक भविष्यका लागि पनि सकारात्मक कार्य हुनेछ । आशा गरौँ, रास्वपाले यस विषयमा समयमै गम्भीरतापूर्वक ध्यान दिनेछ ।
(युगदर्शन साप्ताहिक वर्ष १७, अङ्क ४३, २०८३ साउन २० गते प्रकाशित)