विषय प्रवेश
मानव समाज अध्ययनका दृष्टिले जटिल प्रवर्ग हो । यसको अध्ययन बेग्लाबग्लै प्रकारले हुने गरेका छन् र त्यस आधारमा विभिन्न निष्कर्ष निकालिएका हुन्छन् । समाजलाई अध्ययन, विश्लेषण गर्ने क्रममा विभिन्न चरहरू सिर्जना गरिएको पाइन्छ; जस्तै :
१) लिङ्गको आधारमा – पुलिङ्ग, स्त्रीलिङ्ग, तेस्रो लिङ्गी, लिङ्गविहीनता
२) प्रजातिको आधारमा – आर्य, मङ्गोल, निग्रो ।
३) धार्मिक सम्प्रदायको आधारमा – चार विश्व धर्म (हिन्दु, बौद्ध, क्रिस्चियन, मुस्लिम) र अन्य धर्म तथा धार्मिक सम्प्रदाय (पन्थ)
४) जातिको आधारमा – मूल जाति र त्यस जातिभित्रको थर/उपधर विभाजन
५) भौगोलिक आधारमा – हिमाल, पहाड, तराई सँगसँगै हावापानी वा मौसमको आधारमा समेत
६) अर्थतन्त्रको आधारमा – शोषक र शोषित, धनी, गरिब र मध्यम वर्ग (पुँजीवादी व्यवस्थामा पुँजीपति र सर्वहारा)
७) अधिकारको आधारमा – कुलीन र जनसाधारण, राजा र प्रजा, अतिविशिष्ट समूह र जनसाधारण
८) विचारधाराको आधारमा – दर्शन, नीति, सिद्धान्त र विचारअनुसार पुँजीवादी, वैज्ञानिक समाजवादी, परम्परागत वा प्राकृतिक, आधुनिक आद्योगिक, सामन्ती
९) संस्कृतिको आधारमा – फरकफरक स्थान, जाति, धर्मअनुसार
१०) समयावधिको आधारमा – आदिवासी/मूलबासी र गैरआदिवासी वा प्रवासी
११) सामाजिक स्तरको आधारमा – जनजाति र गैरजनजाति
यी केही उदाहरण मात्र हुन् । समाजलाई बेग्लाबेग्लै प्रकारले अध्ययन–अनुसन्धान गरेर निष्कर्ष निकाल्न सकिन्छ ।
मगर जाति
मगर जाति मङ्गोल प्रजातिअन्तर्गतको एउटा जातीय समुदाय हो । यो नेपाली राष्ट्रियताअन्तर्गतको तेस्रो ठुलो जातीय समुदाय हो । नेपालको हकमा यो जाति पूर्वी र उत्तरी दिशाबाट प्रवेश गरेको मानिन्छ, त्यो पनि एकै समयमा वा एकै भौगोलिक क्षेत्रबाट नभएर फरकफरक समयमा । मगर जाति न्यूनतम रूपमा पाँचपटक, फरकफरक क्षेत्रबाट नेपाल भूखण्डमा प्रवेश गरेको मानिन्छ ।
मगर जातिको भाषा भोटबर्मेली भाषा परिवारभित्र पर्दछ । यस अर्थमा मगर जातिको भाषा पनि मूलतः मङ्गोल प्रजातिका भाषासित सम्बन्धित रहेको देखिन्छ । भाषाअध्येता लोकबहादुर थापामगरका अनुसार मगर जातिभित्र चारअोटा भाषा रहेका हुन् । ती हुन्– १) ढूट मगर भाषा, २) खाम/पाङ मगर भाषा, ३) काइके मगर भाषा, ४) पोइके मगर भाषा (थापामगर, २०७९, पृ. ६–१७) । यी चारओटा भाषा पृथक भाषा नै हुन्, भाषिका होइनन् । यस सन्दर्भमा थापामगर लेख्छन्– “भाषाविज्ञानले ६० प्रतिशतको सीमा निर्धारण गरेको पाइन्छ । दुई वा दुईभन्दा बढी भाषाहरूको तुलना गर्दा यदि ६० प्रतिशतभन्दा बढी अथवा माथि समानता पाइयो भने ती भाषाहरू पृथक भाषा नभएर एउटै भाषाका भाषिका वा क्षेत्रीय भेद हो भन्ने मानिन्छ भने यदि ६० प्रतिशतभन्दा कम समानता रहेको पाइयो भने ती भाषाहरू फरकफरक भाषा रहेको भन्ने छनोटको विधि अपनाइएको पाइन्छ” (उही, पृ. १०३–०४) । त्यसो भए मगरका चार भाषाबिचको भिन्नता कति छ त ? यसबारेमा उनको अध्ययनको निष्कर्ष छ– “यी चार भाषाहरूको शब्दात्मक तुलना गर्दा सबभन्दा बढी सम्बन्ध काइके र पोइकेबिच ३४ प्रतिशत, दोस्रो– ढूट र खाम/पाङबिच १८ प्रतिशत, तेस्रो– खाम र पोइकेबिच १३ प्रतिशत र चौथो– ढूट, काइके र पोइकेबिच १२ प्रतिशतले मात्र सम्बन्ध रहेको देखिन्छ” (उही, पृ. १०४–०५) । भाषिक रूपमा मगर भाषा कति समृद्ध छ भन्ने थापामगरको अध्ययनलाई आधार बनाएर निष्कर्ष निकाल्न सकिन्छ ।
यहाँ मगरभित्रका चार भाषाको माझमा भिन्नतामाथि ध्यान केन्द्रित गर्नुको कारण यो हो– वास्तवमा मगर जातिभित्र धेरै नै विविधता पाइन्छ र यस्तो विविधता लामो समयपछिको अभ्यासपछि मात्रै अस्तित्वमा आउन सक्दछ । यस आधारमा पनि हामी अनुमान लगाउन सक्दछौँ : मगर जाति विविध उपजाति, भाषा, संस्कार र संस्कृति बोकेको जातीय समुदाय हो । जब हामी मगर जातिभित्रका थर/उपथरको अध्ययनमा प्रवेश गर्दछौँ, हामीले यस्ता विविधताभित्र प्रवेश गर्नुपर्ने हुन्छ तर यो लेखमा हामी मुख्यतः थर/उपथर वा उपजाति निर्माणको कारणमा नै सीमित रहनेछौँ ।
अन्य समुदायसित सम्बन्धको परिणाम
माथि नै सङ्केत गरिसकिएको छ, मगर जाति फरकफरक समयमा पूर्वी र उत्तरी दिशाबाट नेपाल प्रवेश गरेको थियो । यसरी फरकफरक दिशाबाट नेपाल प्रवेश गरेर लामो समयसम्म रहनबसन गर्दा अन्य विषय जस्तै थर/उपथर निर्माणका आधार तयार भएको देखिन्छ ।
नेपालको अपेक्षाकृत सानो भूगोलभित्र पनि पूर्वमा किराँत सभ्यता र पश्चिममा खसआर्य सभ्यता रहेको इतिहासकारहरू बताउँछन् । किराँत सभ्यता बागमतीसम्मै फैलिएको छ । तामाङ किराँत सभ्यताको पश्चिमतर्फबाट सीमान्त जाति हो । मध्य क्षेत्रमा मङ्गोल प्रजातिअन्तर्गत गुरुङ (तमु) र मगरको बाहुल्यता रहेको पाइन्छ । मगर सभ्यताभित्र पनि मध्यपश्चिम नेपालभित्रै बाह्रमगरात र अठार मगरातजस्तो सामाजिक विविधता कायम छ । बाह्रमगरात मुख्यतः मगर साम्राज्य (यहाँ साम्राज्यलाई ‘साम्राज्यवाद’ को अर्थमा लगाइएको छैन) को भूमि भए पनि नेपाल एकीकरणको पूर्वाद्र्धसम्म आउँदा यसभित्र खसआर्यका विभिन्न राज्य कायम भएका थिए । बाह्रमगरातभन्दा बाहिरको अठार मगरात त झन् बढी खसआर्य साम्राज्यसित सम्पर्कमा थियो । अठार मगरातभन्दा बाहिर पूर्वतिर भने किराँत सभ्यतासित सम्बन्धमा थियो ।
नेपाली समाजको इतिहासको सामान्य अध्ययन गर्दा मगर जाति पूर्वका किराँत सभ्यताको सम्पर्क/सम्बन्धमा रह्यो । सायद सोही कारण हुन सक्छ, पूर्वका केही विद्वान्हरूले मगर जातिलाई किराँत सभ्यताभित्रको जाति मानेका छन् । त्यसैगरी, मगरका संस्कार, संस्कृतिलाई पनि उनीहरूले किरात संस्कार/संस्कृति (मुन्धुम धर्मग्रन्थ) सित सम्बन्धित बताएका छन् । यता, पश्चिमतिरको प्रसङ्ग बेग्लै छ । पश्चिमतिर भने मगर जाति खस साम्राज्यसित सम्मिलनको प्रक्रियामा रहेको पाइन्छ यद्यपि पक्कै पनि प्रारम्भमा उनीहरूको खस साम्राज्यसित युद्ध भयो होला नै । त्यसका बाबजुद लामो समयदेखि मगर र खस जाति सम्मिलनको प्रक्रियामा रहिरहेका छन् । त्यसको तीनओटा प्रमाण प्रस्तुत गर्न सकिन्छ ।
ती हुन् :
१) मगर र खस जातिका एउटै थर छन्; जस्तै : थापा, बुढाथोकी, राणा/राना, भुजेल, घर्ती आदि ।
२) मगर र खसका संस्कार/संस्कृतिमा दुवैको पारस्परिक अस्तित्व स्वीकार गरिएको अवस्था छ । मगरका संस्कारमा ब्राह्मणको सहभागिता हुन्छ भने कोटघर वा मन्दिरमा मगर जातिका पुजारी रहने प्रचलनलाई खसआर्यले सहर्ष स्वीकार गरेको पाइन्छ ।
३) खसआर्यका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण हुँदा मगर जातिको पनि सहभागिता रहेको थियो । स्वयम् पृथ्वीनारायण शाहको दरबारमा समेत मगर जातिको पहुँच देखिन्छ ।
यी केही उदाहरणले बताउछन्, पूर्वी नेपालमा एउटै प्रजाति (मङ्गोल) को हुनुको बाबजुद किराँत जातीय समुदायसित मगर जाति सम्मिलनको प्रक्रियामा त्यति घनीभूत प्रकारले सामेल भएको पाइन्न । यता, पश्चिममा भने यस्तो सम्मिलन बढी घनीभूत र वर्तमानपर्यन्त यथावत् छ । भन्न सकिन्छ : यदि नेपालमा अहिलेसम्म सामाजिक/धार्मिक सहिष्णुता छ भने त्यसका पछाडिको कारण यही मगर–खसआर्य सम्मिलन प्रक्रिया हो यद्यपि पछिल्लो समयमा यस्तो सम्मिलनको विरुद्ध जातिवाद प्रायोजित गर्ने प्रयास गरिएको छ तर यस्तो दृष्प्रयासले आजसम्म सफलता प्राप्त गरेको छैन ।
मगर जातिको यस्तो सम्मिलन खसआर्यसित मात्रै होइन, अन्य जातिसित पनि छ; जस्तै : गुरुङ र थारू समुदायसित । यसको प्रमाणस्वरूप दुईओटा प्रमाण प्रस्तुत गर्न सकिन्छ :
१) गुरुङ र मगरका संस्कार/संस्कृति र भेषभूषामा कतिपय समानता छन्; जस्तै : झ्याउरे, घाँटुजस्ता सांस्कृतिक सम्पदा यी दुवै जातिका एउटै छन् । अर्कोतर्फ, मगर र गुरुङको परम्परागत भेषभूषा एउटै छ । घलेक, लुङ्गी, गादो, कछाडजस्ता नसिलाइएको कपडा यी दुबै जातिका परम्परागत पहिरन हुन् । यस सन्दर्भमा उल्लेखनीय छ, नसिलाएर लगाउने कपडा नै प्राचीन पहिरन हुन्, आधुनिक पहिरनको इतिहास कपडालाई टुक्रा पारेर सिलाएपछि मात्रै सुरु हुन्छ ।
२) मगर र थारू समुदायमाझ मनोवैज्ञानिक समानता छ यद्यपि थारू जातीय समुदाय तराईको समथर भूभागमा सभ्यता निर्माण गरेको जातीय समुदाय हो भने मगर सभ्यता पहाडमा । त्यसका बाबजुद यी दुवै जातिमा ‘हामी’ मनोविज्ञान पाउन सकिन्छ । यी दुवै जातीय समुदायमा ‘अरूलाई दुःख दिनुहुन्न’ भन्ने निश्छल मनोविज्ञान पाउन सकिन्छ । सम्भवतः यही कारणले हुन सक्छः थारू र मगरको माझमा जातीय झैझगडा भएका उदाहरण पाउन सकिन्न । यही अवस्था गुरुङसितको सम्बन्धको हकमा सत्य हो ।
उपर्युक्त सङ्क्षिप्त चर्चाबाट एउटा तथ्य प्रारम्भमा नै स्पष्ट हुन्छ : मगर जाति अरू समुदायसित द्वन्द्वको अवस्थामा होइन, सम्मिलनमा सहज रहने जातीय समुदाय हो । अर्कोतर्फ यही कारणले नै हुन सक्दछ, मगर जातिभित्र डेढ हजारभन्दा बढी थर/उपथर हुनुका बाबजुद उनीहरू माझ वर्णाश्रम (कास्टिजम) को प्रभाव छैन । सबै मगर थर/उपथर समान मानिन्छन् । सबै थर/उपथरसित सबैको विवाहवारी सम्बन्ध कायम हुने गर्दछ । यसबाट अर्को तथ्य यो पनि स्पष्ट हुन्छ– उनीहरूभित्रका डेढ हजार बढी थर/उपथर मगर जातीय सद्भावको मार्गमा कहिल्यै पनि बाधक बन्ने गरेको छैन ।
थर/उपथर निर्माणका आधार
सर्वप्रथम त प्राकृतिक प्रकारले कसरी एउटै जातिभित्र पनि कसरी धेरै थर/उपथर बन्दछन् भन्ने चर्चा गरौँ ।
मानव समाजमा स्थान, काम/पेसा, रङ र संस्कृति आदि कारणले थर/उपथर बन्ने गरेको समाजशास्त्रीहरू बताउँछन् । उदाहरणका लागि ‘तिमिलो’ फल पाइने स्थानका वासिन्दाको थर ‘तिमिल्सिना’ बन्नु । त्यस्तै, खस साम्राज्यअन्तर्गत ‘भण्डार’ को जिम्मेवारी पाएकालाई ‘भण्डारी’ भनिनु अर्को उदाहरण हो । त्यसै प्रकारले ‘कालो’ वा ‘गोरो’ रङको आधारमा पनि थर/उपथर निर्माण भएको पाइन्छ ।
मगर जाति पनि विविधतामुक्त जातीय समुदाय भएकाले यसभित्र पनि प्राकृतिक प्रकारले थर कायम भएको मान्न सकिन्छ । विष्णु गुरुङले गरेको मगर जातिको थर/उपयरससम्बन्धी एउटा अध्ययनमा यस्तो देखिएको छ । सो अध्ययनमा ‘अर्घौली’, ‘काला’, ‘कालापाहा’, ‘तामे’, ‘लामिछाने’, आछामी’, ‘झाक्री’, ‘पहाडी’ (गुरुङ, २०८१, पृ. ४–२३) थर उल्लेख गरिएको छ । त्यस्तै, कतिपय मगर जातिको उपथर खसआर्यका थर/उपथरसित मिल्ने प्रकृतिका पनि छन्; जस्तै : ‘खड्का’ (पृ. ४), ‘भण्डारी’ (पृ. ६), ‘गन्धर्व’ (पृ. ८), ‘दर्नाल’ (पृ. ११), ‘जैसी’ (पृ. १६), ‘बराल’ (पृ. २३) । यसरी अन्य जातीय समुदायसित सम्मिलनको क्रममा विभिन्न थर/उपथर आत्मसात गर्ने परम्परा मगर जातिमा पनि पाइन्छ ।
अब प्रवेश गराँै, मगर जातिभित्र थर/उपथर विभाजनको मानवनिर्मित आधारतर्फ ।
क) बाह्रमगरात र अठार मगरात
तत्कालीन मगर राज्य रहेको समयलाई आधार मानेर बाह्मगरात र अठार मगरात भूगोल विभाजन गरिएको पाइन्छ । खासगरी हालको पाल्पा अर्थात् बल्ढेङगढी राज्यको सेरोफेरो र त्यसभन्दा पूर्वको भूभागलाई बाह्मगरात, जहाँ बाह्रओटा मगर राज्य थिए र त्यसभन्दा पश्चिमको भूभागलाई अठार मगरात मानिन्छ, जहाँ अठारभन्दा बढी मगर राज्य थिए ।
यस सन्दर्भमा डा. मीन श्रीसले बमकुमारी बुढालाई उद्धृत गर्दै लेखेका छन्– “रिडीदेखि पश्चिम महाकालीसम्मको भूभागलाई अठार मगरात र रिडीदेखि पूर्व गोरखासम्मको भूभागलाई बाह्रमगरात मानिन्थ्यो (श्रीस, २०७५, पृ. ५७) । यद्यपि इतिहासकारमाझ बाह्रमगरात र अठार मगरातको सीमा वा क्षेत्रबारे सर्वसम्मति पाइदैन । कतिपयले मर्स्याङ्दी नदीदेखि प्युठान हुँदै भेरी नदीसम्म भूभागलाई बाह्रमगरात मानेका छन् तर जे होस्, यिनै बाह्रमगरात र अठार मगरातको आधारमा बाह्रपन्थी र अठाह्रपन्थी मगरका थर/उपथर बनेको दाबी श्रीसको छ (उही, पृ. ५७–५८) ।
केशरजङ्ग बरालमगरलाई उद्धृत गर्दै डा. श्रीसले मगरका दुई मूल पुर्खाको जेठोका अठार भाइ छोरा राप्ती क्षेत्रमा फैलिँदा अठारपन्थी र कान्छोका बाह्र भाइ छोराहरू गण्डकी (मर्स्याङ्दी पश्चिम) क्षेत्रमा फैलिँदा बाह्रपन्थी मगरका थर/उपथर बनेको दाबी गरे (उही, पृ. ५७–५८) । यस खाल (चार नाल, तीन भर, बाह्र नाल) का दाबी अन्य विद्वान्हरूले पनि गरेको पाइन्छ ।
मगर जातिकै वंशावलीको प्रसङ्गमा डा. श्रीसले बागलुङ, गुल्मी र अर्घाखाँचीको मगर थर/उपथरवारे बेग्लै जानकारी दिएका छन् । बागलुङ गल्कोटका तीर्थबहादुर श्रीसलाई स्रोतको रूपमा उद्धृत गर्दै उनले मुख्यतः श्रीस, धर्ती र पुनमा प्रत्येकमा चार नाल ‘सामी, खामी, दगामी र भलामी’ बनेको बताइएको छ । यी चार नालबाट प्रत्येक तीन थरमा तीन/तीनका दरले १२ खाल बनेको दाबी पनि उनको छ (श्रीस, २०७५, पृ.४९–५०) । उनका अनुसार १२ खाल यस प्रकार रहेका छन् :
१) सामी – सामी श्रीस, सामी पुन, सामी घर्ती
२) खामी – खामी श्रीस, खामी पुन, खामी घर्ती
३) दगामी – दगामी श्रीस, दगामी पुन, दगामी घर्ती
४) भलामी – भलामी श्रीस, भलामी पुन, भलामी घर्ती
डा. श्रीसले जेठो हाँगो अठारपन्थी मगरअन्तर्गत बुडा/बुढाथोकी, पुन, घर्ती र रोकाका विभिन्न थर, अठारपन्थीअन्तर्गतकै चारनाल, बाह्रखाल समूहमा श्रीस, पुन, घर्ती, त्यस्तै कान्छो हागो बाह्रपन्थी मगरअन्तर्गत थापा, राना, आलेको विवरण प्रतुत गरेका छन् । उनले बाह्रमगरात, अठार मगरातबाहिर पनि विभिन्न थर/उपथर रहेको सङ्केत गरेका छन् । यसरी मगरका थर/उपथरको सन्दर्भमा, खासगरी बाह्रमगरातभित्र चार नाल, तीन घर, बाह्र खालको व्यापक सञ्जाल फैलिएको देखिन्छ ।
ख) सांस्कृतिक आधार
विभिन्न जातिमा विवाह वा पेसागत आधारमा थर/उपथर निर्माण भएजस्तै अवस्था मगर जातिमा पनि छ । त्यसमध्ये परम्परागत विवाह नहुँदाको अवस्थामा नवविवाहित दम्पतिको नयाँ थर उत्पत्ति सामान्यतः सबै जातिमा पाइन्छ । त्यस्तै कर्म/पेसाको आधारमा पनि थर उपथरको स्थापना हुने गरेका छन् । डा. श्रीस र बरालमगरलाई उद्धृत गर्दै गुरुङ लेख्छन्– “मगर समुदायमा पूजाआजा गर्ने संस्कारलाई ॅपोन्या’ र ॅपुजारी’ लाई पोन भनिन्छ । पछि यही कार्य गर्नेको सन्तानलाई नै पुन भनिएको हो । पुन थरभित्र पनि विभिन्न उपथर छन्; जस्तै : पहरो सफा गर्ने पहरे, पूजालाई दुध ल्याउने दुध पुन, थान बनाउनेलाई थाने पुन, गाईको गोबर, गहुँत र फलफूल जम्मा पारिदिनेलाई सुत पुन भनिएको किंवदन्ती रहेको छ (गुरुङ, २०८१, पृ. ४) । उनले नेपाल मगर सङ्घको प्रतिवेदनको प्रसङ्ग उठाउँदै मगरका मुख्य थर/उपथरको रूपमा आले, घर्ती, थापा, पुन, बुरा/बुढा (बुढाथोकी), राना, रोका, सारू आदिलाई प्रस्तुत गरेका छन् । यसरी मगरका थर/उपथर निर्धारणमा प्रशस्त मतमतान्तर रहेको देखिन्छ । सोहीअनुसार थर/उपथरको सङ्ख्या पनि धेरैथोरै रहेको देखिन्छ ।
ग) कालाशेष र गोराशेष
मगर जातीय समुदायमा थर/उपथर निर्धारणमा अरू पनि आधार पाउन सकिन्छ । त्यसमध्ये ‘कालाशेष र गोराशेष’ एउटा हो । यो अवधारणा मुख्यत वमकुमारी बुढाले अगाडि सारेकी हुन् । उनका अनुसार रुकुम जिल्लाको हुकाम मैकोटमा एउटा ओडार थियो । त्यो ओडारमा अरिङ्गाल थियो । अरिङ्गाल बस्ने त्यो कालो गुफाबाट निस्केका मगरलाई ‘मोल्पा’ (कालो) भनियो भने जौ छर्ने ‘पोल्मा’ (गोरो) खोरनजिकबाट निस्केकालाई ‘पोल्मा’ भनियो । यही किंवदन्तीलाई आधार बनाएर कालाशेष (मोल्पा) र गोराशेष (पोल्मा) शब्दाबली प्रचलनमा आयो (शिवाकोटी, २०७५, पृ. १०१–०२) । पछिल्लो समयमा छालाको रङको आधारमा गरिएको यस्तो सामाजिक विभाजनले प्रष्ट रूपमा थर/उपथर विभाजन पाएको त देखिन्न । फेरि पनि बाह्रमगरातका मगर बासिन्दालाई ‘गोराशेष’ र अठार मगरातका मगर बासिन्दालाई ‘कालाशेष’ को रूपमा उल्लेख गरिने समाजशास्त्रीय प्रचलन अझै पनि पाउन सकिन्छ ।
वास्तवमा मानिसको छालाको रङ वंशानुगत निरन्तरता, स्थानीय हावापानी र आहारको गुणस्तरको आधारमा निर्धारण हुन्छ भन्ने वैज्ञानिक मान्यता छ । त्यस आधारमा विचार गर्दा ‘कालाशेष’ र ‘गोराशेष’ सम्बन्धी अवधारणाले हामीलाई सत्यतर्फ नपुर्याउने स्पष्टै छ । फेरि पनि यस शब्दावलीले कुनै समयमा बाह्रमगरातका मगर गोरा र अठार मगरातका मगर कालो रङका हुन्थे कि भन्ने सामान्य अनुमानलाई मात्र बताउँछ ।
घ) अन्य आधार
त्यस्तै, खसआर्यसित सम्पर्कको क्रममा कैयौँ विभेद मगर जातिमा पनि देखा परेको पाउन सकिन्छ यद्यपि यस्ता भेद वस्तुगतभन्दा सांस्कृतिक प्रकारका बढी छन् । ती विभेद यस प्रकार छन् :
१) जनै लगाउने र नलगाउने आधारमा
२) सुँगुर खाने र नखाने आधारमा
३) भौगोलिक दिशाको आधारमा– उत्तर र दक्षिण वा पूर्व र पश्चिमको आधारमा
४) खसआर्य थरसित थर मिल्ने वा नमिल्ने आधारमा
५) पूर्वज कुन जातिसित सम्बन्धित थियो भन्ने किंवदन्तीको आधारमा
थर/उपथरको सङ्ख्या
माथि नै उल्लेख गरिएको छ, मगरका उपथर करिब डेढ हजारभन्दा बढी छन् । त्यस क्रममा थर विभाजनमा नै भिन्नता पाउन सकिन्छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले गराएको अध्ययन मगरका थर नौ प्रकारका छन् । ती हुन– १) आलेमगर, २) घर्तीमगर, ३) थापामगर, ४) पुनमगर, ५) बुरा/बुढा (बुढाथोकी) मगर, ६) रानामगर, ७) रोकामगर, ८) सारूमगर, ९) मुख्य पदिक (थर) नबोकेका मगर । यसअन्तर्गत आलेमगरभित्र २५२, घर्तीमगरभित्र ६९, थापामगरभित्र ५७६, पुनमगरभित्र १९४, रोकामगरभित्र ३४, सारूमगरभित्र २५ र घर नबोकेका मगरभित्र २८ उपथर छन् (गुरुङ, २०८१, पृ. ४–२३) । कतिसम्म भन्ने एउटै शब्दसँग मिल्दोजुल्दो थुप्रै उपथर छन्; जस्तैः सिरस, सिरिस, शिरिष, श्रीस, दगाई श्रीस, भलाइँ श्रीस, श्रीरीष ।
गोमविक्रमले मगरका ७ थर उल्लेख गरेका छन् । ती हुन्– १) आलेमगर, २) घर्तीमगर, ३) थापामगर, ४) पुनमगर, ५) बुरा/बुढाथोकी मगर, ६) रानामगर र ७) रोकामगर । यसअन्तर्गत आलेमगरका २४६, घर्तीमगरका ४९, थापामगरका ६६३, पुनमगरका ५३, बुरा/बुढाथोकीका २६, रानामगरका १८६ र रोकामगरका २ बढी गरी कुल १,११३ (गोमविक्रम, २०८०, पृ. ९) । पछिल्ला अध्ययनले भने यी थर/उपथरको सङ्ख्या झनै बढेको देखिन्छ ।
शिवाकोटीले मगरका थरहरू राना, थापा, आले, घर्ती, बुढाथोकी, पुन, आग्री, बेङमासी, एसमाली, गुरुङचन, भुरुङचन, भस्की, रेवाली, हिस्की, रगाल, सिदारी, थुमसिङ बताएका छन् । उनले तिब्बतको बाइजाबाट रोल्पा आइबसेका मगरमा बैजाली, रोकाजस्ता थरको उल्लेख गरेका छन् (शिवाकोटी, २०७५, पृ. १११) । त्यस्तै उनले आले, घर्ती, थापा, पुन, बुढाथोकी, बुढा, रानाजस्ता मगरका एक हजारभन्दा बढी उपथरका नाम दिएका छन् ।
डा. श्रीसले मुख्यतः जेठो हाँगो अठारपन्थी र कान्छो हागो बाह्रपन्थीको रूपमा मगरका उपथरको विवरण दिएका छन् । अठारपन्थीअन्तर्गत पनि उनले चारनाल (बाह्र खाल) समूह प्रस्तुत गरेका छन् (श्रीस, २०७५, पृ. १६४–१८९) । उनले जेठो हाँगो अठारपन्थीअन्तर्गत बुडा/बुढाथोकी, पुन, घर्ती र रोकाअन्तर्गत उपथर विभाजन गरेका छन् । अठारपन्थीकै चारनाल (बाह्र खाल) अन्तर्गत श्रीस, पुन र घर्ती थर निश्चिन गरिएको छ । त्यस्तै, कान्छो हाँगो बाह्रपन्थीअन्तर्गत थापा, राना र आले थर निश्चत गरिएको छ । बाह्रपन्थी मगरभित्र अत्यधिक उपथर रहेको उनले देखाएका छन् ।
मगर र पुन
सामान्यतः पुनलाई मगरभित्रैको पुनमगर मानिएको छ तर पछिल्लो समयमा पुन समुदायले आफूलाई मगरभन्दा पृथक थरको रूपमा सङ्गठित गरेका छन् । त्यस क्रममा ‘पुन समाज नेपाल’ नै गठन भएर स्वतन्त्र रूपमा गतिविधि गरिरहेको देख्न सकिन्छ । हुन त पुन समाज गठन भए पनि सम्पूर्ण पुन थरले आफूलाई मगर समुदाय वा मगर सङ्गठनबाट अलग गरिसकेको अवस्था छैन । नेपाल मगर सङ्घको नेतृत्वमा नै पुनको उपस्थिति रहने गरेको छ ।
माथि नै सङ्केत गरिसकिएको छ, पुन थर मगर जातिभित्र पुजारीको कर्म वा पेसाबाट गठन भएको विश्वास रहिआएको छ । हालसम्मका समाजशास्त्रीय अध्ययनले पनि पुनलाई मगर जातिभन्दा पृथक थरको रूपमा पृष्टि गरेको छैन । बढीमा मगर जातिभित्रको मानव विकास सूचकाङ्कको हिसाबले केही अगाडि बढेको हुन सक्ने जातीय समुदायको रूपमा पुनलाई लिन सकिएला ।
समग्र मगर र पुनको एकल जातीय सङ्गठनको रूपमा सङ्गठित हुने प्रक्रिया सँगसँगै सुरु भएको तथ्य भेटिन्छ । २०१२ फागुन २७–२९ गते गुल्मीको भार्सेमा स्थापना भएको “मगर समाज सुधार सङ्घ” २०३८ माघ २८–२९ गते रुपन्देहीको बुटवल भेलाबाट “नेपाल लाङ्घाली परिवार सङ्घ” हुँदै २०४८ माघ १०–११ गते काठमाडाँैमा सम्पन्न लाङ्घाली परिवारकै चौथो महाधिवेशनले ॅनेपाल मगर सङ्घ’ स्थापना गरेको देखिन्छ । यता, २०१३ माघ १३–१५ गते म्याग्दीको तत्कालीन हिस्तान गाउँ विकास समितिको औलोमा पुनमगरको समिति बनेको पाइन्छ । त्यसपछि २०६२–६३ सालको राजनीतिक परिवर्तनको सेरोफेरोमा पुन समाजले आफूलाई मगरभन्दा फरक जातिको रूपमा सङ्गठित र सूचीकृत गराउने प्रयास गर्दछन् (गुरुङ, २०८१, पृ. २४–२७) । २०६८ माघ १५ गते पुन समाजको तेस्रो राष्ट्रिय सम्मेलनले गरेको मगरभन्दा पृथक पुनलाई सूचीकृत गर्नुपर्ने माग अन्ततः सरकारबाट पूरा भएको छ । फलस्वरूप २०७८ सालको बाह्रौँ राष्ट्रिय जनगणनाले पुन थरलाई पृथक जातिको रूपमा गणना गरेको देखिन्छ । सो गणनामा मगरको कुल सङ्ख्या २०,१३,४९८ हुँदै गर्दा पुनको जनसङ्ख्या ९,८२७ रहेको देखिन्छ (नेपाल गभर्मेन्ट, सन् २०२३, पृ. १/५) । पुनको यो सङ्ख्या आफैमा सन्तोषजनक नभएको स्पष्ट छ । खासगरी पुन र मगर जातिका माझ छुट्याउनै नसकिने समानताका कारण पुनको पहिचान गर्न नसकिएको हो भन्न सकिने अवस्था छ ।
अध्ययन–अनुसन्धानको क्रममा मगर जातिभित्र पुन थरको प्रशस्त उल्लेख हुने गरेको देखिन्छ । करिब करिब सबैजसो अध्येताले मगर जातिभित्रका थरको उल्लेख गर्ने क्रममा पुनलाई पनि समावेश गरेका छन् । डा. श्रीसले पुनलाई “तीन थर” भित्रै राखेका छन् (श्रीस, २०७५, पृ. ४९–५०) । उनले अठारपन्थी मगरको जेठो हाँगो र चारनाल (बाह्र खाल) अन्तर्गत पुन थरका विभिन्न उपथर उल्लेख गरेका छन् (उही, पृ. १६४–१६८) । गुरुङले पुनलाई चौथो रोलक्रममा राखेर त्यसका १९४ ओटा उपथर उल्लेख गरेका छन् (गुरुङ, २०८१, पृ. १६–१८) । प्राडा शिवाकोटीले पनि पुनमगरका विभिन्न थरको विवरण दिएका छन् (शिवाकोटी, २०७५, पृ. ११३) । यी केही उदाहरण मात्र हुन् । वास्तवमा पुन थर मगर जातिभित्रकै अभिन्न अङ्गको रूपमा रहेको देखिन्छ । केही परिवारको बाहेक समग्र पुनको मानव विकास सूचकाङ्क माथि नभएकैले पुनलाई मगर जातिबाट छुट्याउन नसकिएको हो ।
थापामगरको सन्दर्भ
मगर जातिभित्र थापामगरको विषयमा कैयाँै तथ्य छन् । यद्यपि ‘थापा’ भोटबर्मेली भाषा परिवारअन्तर्गतको शब्द हो । ‘था’ को अर्थ सिमाना र ‘पा’ को अर्थ ‘मानिस’ जोडेर ‘थापा’ थरको अर्थ ‘सिमानाको मानिस’ रहेको मानिन्छ (गोमविक्रम, २०८०, पृ. ९–१०) । यसैअनुसार सिमानाको रक्षा गर्ने वा गढ/गढी थाम्ने सिपाहीको रूपमा थापामगर थरको संज्ञा दिइने गरेको दाबी रहेको छ ।
सम्भवतः ‘थापा’ सैन्य कर्मसँग जोडिएकाले पनि हुन सक्दछ, खसआर्य समुदायमा पनि ‘थापाक्षेत्री’ थर छ । उनीहरूले पनि ‘थापा’ नै लेख्छन् । कतै कतै विषय स्पष्ट गर्नुपर्यो भने मात्र ‘थापाक्षेत्री’ लेख्दछन् । यसकारणले पनि ‘थापामगर’ थरसित विवाद वा कतिपय अस्पष्टता जोडिन पुग्दछ ।
‘थापा’ मगर जातिभित्रको एउटा थर हो । यसभित्र ५०० भन्दा बढी उपथर छन् । बरु ‘थापाक्षेत्री’ भित्र यति धेरै थर नहोलान् तर ‘थापामगर’ भित्र झन् बढी उपथर छन् । प्रा. केशरजङ्ग बरालमगरलाई उद्धृत गर्दै गोमविक्रमले थापामगरका ५५३ उपथर रहेको बताएका छन् (गोमविक्रम, २०८०, पृ. ९) । यता, गुरुङले थापामगरका ५७३ उपथर देखाएका छन् (गुरुङ, २०८१, पृ. ९–१६) । डा. श्रीसले त कान्छो हाँगो बाह्रपन्थीमगरअन्तर्गत ६१४ उपथर उल्लेख गरेका छन् (श्रीस, २०७५, पृ. १६९–८९) । त्यस्तै शिवाकोटीले थापामगरका करिब ३०० थर देखाएका छन् (शिवाकोटी, २०७५ पृ. ११२) । यसरी ॅथापामगर’ मगर जातिभित्र सर्वाधिक उपथर रहेको जातीय समुदाय हो भन्ने देखिन्छ ।
एकै थरका धेरै उपथर
‘थापामगर’ का मात्रै धेरै उपथर रहेको होइन, अन्य थरका पनि धेरै उपथर रहेको स्थिति मगर समुदायमा देखिन्छ । उदाहरणका लागि बाह्रपन्थी मगरअन्तर्गत गाहाका १२ भेद, डर्लामीका १४ भेद, बगालेका १० भेद, सारूका २६ भेद देखिन्छन् (श्रीस, २०७५, पृृ. १६८–८९) । त्यस्तै अर्घाको नामबाट थुप्रै मगरका उपथर बनेको पाइन्छ । एवम् प्रकारले उपथरमध्ये खानका ६, दर्लामीका ७, रेस्मीका ७, श्रीसका १२, सेरपुर्जाका ६ भेद रहेको पाइन्छ (गुरुङ, २०८१, पृ. ४–१८) । यसरी मगर समुदायका उपथरभित्र पनि विभिन्न भेद रहेको तथ्यबाट सामाजिक जटिलताको अवस्था देखा पर्दछ । यसले मगर जातिभित्रका थर/उपथरको सवालमा थप विस्तृत अध्ययन–अनुसन्धानको माग गर्दछ ।
निष्कर्ष
कुनै खास भूगोलमा लामो समयसम्म बसोबास गरिरहँदा एउटै रक्तसम्बन्धमा आधारित समाज अन्ततः जाति बन्न पुग्दछ । उनीहरूको साझा आर्थिक जीवन मात्रै हँुदैन, संस्कार–संस्कृति, मनोविज्ञान पनि एकै प्रकारको हुन्छ । जन्मदेखि मृत्युसम्मका संस्कार र अन्य विभिन्न अवसरमा गरिने सांस्कृतिक क्रियाकलाप पनि एकै प्रकारको हुन जान्छ । यसरी यस्ता साझा विशेषता र चरित्र रहेको रक्तसम्बन्धको विरासत बोकेको सामाजिक समुदायलाई जाति भन्न सकिन्छ ।
समाज गतिशील छ । त्यस क्रममा जातिभित्रका विभिन्न संस्कार, संस्कृति र मनोविज्ञानमा पनि परिवर्तन आउन थाल्दछ । जीविकोपार्जनको क्रममा फरकफरक भूगोलमा पुग्दा त्यहाँको बाह्य परिवेशको प्रभाव जातिमा पनि पर्दछ । यसरी आन्तरिक र बाह्य कारणले गर्दा जातिभित्र थर र थरभित्र उपथर बन्न पुग्दछन् । त्यति मात्रै होइन, उपथरभित्र पनि विभिन्न भेद देखा पर्दछन् ।
मगर जातिभित्र पनि थर/उपथर विभाजनमा यिनै कारणले काम गरेको देखिन्छ । त्यसमध्ये एउटा सांस्कृतिक कारण विवाह हो । परम्पराभन्दा फरक प्रकारले विवाह हुँदा त्यो दम्पत्तिको सेरोफेरो फरक उपथर कायम हुन्छ । फेरि पनि त्यो मगर जातिभित्रैको एक जाति मानिन्छ । त्यस्तै, कुनै स्थानविशेषमा बसिरहँदा प्रारम्भमा परिचयका लागि प्रयोग गरिने शब्दले पछि गएर जाति वा थर/उपथरको रूपधारण गर्दछ । एवम् प्रकारले, छालाको रङको आधारमा पनि थर/उपथर निर्माण हुन पुग्दछ । यसबाहेक राज्यको फैसलाको आधारमा वा प्रशासनिक क्षेत्र विभाजनको आधारमा पनि जातीय थर/उपथर कायम हुन जान्छ । यस प्रकार सबै जातिमा जस्तै मगर जातिमा थर/उपथरको उत्पत्ति हुन्छ । यसै क्रममा मगर समुदायमा पनि १,५०० भन्दा बढी उपथर निर्माण भएका छन् । त्यति मात्रै होइन, एउटै उपथरभित्र पनि विभिन्न भेद उत्पन्न हुन्छन् यद्यपि यस्तो भेदले उपथरको मान्यता पाउन्न । फेरि पनि सामाजिक अध्ययनको सन्दर्भमा यस्ता भेदको महत्व रहन्छ नै ।
दक्षिण एसियाका भारतीय आर्यमा हिन्दु धर्मले जातीय थर/उपथरलाई वर्णाश्रमभित्र समेटेको पाइन्छ । पछि जयस्थिति मल्लको समयमा त्यसले नेपालमा प्रवेश गर्दछ । १९१० सालमा तत्कालीन श्री ३ जङ्गबहादुर राणाले मुलुकी ऐन नै बनाएर वर्णाश्रमलाई नेपाली कानुन बनाउँछन् । त्यसले गर्दा जातीय विभेद र छुवाछुतजस्ता सामाजिक विकृति उत्पन्न हुन्छ र तिनले भयावह सामाजिक रूप लिन पुग्दछ । हाम्रो देशमा पनि दलित समुदायको समस्या यस्तै छ । त्यसका विपरीत मगर जातिका विभिन्न थर/उपथरका माझमा यस खालका विभेद छैनन् । मगरका सबै थर/उपथरका माझमा विवाहवारी चल्दछ । छुवाछुत विभेदको अस्तित्व छैन । यो सकारात्मक सामाजिक संस्कृतिको रक्षा गर्नुपर्ने आवश्यकता छ ।
सूचना प्रविधिको उच्च विकाससँगै विश्व साँघुरो गाउँमा सीमित हुँदै गइरहेको समयमा हामी छौँ । यस्तो अवस्थामा जातीय सम्मिलनको प्रक्रिया पनि बढ्दै गइरहेको छ । अन्तरजातीय विवाह क्रमशः सामान्य परिघटना बन्न थालेको छ । यस्तो सामाजिक परिवर्तनशीलतासँगै उपथरमाझको भेद गौण बन्ने, उपथर र थरका माझको अन्तर पनि मधुरो बन्दै जाने तथा थरमाझको अन्तर पनि क्रमशः कमजोर हुने निश्चित छ । सामाजिक एकता वस्तुगत आवश्यकता बनिरहेको अवस्थामा मगर जातिभित्रका थर/उपथर विभाजनको आधार पनि झन् कमजोर बन्दै जानेछ । अन्ततः जातीय विभेदको स्थानमा प्रजातीय र प्रजातीय विभेदको विकल्पमा सिङ्गो मानव प्राणीको एकता कायम भएरै छोड्नेछ ।
सन्दर्भ सामग्री
गुरुङ, बी. (२०८१). मगर जातिको थर र उपथरहरू. काठमाडौँ : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
गोमविक्रम (२०८०). मगर संस्कृति, परम्परा र गरिमा. काठमाडौं : भुँडीपुराण प्रकाशन ।
थापा, एल.बी. (२०७९). मगर भाषा : तुलनात्मक विश्लेषण (ढूट, खामापाङ, काइके र पोइके).
काठमाडौँ : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
शिवाकोटी, जी. (२०७५). मगर जाति. काठमाडौँ : पैरवी प्रकाशन ।
श्रीसमगर, एम. (२०७५). मगर जातिको इतिहास. हङकङ : मगर सङ्घ ।
Nepal Government (2023 AD). National Population and Housing Census 2021, National Report on caste/ethnicity, language & Religion. Kathmandu: National Statistics Office.
२०८३ जेठ २५ गते । बुढानीलकण्ठ–१०, काठमाडौँ । फोन– ९८४९३८८६३२ । Email: p.thapa@outlook.com