धनविर पुनमगर ##
जिन्दगीको कटघरामा,
क्षणिक समयको सीमाङ्कनमा,
आँखाको एक झिम्काभित्र—
के गुमाएँ मैले ?
आफैँले आफैँलाई प्रश्न गर्छु।
खोज्छु, नियाल्छु,
यथावत् पाउँछु
सबै वस्त्र, वस्तु।
तर फेरि आफैँलाई सोध्छु—
मैले गुमाएको के हो?
समयसापेक्ष,
वा दुवैको सम्बन्ध उल्टो?
पर्खन्छु, खोज्छु,
छाम्छु, नियाल्छु।
मौरीको रित्तो घार देख्छु।
तर उत्तर भेट्दिनँ।
फेरि पनि नियालिरहन्छु—
खोजेको, वा चाहेको के हो?
झमक्क साँझ पर्छ।
किटिर–किटिर किराको स्वर,
चिपिक–चिपिक जुनकिरीको झिलिमिली।
मनमा आशाको सानो झिल्को बल्छ,
तर आफैँलाई थाहा छैन—
के गुमाएँ मैले?
धर्म कि अधर्म?
वा अझै केही—
नामै नदिइएको ‘सत्य’?
यी सबै
फजुल छन्,
वाहियात छन्।
तर पनि
मनभित्र एउटा
प्रचण्ड इच्छा बाँकी छ—
गुमाएको खोज्ने,
हराएको भेट्ने।
जब कसैले सोध्छ—
“के हो?”
“को हो?”
“कस्तो हो?”
हिरा?
शोहरत?
दौलत?
सेतो?
कालो?
मुस्कुराएर भन्छु—
तीमध्ये कुनै पनि होइन।
आफ्नो भन्नु त
एक छाक अन्न,
एक आङ ढाक्ने वस्त्र,
र वर्षाबाट जोगिने
सानो झुप्रो मात्र हो।
तर ऊ मौन छ।
उत्तर दिँदैन।
नाम- होइन,
दाम- होइन,
सायद विवेक,
सायद स्वतन्त्रता,
वा अन्यायसँग लड्ने
मेरो आफ्नै आवाज।
किनकि
मैले केही गुमाएको छु,
केही हराएको छु—
त्यो ‘सत्य’ हो,
निर्विवाद ‘सत्य’।
म खोजिरहेछु
त्यो हराएको ‘सत्य’,
जुन फर्किएपछि
मानिस फेरि मानिस हुनेछ।
त्यस दिन
न धर्मको व्यापार हुनेछ,
न अधर्मको शासन।