काठमाडौँ । विश्वकप फुटबलको समूह चरणअन्तर्गत पहिलो राउन्डका सबै खेल सकिएका छन्। बिहीबार बिहान समूह के र एलका खेल सम्पन्न भएसँगै पहिलो चरण पूरा भएको हो।
पहिलो चरणपछि समूह बी, जी र एचका सबै टोलीले १/१ अंक जोडेका छन्। अन्य समूहमा मेक्सिको, दक्षिण कोरिया, स्कटल्यान्ड, अमेरिका, अस्ट्रेलिया, जर्मनी, आइभरी कोस्ट, स्विडेन, नर्वे, फ्रान्स, अस्ट्रिया, कोलम्बिया, इंग्ल्यान्ड र घानाले ३/३ अंक हासिल गरेका छन्।
जर्मनीले समूह ईमा कुराकाओलाई ७–१ ले हराउँदै पहिलो राउन्डकै सबैभन्दा ठूलो जित दर्ता गर्यो भने स्पेन समूह एचमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकियो।
एसियाली टोलीमध्ये अस्ट्रेलिया र दक्षिण कोरियाले ३ अंक जोडेका छन्। जापान, इरान, साउदी अरेबिया र कतारसँग १/१ अंक छ भने इराक, जोर्डन र उज्वेकिस्तान अंकविहीन छन्।
दोस्रो राउन्डका खेल बिहीबार रातिदेखि सुरु हुँदैछन्। समूह एका मेक्सिको–दक्षिण कोरिया तथा चेकिया–दक्षिण अफ्रिका भिड्नेछन्। समूह बीका स्विट्जरल्यान्ड–बोस्निया एन्ड हर्जेगोभिना र क्यानडा–कतार खेल्ने तालिका छ।