काठमाडौं । कप्तान लियोनल मेस्सीको शानदार ह्याट्रिकको मद्दतमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ।
अमेरिकाको कान्सास सिटीस्थित रंगशालामा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
छैटौँ पटक विश्वकप खेल्दै नयाँ कीर्तिमान बनाएका मेस्सीले विश्वकप इतिहासमा पहिलो पटक ह्याट्रिक गरेका हुन्। साथै, उनले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानसमेत बराबरी गरेका छन्।
मेस्सीले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
खेलको सुरुआतमै उनले एक गोल गरे पनि अफसाइडका कारण उक्त गोलले मान्यता पाएको थिएन। यस्तै, अल्जेरियाले गरेको एक गोल पनि अफसाइडकै कारण रद्द भएको थियो।
यस जितसँगै अर्जेन्टिनाले तीन अंक जोड्दै समूह ‘जे’ को शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ।
ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा आफ्नो कुल गोल सङ्ख्या १६ पुर्याएका छन्। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका हुन्।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सी अल्जेरियाविरुद्धको खेलसँगै विश्वकपको छैटौँ संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन्।
उनले सन् २०१० को विश्वकपबाहेक अन्य पाँच विश्वकपमा गोल गरेका छन्। साथै, अघिल्ला पाँचै विश्वकपमा असिस्ट गर्दै लगातार पाँच संस्करणमा असिस्ट गर्ने दुर्लभ कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्।
चार वर्षअघि कतारमा सम्पन्न विश्वकपमा मेस्सीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वविजेता बनाएका थिए।
यस्तै, विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि उनकै नाममा छ। अल्जेरियाविरुद्धको खेल मेस्सीको विश्वकपमा २७औँ खेल थियो।

