• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

बर्खासँगै लेक उक्लिए गोठाला, बुकीपाटनतिर फर्कियो हिमाली जीवन


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ), असार १ । आकाशमा बर्खे बादल मडारिन थालेका छन्। पहाडका ढिस्काहरू हरियालीले ढाकिँदै छन्। यही मौसमसँगै पश्चिम बागलुङका गोठालाहरू पनि आफ्नो पुरानो जीवनचक्र दोहोर्‍याउँदै वस्तुभाउ लिएर लेकतर्फ उक्लिन थालेका छन्।

    Advertisement

    काँधमा खाद्यान्न र दैनिक उपभोगका सामग्रीको भारी, अगाडि–पछाडि सयौँ गाईभैँसी, भेडाबाख्रा र तिनका ससाना पाठापाठी। पसिनाले निथ्रुक्क भिजेको शरीर र अनुहारभरि यात्राको थकान बोकेका गोठालाहरू मध्यपहाडी लोकमार्ग र निसीखोला–ढोरपाटन सडकका विभिन्न खण्डमा यतिबेला सजिलै भेटिन्छन्। सेताम्य भेडाका बथान र गाईभैँसीका हुलले सडक नै भरिभराउ देखिन्छ। उनीहरू आफ्नै लय र गतिमा खर्क तथा बुकीपाटनतर्फ उक्लिरहेका छन्।

    हरेक वर्ष वर्षायाम सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसानहरू लेक–बेँसीको परम्परागत जीवनशैलीअनुसार बुकीपाटन पुग्ने गर्छन्। गत असोजमा बेँसी झरेका गोठाला यसपालि पुनः वस्तुभाउ लिएर उच्च हिमाली चरन क्षेत्रमा फर्किएका हुन्। एउटै परिवारले दर्जनौँ वस्तुभाउ पाल्ने भएकाले वर्षभरि बेँसीमा मात्र घाँसको जोहो गर्न कठिन हुने हुँदा उनीहरूले पुस्तौँदेखि लेक–बेँसी प्रणालीलाई जीवनपद्धतिको रूपमा निरन्तरता दिएका छन्।

    निसीखोला, ढोरपाटन, तमानखोला, गलकोटलगायत क्षेत्रका किसानहरू अहिले लेकतर्फ उक्लिरहेका छन्। कतिपय गोठाला जेठको दोस्रो सातामै बुकीपाटन पुगिसकेका छन् भने धेरैजसो यतिबेला चार महिनासम्म पुग्ने खाद्यान्न, लत्ताकपडा र दैनिक आवश्यक सामग्री बोकेर यात्रामा निस्किएका छन्। असारमा लेक उक्लिएका उनीहरू असोज लागेपछि मात्रै गाउँ फर्कनेछन्।

    समुद्री सतहदेखि तीन हजारदेखि चार हजार आठ सय मिटर उचाइसम्म फैलिएका चरन क्षेत्रमा पुगेर गोठालाहरू महिनौँ बिताउँछन्। त्यहाँ वस्तुभाउका लागि प्रशस्त घाँस पाइन्छ। तर, विद्युत् र दूरसञ्चार सेवाको पहुँच नहुँदा उनीहरूको परिवारसँग लामो समय सम्पर्कसमेत हुन सक्दैन। बिरामी पर्दा, अत्यावश्यक काम पर्दा वा अन्य आकस्मिक परिस्थितिमा मात्र उनीहरू बीचमै बेँसी झर्ने गर्छन्।

    निसीखोलाको रिग, पातीहाल्ने, तिलाचन, निसेलढोर, खानीखोला तथा ढोरपाटनका गर्पाछेडा, फागुने, टीकाधारा र स्यार्चुङजस्ता उच्च हिमाली क्षेत्र यतिबेला गोठालाहरूको गन्तव्य बनेका छन्।

    निसीखोला गाउँपालिका–५ का किरबहादुर घर्ती मगरले बेँसीका खेतबारीमा रोपाइँ र खेतीपातीको काम सकेर लेक उक्लिएको बताउनुभयो। अब दशैँ मनाउन गाउँ फर्किने योजना रहेको उहाँले सुनाउनुभयो।

    “यति धेरै वस्तुभाउ एकै ठाउँमा राखेर पाल्न सकिँदैन,” उहाँले भन्नुभयो, “घुमाउँदै चराउनुपर्छ। बेँसीमा गर्मी हुन्छ, लेकमा शीतल वातावरण छ। घाँस पनि राम्ररी पलाइसकेको छ। एक–डेढ महिना एउटै ठाउँमा बस्छौँ, त्यसपछि फेरि अर्को चरनतर्फ सर्छौँ।”

    लेकमा बसाइँ केवल पशुपालनमा मात्र सीमित हुँदैन। गोठालाहरूले काठका भाँडाकुँडा, चायो तथा अन्य हस्तकलाका सामग्री पनि तयार गर्छन्। ती सामग्री असोजमा बेँसी झरेपछि बजारमा बिक्री गरिन्छ।

    तमानखोला गाउँपालिका–५ का शेरबहादुर सिर्पाली यस वर्ष केही ढिलो गरी बुकीपाटनतर्फ लाग्नुभएको छ। घरायसी काम र श्रीमतीको स्वास्थ्य समस्याका कारण उहाँको यात्रा एक साता पछाडि सरेको हो।

    “अघिल्ला वर्षहरूमा यसबेलासम्म लेक पुगिसक्थेँ,” उहाँले भन्नुभयो, “घरमा श्रीमती बिरामी हुनुहुन्थ्यो, बाली लगाउने काम पनि बाँकी थियो। त्यसैले ढिला भयो। अबको दुई दिनभित्र बुकीपाटन पुगिसक्छु।”

    ढोरपाटनको बुकीपाटन केवल बागलुङका गोठालाहरूको मात्र चरनस्थल होइन। रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका किसानहरू पनि भेडाबाख्रा लिएर यही क्षेत्रमा आउने गर्छन्। ढोरपाटन नगरपालिका–६ का पुनराम अदै भने जेठ २३ गते नै बुकीपाटन पुगिसक्नुभएको छ।

    “हामीले लेक–बेँसी गर्न थालेको तीन–चार दशक बितिसक्यो,” उहाँले सम्झनुभयो, “न पढाइलेखाइ भयो, न देश–विदेश जाने अवसर मिल्यो। यही वस्तुभाउ नै हाम्रो जीवन हो। बर्खाभरि लेकमै बस्छौँ र असोज लागेपछि मात्रै गाउँ फर्किन्छौँ। अहिले बुकीपाटन गोठालाले भरिन थालेको छ, केही दिनमै पूरै क्षेत्र चहलपहलले भरिनेछ।”

    बर्खासँगै सुरु भएको यो वार्षिक यात्रा केवल चरन खोज्ने अभियान मात्र होइन, हिमाली जीवनशैली, श्रम, परम्परा र प्रकृतिसँगको सहअस्तित्वको एउटा जीवन्त कथा पनि हो। लेक–बेँसीको यही पुरानो परम्पराले आज पनि पश्चिम बागलुङका हजारौँ किसानको जीविकोपार्जन धानेको छ।

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.