दुर्गानाथ खरेल ##
मानिसले सङ्गठित रूपले काम गर्छ । मानिसको काम तथा व्यवहार सङ्गठित रूपमा हुन्छन् । व्यक्तिको प्रभाव सङ्गठनमा र सङ्गठनको प्रभाव व्यक्तिमा पर्दछ । विनासङ्गठन कुनै पनि उद्देश्य पूरा हुन सक्दैन । सङ्गठन औपचारिक किसिमको अथवा अनौपचारिक किसिमको हुन सक्छ । निश्चित उद्देश्यप्राप्तिका लागि एकभन्दा बढी मानिसको काम गर्ने समूह नै सङ्गठन हो । औपचारिक सङ्गठनको विधान, नियमावली, घोषणापत्र, उच्चतम र निम्नतम कार्यक्रम, सङ्गठनलाई नियमन गर्ने तरिका, नैतिकता आदि सबै हुन्छन् ।
साझा उद्देश्यप्राप्तिका लागि सङ्गठित व्यक्तिले समन्वयात्मक किसिमले आआफ्नो भूमिका निर्वाह गर्छन् । अनौपचारिक सङ्गठनले पनि त्यही काम गरिरहेका हुन्छन् तर घोषित रूपमा आफ्नो दस्तावेजका मातहतमा भएको ज्ञानकारी हुँदैन । त्यो स्वत:स्फूर्त किसिमले सञ्चालन भइरहेको हुन्छ । सङ्गठनअन्तर्गत अधिकार कर्तव्यको पनि व्यवस्था गरिएको हुन्छ । कामको उद्देश्य, काम गर्ने तरिका आवश्यक सामग्री र कामको प्रगति मूल्याङ्कन आदि कार्य सुव्यवस्थित किसिमले सञ्चालन गर्न त्यसो गरिएको हुन्छ र त्यसो गर्नु अनिवार्य पनि हुन्छ ।
विधानअनुसारको नियम र त्यसका पालना गर्न बनााइएको अनुशासन सङ्गठन प्राण हो । सङ्गठित शक्ति प्रदर्शनले ठुलो महत्त्व राख्ने र तात्कालिक अवस्थामा आमूल परिवर्तन पनि गर्न सक्ने हुनाले त्यो शक्तिआर्जन गर्न त्यो सङ्गठित शक्तिको महत्त्वपूर्ण भूमिका रहन्छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, कानुनी र प्रविधिक तत्त्वले सङ्गठनको भौतिक परिस्थितिमा प्रभाव पार्दछन् । त्यसैलाई सामाजिक अस्तित्व पनि भनिन्छ । सामाजिक अस्तित्वअन्तर्गतका मानवीय कृयाकलापको समष्टिगत रूप नै व्यवहार हो । व्यवहार परिस्थितिजन्य र मनोविज्ञानको आधारमा अवलोकन गर्न सकिने गरी प्रदर्शन हुन्छ । सङ्गठनात्मक व्यवहार सङ्गठनमा क्रियाशील व्यक्तिको विभिन्न पक्षको अध्ययनसँग सम्बन्धित विषय हो ।
सङ्गठन सफलताको प्रमुख आधार नै मानव संसाधन हो । सङ्गठनको अधिकार उत्तरदायित्व र भूमिकासँग सम्बन्धित सङ्गठनात्मक संरचनामा मानव संसाधनले देखाएको प्रतिक्रिया अध्ययन गर्ने, सङ्गठनको उद्देश्यप्रति सही व्यवहार छनौट गर्ने र व्यवहारअनुरूप कार्यसम्पादन गर्नलाई उत्प्रेरणा दिने वा व्यवहार व्यवस्थापन गर्ने कार्य नै सङ्गठनात्मक व्यवहार हो । मानिसले सङ्गठनलाई व्यवस्थित रूपले सञ्चालन गर्दछन् । त्यसकारण सङ्गठनात्मक व्यवहारको अध्ययनमा मानिसको भूमिका महत्त्वपूर्ण हुन्छ । मान्छेले भौतिक परिस्थिति र मनोवैज्ञानिक अवस्थाअनुसार आफूले कार्यसम्पादन गर्दछ । सङ्गठनात्मक व्यवहारलाई सङ्गठनको संरचनाले प्रभाव पार्दछ । प्राविधिअन्तर्गत ज्ञान, कुशलता दक्षता आदि पर्दछन् । प्राविधिक व्यक्तिले निश्चित क्षेत्रमा आफ्नो कार्यकुशलतालाई ज्ञान र दक्षतापूर्वक प्रयोग गरेर कार्यसम्पादन गर्छ ।
वातावरणीय तत्त्वअन्तर्गत आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, कानुनी, प्राविधिक आदि तत्त्व पर्दछन् । ती तत्त्वमा आउने परिवर्तनले सङ्गठनात्मक गतिविधि र मानिसका कृयाकलापमा पनि प्रभाव पार्दछन् ।
सङ्गठनात्मक व्यवहार परिस्थितिजन्य विषय हो । एउटा क्रान्तिकारी व्यक्तिले समाजमा आमूल परिवर्तनको उद्देश्यसहित काम गर्नुपर्छ । त्यसो गर्न अध्ययन, प्रशिक्षण, सङ्घर्ष र निरन्तरतामा उसको क्रान्तिकारी योग्यता विकास भएको हुन्छ । त्यही उच्च योग्यता प्रयोग गरेर वातावरणीय ज्वारभाटाका विरुद्ध सङ्घर्ष गर्नुपर्दछ । व्यवस्थापक समूहले आफ्नो मातहतका व्यक्तिलाई उत्पे्ररित गर्दा व्यक्तिगत भिन्नताको नियमलाई स्वीकार गरेर फरकफरक किसिमले उत्प्रेरित गर्नुपर्दछ । व्यक्तिको सम्पूर्णतामा हेरेर त्यहीअनुरूप उसको व्यक्तित्व विकासमा जोड दिनुपर्छ । सङ्गठनलाई मानिस र मानिसलाई सङ्गठन आपसी हितका लागि आवश्यक हुन्छ । आआफ्नो हितका लागि दुवै पक्षले महत्त्वपूर्ण योगदान दिनु आवश्यक हुन्छ । सङ्गठनात्मक व्यवहारमा मनोविज्ञानको ठुलो योगदान रहन्छ ।
आर्थिक अवस्थासँगै सङ्गठनात्मक अवस्थालाई अगाडि बढाउनुपर्छ । सहज आर्थिक अवस्था र खराब आर्थिक अवस्थामा सङ्गठनात्मक व्यवहारमा फरक आउँछ । त्यसको अनुकूलता र प्रतिकूलताप्रति नेतृत्वले सतर्कतापूर्वक ध्यान पुर्याउनुपर्छ । वर्तमान अवस्थामा व्यक्तिहरू व्यक्तिगत लाभ र शोषणको आधारमा परिचालित हुन्छन् । आदर्श नागरिक भई आफ्नो र अरूको समेत समस्याप्रति सचेत र सजग छैनन् ।
यस्तो अवस्थाले गर्दा वर्तमान अवस्थामा सङ्गठन जनशक्ति विविधताको सङ्गम बनेका छन् । सङ्गठनात्मक व्यवहारमा व्यक्ति, समूह तथा सङ्गठनको सहक्रियाबाट लक्षित उद्देश्य प्राप्त गर्नुपर्ने आवश्यकता रहन्छ । त्यसकारण संयोजनकारी व्यवहार प्रदर्शन गर्नुपर्छ । कार्यकर्ताले व्यक्तिगत र सामूहिक लक्ष्यलाई मिलाएर ध्यान दिँदै सङ्गठनात्मक लक्ष्य प्राप्त गर्न आफ्नो योगदान थप्न तयार हुन्छन् ।
नेतृत्वले कार्यकर्ताप्रति मैत्रीपूर्ण भूमिका आवश्यक ठान्दछ । कार्यकर्ताले पनि नेतृत्वका जल्दाबल्दा समस्याप्रति ध्यान पुर्याउनुपर्ने हुन्छ । मानवीय व्यवहार मानिसको मनोविज्ञानसँग सम्बन्धित हुन्छ । सङ्गठनात्मक व्यवहार बुझ्न व्यक्तिगत व्यवहार बुझ्न जरुरी हुन्छ ।
व्यक्तिगत व्यवहार सङ्गठनात्मक व्यवहारको महत्त्वपूर्ण पक्ष हो । सकारात्मक व्यवहारका परिणाम दक्षताद्वारा उत्पादकत्वमा वृद्धि, कार्यसन्तुष्टिमा वृद्धि, सहभागितामा वृद्धि, न्यून अनुपस्थिति आदि हुन्छन् । सोचाइको पहिलो चरणमा समस्याको पहिचान गरिन्छ । उपयुक्त धारणा बनाउने दोस्रो चरणको काम हो । त्यसमा समस्याको व्याख्या गरिन्छ । अन्त्यमा समस्याको सान्दर्भिकता र सत्यताको परिक्षण गरिन्छ ।
विश्वास हुनु भनेको त्योप्रति ज्ञान, विचार र आस्थाको समर्थन हुनु हो । यसले व्यवहारलाई प्रभावित पार्छ । विश्वासबाट व्यक्तिको व्यवहार निर्देशित र नियन्त्रित हुन्छ । व्यक्तिको कुनै वस्तु, घटना वा विषयप्रतिको धारणा र उसले सोहीअनुसार गर्ने व्यवहार दृष्टिकोण हो । मानिसको व्यवहार निर्धारणमा उत्तेजक प्राप्तकर्ता र केन्द्रीय स्नायुप्रणालीले महत्त्वपूर्ण भूमिका निर्धारण गर्दछन् । संज्ञानात्मक असङ्गतिको कारण आफ्नो भावना तथा विश्वासमा परिवर्तन गर्नुपर्ने हुन्छ ।
कुनै पनि कुरालाई आफ्नो तरिकाले बुझ्नुलाई अनुभूति भनिन्छ । व्यक्तिको विषयवस्तुप्रतिको प्रवृत्ति र अनुभवले अनुभूतिलाई प्रभावित पार्छन् । व्यक्तिले प्रदर्शन गर्ने व्यवहार आन्तरिक र बाह्य विशेषताले निर्धारण गरेको हुन्छ । अभ्यास वा अनुभवबाट मानवीय व्यवहारमा स्थायी रूपमा आउने परिवर्तन सिकाइ हो । सिकाइले व्यक्तिलाई अझ बढी अनुभवी बनाउँछ । व्यक्तिले पूर्वसिकाइको आधारमा वर्तमानमा व्यवहार प्रदर्शन गर्दछ । मानिस सामाजिक सिकाइको सिद्धान्तअनुसार व्यक्तिले अरूको व्यवहार अवलोकन गरेर सिक्दछ । सिकाइका लागि सबैभन्दा पहिले त्यो व्यक्ति अन्तरात्मादेखि नै उत्प्रेरित हुनुपर्दछ । व्यक्तिले सिक्ने क्रममा आफूले र दोस्रो व्यक्तिले व्यक्त गर्ने प्रतिक्रियाले पनि प्रभावित गर्दछ । सिकाइको लागि विश्वास हुनु पहिलो शर्त हो । ज्ञानआर्जन गर्नको लागि विश्वास मात्र पर्याप्त हुन्न । त्यसअनुसार प्रमाण जुट्न पनि उत्तिकै आवश्यक हुन्छ । विश्वास हुने र प्रमाण जुट्ने भएपछि ज्ञान माथिल्लो स्तरमा पुग्छ । ज्ञान प्राप्त गर्नु भनेको योग्यता बढ्नु हो । अन्तिम विश्वास, सोचाइ र सम्पादन गरिने व्यवहार नै दृष्टिकोण हो । दृष्टिकोण निर्माणका स्रोत, प्रभाव पार्ने तत्त्व, दृष्टिकोण निर्माणमा समस्या र त्यसलाई निवारण गर्ने उपाय छुट्टै अध्ययन गर्नुपर्छ ।
साधारणतया मानिसको हाउ भाउ, सुन्दरता, हासिलो अनुहार, तेज दिमाग, प्रभावकारी बोली र व्यवहार आदिलाई व्यक्तित्व भनिन्छ । चरित्र, प्रवृत्ति र दृष्टिकोणको सङ्गठित रूप व्यक्तित्व हो । सफल व्यक्तित्व हुनलाई कार्यगत र वैयक्तिक योग्यता चाहिन्छ । एउटा व्यक्तिले गर्ने क्रियाकलाप र प्रतिक्रियाको कुल योग व्यक्तित्व हो । व्यक्तिको व्यक्तित्व निर्धारणमा ऊसँग सम्बन्धित सामाजिक सांस्कृतिक तत्त्वको महत्त्वपूर्ण भूमिका रहन्छ । व्यक्तित्व वंशानुगत र आर्जित गुणको समिश्रणबाट निर्माण हुन्छ । त्यसैबाट प्रभावित हुन्छ । परिस्थितिमूलक तत्त्वले पनि धेरै हदसम्म व्यक्तिलाई प्रभाव पारेको हुन्छ । कार्यकर्ताको व्यक्तित्व र मूल्यसँग सङ्गठनको कार्यलाई पनि मिलान गर्नुपर्छ । व्यक्तिको व्यक्तित्व गुण र विशेषताको अध्ययन गरेर त्यसैअनुसारको काममा उनीहरूलाई उपयोग गर्न सकिन्छ । त्यसो गर्दा सङ्गठनात्मक कार्यमा बढी प्रगति हुन सक्छ ।
मानव संसाधनको उत्प्रेरणा सङ्गठनात्मक व्यवहारको महत्त्वपूर्ण पक्ष हो । कार्यकर्तामा काम गराउने भावनालाई जागृत गराउने शक्तिलाई उत्प्रेरणा भनिन्छ । उत्प्रेरणाले मानव व्यवहारलाई उर्जा भर्ने, निर्देशन दिने र दिगो राख्ने काम गर्छ । उत्प्रेरणाको अन्त्य हुँदैन । नकारात्मक उत्प्रेरणा अल्पकालीन हुन्छ । निश्चित उद्देश्यप्राप्तिको लागि अन्तरनिर्भर व्यक्तिको समूह नै कार्यदल हो । सङ्गठनात्मक प्रभावकारीताका लागि यस्तो दल ज्यादै महत्त्वपूर्ण मानिन्छ । यसले सदस्यको कार्यसन्तुष्टिको स्तर वृद्धि गर्छ । उत्प्रेरणा र क्षमता कार्यसम्पादनका लागि अति नै सम्बन्धित रहेका हुन्छन् । यिनीहरू एकअर्कामा निर्भर रहेका हुन्छन् । सङ्गठनमा काम गर्ने मान्छे कार्यसन्तुष्टि र उत्प्रेरणा तीन अलग अलग तर धेरै महत्त्वपूर्ण अवधारणा हुन् । कार्यसन्तुष्टि भनेको आफ्नो कामप्रति व्यक्तिको सकारात्मक दृष्टिकोण हो । सदस्यको एकअर्कोसँग सुमधुर सम्बन्ध स्थापित भएको अवस्थामा कार्यसन्तुष्टि पर्याप्त मिल्दछ । समूह शक्तिको स्रोत भएकाले आबद्ध हुने व्यक्तिलाई थप शक्ति प्रदान गर्दछ । आकर्षण र साझा दृष्टिकोणका बिच सन्तुलन कायम हुन्छ ।
समूह निर्माण गर्ने नेताले नियम बनाउने र संरचना तयार गर्ने काम गर्दछ । सबै जना आआफ्नो व्यक्तिगत अस्तित्त्व कायम राख्न चाहन्छन् । त्यसकारण विवाद वा द्वन्द्व बढ्न सक्छ । समूह एउटा कार्यसम्पादनको संयन्त्र बनेपछि उत्पादनशील बन्दछ । निश्चित लक्ष्य प्राप्तिमा पुग्नुपर्ने हुनाले सामूहिक रूपमा मिलेर काम गर्नुपर्ने भावनाको सृजना पनि गराउँछ । सामूहिक निर्णयले एकल निर्णयले भन्दा छिटो र गुणस्तरीय प्रतिफल दिन्छ । साधारण समूह विधिमा प्रतिस्पर्धाभन्दा सहभागितालाई बढी जोड दिइन्छ । विभिन्न व्यक्तिको विचार र तर्कले गर्दा समस्या समाधानमा सरल बाटा पहिल्याउन सकिन्छ । सर्वमान्य निर्णयको अभावमा समूहमा अनिर्णयको सम्भावना रहन्छ । सम्झौताको सिप पनि दलको कार्यजीवनमा महत्त्वपूर्ण अङ्ग हो । दलका सदस्यलाई व्यक्तिगत तथा सामूहिक रूपमा उत्तरदायी बनाउनुपर्छ ।
नेतृत्व एउटा कला हो । उसले आफ्नो सोचाइअनुसार काम गराउन समूहलाई प्रोत्साहित गर्ने गर्दछ । सङ्गठनको सफलता या असफलता धेरै हदसम्म नेतृत्वमा नै निर्भर रहेको हुन्छ । हरेक किसिमका परिस्थितिमा आफ्ना अनुयायीलाई नेतृत्व प्रदान गर्नुपर्छ । त्यसका लागि निरन्तर रूपमा व्यावसायिक होस् अथवा राजनैतिक नेतृत्व नै होस्, आफ्ना क्रियाकलापमा प्रभावकारी र निरन्तर उत्प्रेरणा, निर्देशन, समन्वय र नेतृत्वको खाँचो पर्दछ । अनुयायी नभईकन नेतृत्व हुन सक्दैन । असल नेता आफ्ना अनुयायीको साथी, दार्शनिक तथा पथप्रदर्शक पनि बन्न सक्नुपर्छ । आफूले कडा मिहिनेत गर्नुका साथै अनुयायीलाई पनि समान उद्देश्यप्राप्तिका लागि समर्पित बनाउने नेताको काम हो । कार्यविभाजन गर्ने, उचित व्यक्तिलाई काम सुम्पने, अधिकार तथा उत्तरदायित्वलाई परिभाषित गर्ने, सङ्गठनात्मक संरचना निर्माण गर्ने र ती सम्पूर्ण कार्यलाई समन्वय गर्ने काम नेतृत्वले गर्दछ । नियन्त्रण व्यवस्था प्रभावकारी बनाउनु र त्यसका लागि सङ्गठनात्मक क्रियाकलापको उचित सुपरीवेक्षण गर्नु नेतृत्व तहकै प्रमुख काम हो ।
रणनीति र कार्यनीतिलाई कार्यान्वयन गर्ने समय निश्चित गर्ने र समयको व्यवस्थापन गर्ने पनि नेतृत्वले नै गर्ने काम हो । आफ्ना सबल र दुर्बल पक्षलाई बुझ्न सक्ने तथा आफूलाई आफैले नियन्त्रण गर्न सक्ने क्षमता पनि असल नेतामा हुन आवश्यक छ । त्यति मात्र होइन, परिस्थितिको उचित पूर्वानुमान लगाउने क्षमता पनि असल नेतामा हुन आवश्यक छ । नेतामा आफ्ना अनुयायीको विश्वास जित्न सकिने जिम्मेवारीको भावना पनि हुनुपर्दछ । नेतामा कुनै पनि परिस्थितिमा निर्णय लिने क्षमता हुन आवश्यक छ । सहयोगी भावनाबाट आफ्ना सहयोगीको जित्न सकिनेछ ।
थोरै बोल्ने, धेरै सुन्ने गुण पनि नेताको एउटा आवश्यकता हो । योजना बनाउने, सङ्गठन गर्ने, समन्वय गर्ने निर्देशन दिने, सञ्चार गर्ने नियन्त्रण गर्ने आदि नेतृत्वका आवश्यक सिप हुन् । नेतृत्वले सिद्धान्त सम्बन्धित राष्ट्रको राष्ट्रिय आवश्यकता, विशेषता तथा सांस्कृतिक परिवेश आदिमा विचार गरेर छनौट र प्रयोग गर्नुपर्छ ।
सूचना प्रेषकले अपेक्षा गरेअनुसार प्रापकले सोही अर्थमा नबुझे सञ्चार अपूर्ण हुन्छ । सञ्चारलाई अर्थको हस्तान्तरण र बुझाइ पनि भनिन्छ । दुई पक्षका बिचको विषमता नै द्वन्द्व हो । दुई वा त्योभन्दा बढी पक्षले एकआपसमा आफूलाई प्रतिपक्षको रूपमा साँचेको कुनै परिस्थिति द्वन्द्व हो । समय, स्तर, स्थान र सङ्गठनअनुसार फरकफरक द्वन्द्व हुन्छ । सकारात्मक तरिकाबाट द्वन्द्व समाधान भयो भने अनुकूल कार्यको प्रवाह हुन थाल्दछ । द्वन्द्वको स्रोत असमान व्यवहार हो । जब योग्यता, अनुभव ज्येष्ठता आदिको ख्याल गरिन्न, तब त्यही द्वन्द्वको स्रोत बन्छ । सामूहिक लक्ष्यसँग सम्बन्धित द्वन्द्वले कार्यसम्पादनमा सुधार ल्याउन सहयोग पुर्याउँछ । सञ्चालनमा रहेको सङ्गठनात्मक संरचना, प्रविधि भौतिक व्यवस्थापन वा मानवीय अवस्थामा भिन्नता आउनु नै सङ्गठनात्मक परिवर्तन हो । एउटा सङ्गठनको संरचना, प्रविधि, भौतिक व्यवस्थापन वा मानवीय अवस्थामा भिन्नता आउनु नै सङ्गठनात्मक परिवर्तन हो । एउटा सङ्गठनको संरचना, नीति कार्यतालिका, व्यक्ति, समूह, प्रविधि, व्यवस्थापन आदि कुरामा आउने फरकपना नै सङ्गठनात्मक परिवर्तन हो । निरन्तर परिवर्तन गरिरहनु आवश्यक छ । सङ्गठनको दृष्टिकोणले लाभदायक परिवर्तन ल्याउने प्रयास व्यवस्थापन पक्षबाट हुनुपर्छ ।
देशको राजनीतिक अवस्था र विश्वराजनीतिमा आउने बदलावअनुसार सङ्गठनले आफ्ना गतिविधिमा परिवर्तन गर्नुपर्ने हुन्छ । आर्थिक तथा बजारशक्तिले सङ्गठनलाई परिवर्तनतर्फ प्रेरित गर्छन् । सामाजिक–सांस्कृतिक शक्तिमा भिन्नता आएको अवस्थामा सङ्गठनात्मक परिवर्तन गर्नु आवश्यक हुन्छ । सङ्गठनात्मक परिवर्तनका बाह्य र आन्तरिक शक्तिले पनि भूमिका खेल्छन् । सङ्गठनात्मक विकास एउटा योजनाबद्ध व्यवस्थित एवम् विधिगत प्रक्रिया हो । यसद्वारा सङ्गठनको सांस्कृतिक व्यवस्था र व्यवहारमा परिवर्तनलाई उद्देश्य हासिल गर्न र समस्या समाधान गर्न प्रभावकारी बनाइन्छ ।