• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

विपश्यना ध्यानकेन्द्रमा १२ दिन


  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
  • कृष्ण अधिकारी ##

    Advertisement

    २०८२ माघ ६ गतेदेखि फागुन २१ गतेसम्म संसदीय चुनावमा आफै उम्मेदवार बनेर चुनाव लड्दा थकाइले लखतरान परेको शरीर र मनलाई आराम र शान्ति दिन यसपटक जसरी नि विपश्यना ध्यानमा जान्छु भन्ने अठोट पहिल्यै गरिसकेको थिएँ । विपश्यना केन्द्र धर्मश्रृङ्गमा ठाउँ पाउने आश थिएन । अत: चुनावपछि ललितपुरको कोटडाँडा विपश्यना केन्द्र धम्मगारमा पहिल्यै ठाउँ बुक गरेँ ।

    मैले २०६२ भदौ र मङ्सिरमा धम्मतराई वीरगञ्ज र धम्मश्रृङ्ग बुढानीलकण्ठमा दुईओटा शिविरमा भाग लिइसकेको थिएँ । त्यसपछिका २० वर्ष दुई/तीनपटक धर्मश्रृङ्गमा फारम भरेर पनि घरायसी र पार्टी सङ्गठनको व्यस्तताका कारण शिविरमा भाग लिन पाएको थिइनँ तर म काठमाडौँमा रहँदा भ्याएसम्म प्रत्येक शनिबार हुने एकदिवसीय शिविर भने छुटाउने गरेको छैन ।

    मैले सुरुमा लिएका दुईओटा विपश्यना ध्यान शिविरले मेरो जीवनमा सकारात्मक प्रभाव पारेको थियो । विपश्यना विधि सिकिसकेपछि मनलाई आफ्नो नियन्त्रणमा राखेर अगाडि बढ्न ठुलो मदत गर्दछ भन्ने कुरा मेरो आफ्नै अनुभवले पनि म विश्वस्त थिएँ । अत: विभिन्न ध्यान विधिमध्ये विपश्यना ध्यान विधि यथार्थ भौतिकवादी ध्यान विधि लागेकाले म विपश्यना ध्यानको अनुयायी साधक भएँ ।

    गत चैत २२ गते विपश्यना ध्यानका लागि कोटडाँडातर्फ लागे । बी एन्ड बी अस्पताल अगाडिबाट शिविरमा जानेहरूका लागि बसको व्यवस्था थियो । कपडा केही लैजानुनपर्ने कुरा पहिल्यै सोधिसकेको थिएँ । त्यही पनि आफ्नो एउटा तन्ना, टर्चलाइट र आफ्ना व्यक्तिगत १२ दिन बस्दा चाहिने कपडा, साबुन, चप्पल आदि लिएर गएँ । रिब २ बजेतिर हामी २४/२५ जना साधक साधिकालाई लिएर मिनिबस कोटडाँडा पुग्यो । ध्यानकेन्द्र कोटडाँडा गोदावरी जङ्गलका बिचमा अवस्थित छ, जहाँबाट उपत्यकाको रमणीय दृष्य देखिन्छ । एकदिवसीय ध्यान शिविरमा म पहिल्यै आएकाले १० दिवसीय शिविरका लागि मैले यो ठाउँ रोजेको थिएँ ।

    यहाँ आइसकेपछि एक एक गरी सबैको नाम दर्ता गरियो । हामी ३२ जना साधक साधिका थियौँ । पुरुषभन्दा महिला साधिका धेरै थिए । मोबाइल, पैसासहितको पर्स आदि दर्ता नम्बरअनुसारको एउटा छुट्टै थैलीमा जम्मा गरायौँ र एक/एक जनालाई कोठा नम्बरसहितको कार्ड दिइयो । मलाई एट्याच ट्वाइलेट–बाथरुमसहितको सिङ्गल १७ नम्बरको घर मिल्यो । म आफ्नो कोठामा गएँ । कोठा सफा र चट्ट थियो । गद्दा र खोलविनाको सिरक थियो । मैले स्टोरबाट सिरकको खोल र तन्ना लिएर कोठा मिलाएँ ।

    भोलिबाट शिविर सुरु हुने भएकाले साँझ ५ बजे हल्का खाना खाइवरी ६ बजे हामी सहायक शिविर हलमा जम्मा भयौँ । शिविरमा पालन गर्नुपर्ने समयतालिका, पञ्चशील, आर्यमौन र शिविरको व्यवस्था कसरी गरिन्छ भन्नेबारे विस्तृत जानकारी दिइयो । एक जना इटालियन साधक पनि रहेकाले उनलाई अङ्ग्रेजीमा सुन्ने व्यवस्था मिलाइएको थियो । शिविर सञ्चालनको १० दिनसम्म कसैसँग बोल्न नपाइने, सकभर कसैसँग आँखा पनि नजुधाउने, इसाराले पनि सङ्केत नगर्ने, आर्यमौनको कडाइका साथ पालना गर्ने बताइयो ।

    पञ्चशीलका निम्न कुराहरू थिए : १. प्राणीहिंसा नगर्ने, २. चोरी नगर्ने, ३. व्यभिचार नगर्ने, ४. झुटो, कटु, गलत कुरा नगर्ने, ५. नसालु पदार्थ सेवन नगर्ने ।

    व्यवस्थापनमा खटिनेहरू सबै स्वेच्छाले सेवा गर्न आएकाले उनीहरूप्रति नम्र व्यवहार गर्ने, आफूले प्रयोग गरेका भाँडा आफै सफा गर्ने । हामीले प्रप्त गर्ने भोजन पुराना साधकको दानबाट आएकाले खेर नफाल्ने आदि विषयमा राम्रोसँग बुझाइयो र भोलि बिहान ४ बजे घण्टी बज्ने, घण्टीको आवाजसँगै उठ्ने आफ्नो नित्य कर्म सकेर ४:३० बजे हलमा ध्यान गर्न पुगिसक्ने बताइयो । शिविर अवधिभरि महिलाको बस्ने खाने व्यवस्था छुट्टै हुने, महिला क्षेत्र र पुरुष क्षेत्रमा एकअर्को कोही प्रवेश गर्न नपाइने व्यवस्था मिलाइएको बताइयो र भोलि गरिने आनापाना ध्यानको तरिका पनि थोरै सिकाइयो ।

    सुरु भयो ध्यान शिविर

    घण्टीको आवाजसँगै म बिहान ४ बजे उठे । नित्यकर्म सकेर कपडा फेर्दा ४:२० भइसक्यो । त्यस्तै २ मिनेटको दुरीमा ध्यान गर्ने हल थियो । म ५ मिनेट पहिल्यै हलमा पुगिसकेँ । सी–१ मेरो बस्ने स्थान निश्चित गरिएको रहेछ । म आफ्नो स्थानमा गएर बसेँ । शिविर अवधिभर अब यही निश्चित भएको स्थानमा बस्नुपर्ने कुरा पहिल्यै बताइएको थियो । हल एउटै भए पनि महिलाका लागि दायापट्टिको भाग छुट्याइएको थियो । प्रवेशढोका पनि छुट्टै थियो । हलको अगाडिको भागमा पुरुष सहायक आचार्य र महिला सहायक आचार्यका लागि छुट्टाछुट्टै दुईओटा कुर्सी राखिएको थियो ।

    बिहान ४:३०–६:३० बजेसम्म ध्यान, ६:३०–८:०० बजेसम्म नास्ता र विश्रामको समय हुन्छ । ६:३० पछि म सिधै नास्ता खाने ठाउँमा गएँ । यहाँ भान्साघर एउटै भए पनि पुरुष र महिलालाई एकअर्कोसग नदेखिने गरिखाने ठाउँको व्यवस्था मिलाइएको थियो । नास्ता लिइसकेर म कोठामा आएँ । डाँडोमा मौसम चिसो नै थियो । बाहिर सोलर राखेको ठाउँबाट एक बाल्टी तातो पानी ल्याएँ र आफ्नै बाथरुममा नुहाइध्वाइँ गरे । त्यहाँ बस्दासम्म बिहानको मेरो कार्यसूची यही बन्यो । ८–९ बजे सामूहिक ध्यान, ९–११ ध्यान, ११–१ खाना र विश्राम । फेरि १–२:३० ध्यान, २:३०–३:३० सामूहिक ध्यान, ३:३०–५ ध्यान । ५–६ बजे नयाँ साधकसाधिकालाई हल्का नास्ता, पुरानोलाई कागतीपानी । फेरि ६–७ सामूहिक ध्यान, ७–८:३० आचार्य सत्यनारायण गोयनकाको हिन्दीमा प्रवचन । हिन्दी नबुझ्नेका लागि अङ्ग्रेजी र नेवारी भाषामा सुन्ने व्यवस्था । ८:३०–९ ध्यान ।

    यसरी दैनिक बिहान ५ घण्टा, दिउसो ४ घण्टा र साँझ ३ घण्टा गरि दिनमा १२ घण्टा पूरै ध्यान बसिरहनु पर्दछ । दिनमा बिहानदिउसो र बेलुका गरी तीनपटक सामूहिक ध्यानको कार्यतालिका हुन्छ । यसलाई अधिष्ठान भनिन्छ । सामूहिक ध्यानका बेला आफूले दृढ निश्चय गरेर शरीरको कुनै पनि अङ्ग नचलाई निश्चित आसनमा बस्नुपर्दछ । पहिलोपटक भाग लिनेहरूलाई दिनभरि ध्यान बस्नु निकै कठिन कार्य हुन्छ । अत: कुनै कुनै व्यक्ति शिविर छाडेर भाग्ने पनि हुन्छन् । यहाँ पनि तीन जना बिचबाटै निस्केको थिएँ । यहाँ शिविर सुरु भएपछि छोडेर हिड्नु अप्रेसन गरेर नसिलाई बिरामी भाग्नुजत्तिकै मानिन्छ र बिचबाट शिविर छाडेर हिँड्नु त्यति सरल छैन । मलाई पनि तीन दिनसम्म निकै कठिन भयो । विपश्यनामा चौथो दिनको ३:३० बजेसम्म सिर्फ आनापाना अभ्यास मात्र गराइन्छ ।

    आनापाना ध्यान विधि

    आनापाना विधिमा मुख बन्द रहन्छ र नाकका प्वालबाट निस्कने र भित्र जाने स्वासलाई हेरिन्छ । आफ्नो मनलाई माथिल्लो ओठभन्दा माथि र नाकभन्दा तलको सानो हिस्सामा टिकेर भित्र गएको र बाहिर आउने स्वासलाई मात्र हेरिन्छ र त्यो सीमित हिस्सामा प्रकट हुने संवेदनालाई महसुस गरिन्छ । यो चुलबुल, उटपट्याङ र बाँदरजस्तो मन एक क्षण ल्याएर यहाँ अडायो, उतिखेरै भागेर कहाँ पुग्छ कहाँ । फेरि सम्झेर नाकाको पोरा नजिक ल्याएर स्वास आएको र स्वास गएको हेरिराख्न ड्युटी लगायो फेरि भाग्छ । मनले कि बितेका कुरा सम्झेर कुरा खेलाउछ, कि भविष्यका कुरा सोचेर कुरा खेलाउन थाल्छ । वर्तमानमा त मन अडिँदै अडिन्न । उता, हामीलाई आचार्यले अडियोमा सिकाइराखेका हुन्छन्– “दु:ख नमान्नुहोस्† निराश नहुनुहोस्; जे सच्चाइ हो, त्यसलाई स्वीकार्नुहोस्; स्वाभाविक ठान्नुहोस्; होस आउँदासाथ मनलाई फेरि त्यही ल्याउनुहोस् र काममा लगाउनहोस् । “आफ्नो भने मन भनेको ठाउँमा आधा मिनेटसम्म पनि अडिन्न । सुरुसुरुका दिनमा मन अडिन गाह्रो भए पनि पछिपछि २–३ मिनेटसम्म पनि अडाउन सकिन्छ । श्वासप्रश्वासलाई हेरेर मनलाई त्यसैमा टिकाइराख्ने विधि नै आनापाना ध्यानविधि हो । सुरुका साढे तीन दिन यसैको अभ्यास गराइन्छ ।

    विपश्यना ध्यानविधि

    शिविरमा विपश्यना ध्यान विधि चौथो दिनदेखि सिकाइन्छ । यहाँसम्म आइपुग्दा मन केही अडिन थालेको हुन्छ र अलि नियन्त्रणमा आइसकेको हुन्छ । आनापाना विधिमा हामीले श्वासप्रश्वास र माथिल्लो ओठभन्दा माथि र नाकभन्दा तलको छोटो हिस्सामा प्रकट हुने संवेदनालाई हेरेका थियौ भने विपश्यनमा आफ्नो शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्म प्रकट हुने संवेदनालाई जस्ताको त्यस्तै हेरिन्छ अर्थात् विपश्यना भनेको आफूले आफैलाई हेर्दा जुन वस्तु वा अवस्था जस्तो छ, त्यसलाई त्यही रूपमा जान्नु वा बुझ्नु हो । यो आत्मनिरीक्षणद्वारा गरिने आत्मशुद्दिको एउटा साधना हो ।

    आनापाना विधिमा जसरी आचार्यले अडियोमार्फत सिकाइरहेका हुन्छन् । त्यस्तै विपश्यनाका लागि पनि अडियोमार्फत निर्देशन दिइएको हुन्छ । मनलाई अब माथिल्लो ओठभन्दा माथि र नाकभन्दा तलको भागबाट विस्तारै शिरको तालु रहेको भागमा पुर्‍याइन्छ । मनलाई त्यो भागमा लगेर गहिरो गरी निरीक्षण गर्दा त्यहाँ केही न केही संवेदना महसुस हुन्छ (समवेदना भनेको दुखाइ वा वेदना) । तालुपछि पूरै शिरको निरीक्षण, त्यसपछि क्रमश: अनुहार, दाया काँध र पूरै हातको निरीक्षण, बाया काँध र हातको निरीक्षण, घाँटी, छाती, पेट, गर्धन, पिठ्युँ गर्दै दुवै खुट्टाको पैताला र औलासम्म निरीक्षण हुन्छ । त्यस्तै, उल्टाएर खुट्टाका औलादेखि तालुसम्म पनि निरीक्षण गर्न सकिन्छ । यसरी निरीक्षण गर्दा शरीरका कैयौँ भागमा स्थुल संवेदना प्रकट हुन्छन् भने केही भागमा हल्का समंवेदना महसुस हुन्छ ।

    हामीले जहाँ जहाँ जस्तो जस्तो समवेदना देख्छौँ, त्यसलाई त्यही रूपमा साक्षी भावले हेर्न सिकाइन्छ । प्रकट हुने स्थुल संवेदना हुन वा सूक्ष्म संवेदना त्यसप्रति राग वा द्वेषभाव नराखी समभाव वा समता भावले हेर्दै जाँदा शरीरभित्र उत्पन्न भएका स्थुलभन्दा स्थुल समवेदना टुट्दै टुट्दै जान्छन् र शरीर हल्का भएको महसुस हुन्छ । यो ध्यानमा बाहिरी कुनै मन्त्र जपेर वा कुनै आकृतिलाई हेरेर ध्यान गर्नेभन्दा पनि आत्मनिरीक्षण गरेर शरीरका क्रियाकलापको जाँच हुन्छ । जहाँ आधुनिक वैज्ञानिकले वस्तुलाई उपरी प्रकारले हेर्दा स्थिर देखिए पनि त्यसभित्र निरन्तर गति विद्यमान हुन्छ भनेर प्रमाणित गरेका छन् । यही कुरा २५०० वर्ष अगाडि बुद्धले आफू समता रही आफ्नो शरीरको निरीक्षण गर्दा शरीरभित्र उत्पन्न हुँदै नष्ट हुँदै गरेका संवेदनाबाट पत्ता लगाएका थिए र जीवनका हरेक उतारचढावमा शरीरमा उत्पन्न हुने वेदनालाई समताभावले सहन सकियो भने जीवनमुक्त हुन्छ भन्ने शिक्षा दिएका थिए । अत: विपश्यना भौतिक तथ्य आधारित ध्यानविधि हो । यो दिमागको वैज्ञानिक तरिकाले गरिने प्रयोगात्मक व्यायाम हो ।

    विपश्यनाबाट हुने लाभ

    मानिसको जीवनमा अनेकौँ उतारचढाव आइरहन्छन् । मानिस जुनसुकै जात, धर्म, लिङ्ग, वर्णको किन नहोस्, स्वभावैले उसमा लोभलालच, अहम्, क्रोध, ईष्र्या, कामवासना, आसक्तिजस्ता गुण विद्यमान हुन्छन् । यीनै स्वाभाविक गुणका कारणले मानिस कहिले खुसी र कहिले दुखित हुन्छन् । विपश्यनाले सम्पूर्ण जात, धर्म, लिङ्ग, वर्णका मानिसलाई सन्तुलित र समता भावमा जिउनका लागि मानसिक कला सिकाउँछ र मानवजीवनलाई सन्तुलनमा राख्न मदत गर्दछ । जसरी हामीले शरीरलाई स्वस्थ राख्न बिहानबेलुका आहार दिन्छौँ । त्यसैगरी मनलाई स्वस्थ राख्न विपश्यना एक प्रकारको मनको आहार हो ।

    इतिहास

    हिमवतखण्ड नेपाल प्राचीन ऋषिमुनिको तपोभूमि हो भन्ने गरिन्छ । नजाने यहाँ हजारौँ वर्ष अगाडिदेखि कति ऋषिमुनिले ध्यान गरेर स्वास्थ्यमुक्ति पाए । सायद त्यसैको पुण्यकर्मले होला, आजभन्दा करिब २६०० वर्षअगाडि लुम्बिनी कपिलवस्तुको शाक्य राज परिवारमा सिद्धार्थ गौतमको जन्म भयो । २९ वर्षको जवान उमेरमा उनी मानिसले दु:ख पाउनुको कारण के हो र दु:खबाट मुक्ति पाउने उपायबारे खोजी गर्न दरबार त्यागेर निस्किए । त्यसपछिका ६ वर्ष निरन्तर ध्यानमा लागि रहे । अन्तिममा श्वासप्रश्वासप्रति सजगता अपनाउँदै ध्यानमार्गमा अगाडि बढ्दा विपश्यना ध्यानविधि पत्ता लगाए र बोधिसत्व प्राप्त गरे र बुद्ध बने । गौतम बुद्धले त्यसपछिका ४५ वर्षसम्म त्यस बेलाका मानिसलाई विपश्यनाको शिक्षा दिए । त्यस समयमा मानिस विपश्यना ध्यान गरी विभिन्न किसिमका दु:खक्लेशबाट मुक्ति पाई जीवनका हरेक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सफल भएका थिए । बुद्धका अनुयायी भएर हजारौँ भिक्षु भिक्षुणीले बुद्धको ज्ञान धेरैतिर फैलिएका थिए ।

    त्यस्तै २००० वर्षपहिले मौर्य सम्राट अशोकले कलिङ्गको युद्ध जितिसकेपछि त्यहाँ जुन विनाश र अलापविलाप देखे, त्यसबाट उनमा पश्चात्ताप र करुणाको भाव पैदा भयो । त्यसपछि उनी बुद्धमार्गी बने । सम्राट अशोकले आफ्ना पालामा बुद्धका सन्देशको विभिन्न शिलालेख र स्तम्भ निर्माण गर्नुका साथै बौद्धज्ञान प्रचारका लागि विभिन्न देशमा भिक्षु पठाए । त्यति बेला भारतबाहेक श्रीलङ्का, मध्यएसिया र ग्रीक राज्यसम्म यो ज्ञान फैलिएको थियो । पछि समय बित्दै गएपछि बुद्धले खोजी गरेको शुद्ध विपश्यनाविधि हराउँदै गयो । बुद्धका ज्ञान, सन्देशका धार्मिक ग्रन्थ मात्र प्रचार हुन थाले र बुद्ध धर्म एउटा धार्मिक सम्प्रदायका रूपमा विकसित भयो ।

    बर्मा (हालको म्यान्मार) मा भने पिँढी–पिँढी गुरुशिष्य परम्पराअनुसार विपश्यना ध्यानविधि शुद्ध रूपमा कायम रहन गएको रहेछ । बर्माको एक प्रतिष्ठित भारतीय मूलका व्यापारी सत्यनारायण गोयनका एक प्रकारको माइग्रेन टाउको दुख्ने रोगबाट ग्रस्त रहेछन् । रोगमुक्तिको खोजीमा लाग्दा उनी बर्माका विपश्यना आचार्य स्यागयी ऊ वा उनको सङ्गतमा पुगेछन् र उनैको रेखदेखमा १० दिने ध्यानकक्षा लिएछन् । कैयाँै उपचार गर्दा पनि निको हुन नसकेको उनको रोग विपश्यना ध्यानले निको हुँदै गएछ । आफू निको भइसकेपछि मानव कल्याणको यति अमूल्य ज्ञानप्रतिको उनको रुचि बढ्दै गयो । उनी बुद्धका विभिन्न ज्ञान र सन्देशरूो अध्ययनमा लिप्त हुँदै गए र आफै बर्मामै विपश्यनाको अध्यापन गराउन थाले ।

    गोयनकालाई भारतमै उत्पत्ति भएको यो कल्याणकारी ज्ञान आज विलुप्त भएकाले यो ज्ञान भारतमा कसरी पुर्‍याउने भन्ने मनमा लागिरहेको थियो र उनी सन् १९६९ मा भारत आए । सुरुआतमै भारतमा विपश्यना ध्यानको ठुलो प्रभाव पर्‍यो भारतका धेरै ठाउँमा विपश्यना केन्द्र स्थापना हुँदै गए । त्यसपछि यो ज्ञान बर्मा र भारतमा मात्र सीमित रहेन । आज यो ज्ञान दक्षिण एसिया, पूर्वी र दक्षिण पूर्वी एसिया, अस्ट्रेलिया र न्युजिल्यान्ड, मध्यपूर्व, अफ्रिका, अमेरिका, क्यानडा र ल्याटिन अमेरिका गरी ९० भन्दा बढी देशमा फैलिएको छ र लगलग ३०० जति ध्यान केन्द्रमा विश्व विपश्यना आचार्य सत्यनारायण गोयनकाको निर्देशनमा सहायक आचार्यद्वारा विपश्यना ध्यान सञ्चालन गरिन्छ ।

    विपश्यना शिविरमा भाग लिन जाने साधकसाधिकाले माथि लेखिएका धेरै कुरा विपश्यना आचार्य सत्यनारायण गोयनकाको अडियो निर्देशन र प्रवचनबाट अझ धेरै प्रष्ट हुन्छ । शिविर अवधिभर हरेक दिन साँझ ७ बजेदेखि ८:३० बजेसम्म गोयनकाको अत्यन्त सरल र उदाहरणसहितका हरेक दिनका फरकफरक विषयका व्याख्यात्मक प्रवचन अझ सुनौँ सुनौँ लाग्ने खालको हुन्छ ।

    शिविरको दशौँ दिनका दिन मङ्गलमैत्रीको अभ्यास गराइन्छ र बिहान ११ बजेपछि आर्यमौन तोडिन्छ । त्यसपछि साधक–साधिकालाई एकआपसमा कुराकानी गर्न छुट हुन्छ । हामीले पनि त्यस दिन (२०६३ वैशाख २ गते) एकअर्कासँग परिचय गर्‍यौँ । आआफ्नो शिविरका अनुभव साटासाट गर्‍यौँ । सबै साधकसाधिका सहायक पुरुष र महिला आचार्यसहितको फोटो आआफ्नो मोबाइलमा कैद गर्‍यौँ । दिउसो र बेलुकाको सामूहिक ध्यानबाहेक अन्यत्र ध्यान थिएन । बाहिर बुद्धका ज्ञानसम्बन्धी पुस्तकको स्टल लगाइएको थियो । त्यस्तै दान पनि सङ्कलन हुँदै थियो । यहाँ आफू रहेको र खानाको कुनै शुल्क लाग्दैन तर पनि विपश्यना ध्यानमा बसिसकेपछि यो पुण्यकार्यमा मेरो पनि सहभागिता होस् भन्ने भावना आफै उत्पन्न हुन्छ र सबैले यहाँ सक्दो सहयोग गर्छन । मैले पनि सक्दो सहयोग गरेँ ।

    १२ दिनसम्म शिविरमा बस्दा दैनिक फरकफरक प्रकारको बिहानको नास्ता र दिनको एक पहर सात्विक शाकाहारी भोजनको व्यवस्था थियो । हामीलाई शिविरभित्र कुनै कुराको अभाव गराइएन, न कुनै कामको नै जिम्मा थियो । हामी तपस्यामा बसेका साधुसरह १० दिन सम्म दैनिक १२/१२ घण्टा ध्यानमा बस्यौँ ।

    बाह्रौँ दिनको बिहान विपश्यना ध्यानबाट विभिन्न जेलका कैदी र विभिन्न समुदायले कसरी लाभ प्राप्त गरिरहेका छन् भन्नेबारेको अत्यन्त प्रेरणादायी डकुमेन्ट्री देखाइन्छ । त्यसपछि शिविर समाप्त हुन्छ । बिहान १० बजेतिर बस कोटडाँडा आइपुग्यो । हामी सबै बसबाट सहर झर्‍यौ । बाह्रौँ दिनपछि दिउसो १ बजे म घर पुगेँ ।

    बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.