• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

 कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती


  •   सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
  • झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन् । यो दृश्य हो–कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’अर्थात् ‘सेतो सुन’ खेतीको ।

    Advertisement

    कचनकबल गाउँपालिका–४ का ६३ वर्षीय जेलेल मियाको जीवनका धेरै वसन्तहरू यही सिमखेतमा धान रोप्दै र काट्दै बिते । तर, यसपालि उहाँले आफ्नो सात बिघा जग्गामा चैते धानखेती गर्नुभएन । वर्षको प्रतिबिघा ३० मन धान पाउने शर्तमा उहाँले आफ्नो जग्गा भाडामा दिनुभयो । “वर्षौंदेखि धान र मकैको खेती गर्दै आएको थिएँ”, उहाँ भन्नुहुन्छ, “यसपालि मखनाखेती गर्छु भन्दै आउनेलाई जग्गा दिएँ । नयाँ खेती अरे, हेरौँ कस्तो हुँदोरहेछ ।” जेलेल मात्र होइन, सोही वडाका बाहिल आलमले पनि आफ्नो १५ कट्ठा जग्गा झापा गाउँपालिका–४ का शाहिल शेखलाई मखनाखेतीका लागि भाडामा दिनुभएको छ ।

    स्थानीय किसानहरूका लागि यो एक प्रकारको प्रयोग हो भने व्यवसायीका लागि ठूलो सम्भावनाको ढोका । मखनाखेती यहाँका बासिन्दाका लागि नौलो भएकाले सबैलाई यसको सम्भावनाबारे कौतुहलता छ । विर्तामोडका जनक खड्काले त झन आफ्नो २० बिघा जग्गा यही मखनाखेतीका लागि दिनुभएको छ । यसरी धेरै किसानबाट भाडामा लिइएको १०० बिघा जमिनमा अहिले मखनाकोखेती विस्तार भइसकेको छ ।

    कचनकबलमा मखनाखेती भित्र्याउने श्रेय शाहिल शेखलाई जान्छ । उहाँले भारतको पूर्णियामा रहेका आफ्ना नातेदारसँग साझेदारी गरेर कचनकबलमा यो नौलो कृषि व्यवसायको थालनी गर्नुभएको हो । नेपालमा मखनाको व्यावसायिक खेतीको इतिहास खासै नभएका बेला शेखले १०० बिघाभन्दा बढी जग्गा भाडामा लिएर ठूलो लगानी गर्नुभएको छ ।

    दुई महिनाअघिदेखि रोप्न सुरु गरिएको मखना अहिले खेतका गराहरूमा कतै वयस्क हुँदैछ भने कतै भर्खर पात पलाउँदैछ । डिप बोरिङ गरेर खेतमा निरन्तर सिँचाइको व्यवस्था गरिएको छ, किनकि मखनालाई गरामा निरन्तर भरिएको पानी चाहिन्छ । शेखका अनुसार भारतमा मखना प्रतिकिलो रु एक हजारभन्दा बढीमा बिक्री हुन्छ । एक बिघा जमिनमा झण्डै १०० केजी मखना उत्पादन हुने उहाँको अनुमान छ । यदि यो अनुमान सही ठहरियो भने कचनकबलको सिमखेतले धानको तुलनामा कयौँ गुणा बढी आर्थिक लाभ दिने निश्चित छ ।

    मखना, जसलाई अङ्ग्रेजीमा ‘फक्स नट’ वा ‘लोटस सिड’ पनि भनिन्छ । यो एक प्रकारको जलीय बिरुवा हो । कमलको फूलजस्तै देखिने यसको बोटमा काँडेदार पातहरू हुन्छन् र यसको दानादार फल पानीमुनि फल्छ । स्वास्थ्यको दृष्टिकोणले मखनालाई ‘सुपरफुड’ मानिन्छ ।

    सेतो दाना हुने र बजार भाउ उच्च भएकाले यसलाई ‘सेतो सुन’ भनिएको हो । धानखेतीमा जस्तै माटो हिल्याएर मखनाको बीउ र बिरुवा रोप्ने कार्य गरिन्छ । पानी सुक्यो भने मखनाको बोट र पातहरुमा असर पर्ने भएकाले खेती गरिएको मिसखेतमा वैकल्पिक सिँचाइको भरपर्दो व्यवस्था मिलाइएको हुन्छ ।

    यसमा प्रोटिन, फाइबर, पोटासियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । मधुमेह, मुटुसम्बन्धी समस्या भएका र तौल घटाउन चाहनेहरूका लागि यो अमृत समान मानिन्छ । यसमा कोलस्टोरलको मात्रा शून्य हुन्छ । नेपालमा हाल मखना पूर्ण रूपमा भारतबाट आयात हुन्छ । भुटेर बनाइने ‘मखना फूल’ खाजाका रूपमा र पूजाआजामा प्रसादका रूपमा निकै लोकप्रिय छ । मखनाखेतीले जग्गाधनीलाई मात्र होइन, स्थानीय मजदुरहरूलाई पनि नयाँ रोजगारी दिएको छ । काँडेदार पातका बीचबाट पानीमुनि फल्ने दाना टिप्नु, रोप्नु र गोडमेल गर्नु चुनौतीपूर्ण काम हो । यसका लागि भारतबाट दक्ष प्राविधिकहरू ल्याइएका छन् भने उनीहरूलाई सघाउन स्थानीयले पनि काम पाएका छन् । स्थानीय मजदूरले दैनिक रु ६०० देखि ९०० सम्म पारिश्रमिक पाइरहेका छन्, जसले गाउँको अर्थतन्त्रलाई थप चलायमान बनाएको छ ।

    स्थानीय ५९ वर्षीय राहिबुद्दिन मियाँ यस खेतीलाई कौतुहलका साथ नियालिरहेको बताउनुहुन्छ । “भारतबाट बीउ र प्राविधिक आएका छन्”, उहाँ भन्नुहुन्छ, “राम्रो फाइदा हुने देखियो भने अर्को वर्षदेखि हामी आफैँ पनि यो खेती गर्न सिक्नेछौँ ।” कुनै पनि नयाँ सुरुआत जोखिममुक्त हुँदैन । जेलेल मियाँले धानखेती गर्दा प्रतिबिघा ७० देखि १०० मनसम्म उत्पादन हुने गरेको थियो । मखनाका लागि लिइएको भाडा दर त्यो तुलनामा कम भए पनि जोखिम मोलेको बताउँदै मियाँ भन्नुहुन्छ, “खेती कस्तो हुने हो भन्ने यकिन नभएकाले अहिले सस्तोमै जग्गा दिएका हौँ ।”

    आगामी दुई महिनापछि मखनाले फल दिन थाल्नेछ । अहिले फूल फुल्ने मौसम हो । यदि यो खेतीको परीक्षण सफल भयो भने कचनकबलको सिमखेतमा मात्र होइन, नेपालका अन्य तराईका जिल्लामा पनि मखनाखेतीको लहर चल्नेछ । बर्खामा जलमग्न भएर खेती कठिनाइ व्यहोर्दै आएका कचनकबलका किसानहरु मखनाखेतीप्रति आकिर्षत हुँदैछन् । तराई क्षेत्रका सिमखेत मात्र होइन, सदाबहार पानी रहने प्राकृतिक र कृत्रिम पोखरीहरुमा समेत मखनाखेतीको राम्रो सम्भावना छ । सप्तरी, धनुषा र महोत्तरीलगायतका मधेस प्रदेशका जिल्लामा यसको सानो आकारमा खेती गरिएको पाइएको छ ।

    मखनाखेती गरिएको जग्गामा अटुट रुपमा पानी जम्ने हुनाले माछापालन गरेर दोहोरो लाभ लिन सकिने जानकारहरु बताउँछन् । माछाको मलले मखनालाई उर्बर बनाउने र मखनाको पातले माछालाई सुरक्षा प्रदान गर्ने कचनकबलका मखनाखेती सञ्चालक शाहिल शेख बताउनुहुन्छ । झापा र मोरङसँग सीमा जोडिएको भारतको विहार प्रदेश विश्वकै मखनाखेतीको प्रमुख उत्पादक हो ।

    विश्व बजारमा विहारको मखनाले ९० प्रतिशत स्थान ओगटिरहेको जनाइएको छ । विहारको उत्पादन प्रविधि, जनशक्ति र अनुभव नेपालको तराई क्षेत्रका लागि उपयोगी नमूना हुने देखिन्छ । विहारको मधुवनी, दरभंगा, कटिहार, पूर्णिया, सहरसा र सीतामणि मखनाखेतीको पकेट क्षेत्र मानिन्छन् । झापाको कचनकबलमा मखनाखेती गर्न पूर्णियाबाटै लगानी साझेदार आएका हुन् । भारत सरकारले गत वर्ष मखनाखेतीलाई अनुदान दिन र प्रोत्साहित गर्न ‘मखना बोर्ड’ गठन गरेको छ ।

    महँगो मूल्यमा बिक्री हुने र धानको तुलनामा बढी आम्दानी हुने भएकाले निकट भविष्यमा झापाको कचनकबल गाउँपालिका क्षेत्रलाई मखनाखेतीको पकेट क्षेत्र विकास गरेर लैजान सकिने सम्भावना छ । यसका लागि स्थानीय सरकारले पनि सरोकार बढाउनुपर्ने शेख बताउनुहुन्छ ।

    कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई यस नवीन कृषि प्रयासलाई सकारात्मक रूपमा लिनुहुन्छ । “यो हाम्रा लागि एउटा नमूना खेती हो, यसबाट किसानले कति वास्तविक फाइदा पाउँछन् भन्ने कुरा हेर्नुछ”, उपाध्यक्ष भट्टराई भन्नुहुन्छ, “बाली पाकेपछि मात्र थाहा हुन्छ । यदि यो खेती सफल भयो भने पालिकाले किसानहरूलाई मखनाखेतीतर्फ आकर्षित गर्न विशेष प्रोत्साहनका कार्यक्रमहरू ल्याउनेछ ।”

    कचनकबल स्तम्भ रहेको नेपालकै होचो भूभाग अवलोकन गर्न बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक कचनकबलमा आउने गरेका छन् । कचनकबल स्तम्भ नजिकै रहेको मखनखेतीले समेत पर्यटक आकर्षित गर्ने सम्भावना देखिएको उपाध्यक्ष भट्टराई बताउनुहुन्छ । उहाँले मखनाखेतीमा लागिरहेका व्यवसायीहरुसँग सम्पर्क र संवाद गरेर खेतीको सम्भावनाबारेमा जानकारी लिने कार्य भइरहेको बताउनुभयो ।

    नेपालले वार्षिक करोडौँको मखना भारतबाट आयात गर्दै आएको छ । कचनकबलमा सुरु भएको यो जमर्कोले मुलुकलाई मखनामा आत्मनिर्भर बनाउने नयाँ बाटो अवश्य देखाउनेछ । धानको विकल्पमा उच्च मूल्य दिने खेतीका रूपमा मखनाले कचनकबलका किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ । सिमखेतको टिलपिल पानीमा तैरिइरहेका ती ठूला हरिया पातहरू एउटा बिरुवा मात्र होइनन्, ती त झापाका किसानका सपना हुन् । जसले भोलिका दिनमा ‘सेतो सुन’ फलाएर गाउँकै अनुहार बदल्ने अठोट बोकेका छन् ।

    चन्द्रकला भण्डारीरासस

    सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.