ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणका लागि अमेरिकी आधार प्रयोग गर्न अस्वीकार गरेको स्पेनसँगको व्यापार तोड्ने धम्की दिएपछि युरोपेली आयोगले बुधबार इयू आफ्नो हित र सदस्य राष्ट्र स्पेनको सुरक्षा र आर्थिक हितको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ ।
आयोगका प्रवक्ता ओलोफ गिलले जारी गरेको विज्ञप्तिमार्फत् भने– “हामी सबै सदस्यराष्ट्र र नागरिकसँग एकतामा उभिएका छौँ र आवश्यकता परे हाम्रो साझा व्यापारनीतिमार्फत इयू हितको रक्षा गर्न कार्य गर्न तयार छौँ ।”
ट्रम्पले मङ्गलबार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले रोटा नौसेना आधार र मोरोन एयरबेसको प्रयोग गर्न नदिएको र नाटोका लागि रक्षाखर्च बढाउने प्रतिज्ञा गर्न अस्वीकार गरेकोमा गम्भीर आपत्ति जनाउँदै स्पेनसँगको व्यापार बन्द गर्ने धम्की दिएका थिए ।
गिलले भने– ‘युरोपेली आयोग अमेरिकासँग गत वर्ष सम्पन्न ठुलो व्यापार सम्झौताको प्रतिबद्धताको पूर्ण सम्मानको अपेक्षा गर्छ । हामी दुवै पक्षको हितमा स्थिर, पूर्वानुमानयोग्य र पारस्परिक रूपमा लाभदायी ट्रान्साटलान्टिक सम्बन्ध कायम राख्न वकालत जारी राख्नेछौँ ।’
सान्चेजको वामपन्थी सरकारले गाजामा इजरायलको युद्धको कडा विरोध र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको अपहरण र गिरफ्तारीको सैन्य कारबाहीका कारण वासिङ्टनसँग सम्बन्ध तनावपूर्ण बनेको छ । (रासस/एएफपी)