वासिङ्टन । अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षासेवामा रहेका कर्मचारीबाहेक अन्य गैरआकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई ती मुलुकबाट जतिसक्दो छिटो बाहिरिन सूचना जारी गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार बहराइन र जोर्डन छाड्न गैरआकस्मिक सेवाका कर्मचारीलाई आदेश दिएको हो ।
इरानले अमेरिका–इजरायली आक्रमणको प्रतिकार गरिरहेको अवस्थामा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यो सूचना जारी गरेको हो ।
मन्त्रालयले एक्समा गरेको पोस्टमा भनेको छ– ‘गैरआकस्मिक सेवामा रहेका अमेरिकी सरकारी कर्मचारी र सरकारी कर्मचारीका परिवारका सदस्यलाई प्रतिबिम्बित गदै विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई बहराइन, जोर्डन र इराकमा यात्रा नगर्न सुझाव दिएको छ ।’
एक छुट्टै पोस्टमा मन्त्रालयले भनेको छ– ‘अमेरिकाले इराक यात्रा निर्देशन अद्यावधिक गरिएको थियो कि यसले सोमबार “सुरक्षा चिन्ताका कारण गैरआकस्मिक अमेरिकी सरकारी कर्मचारीलाई इराक छोड्न आदेश दिएको थियो । त्यसमा उनीहरूका आफन्तको उल्लेख गरिएको थिएन ।’
अमेरिका–इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ ।
इरानको रिभोलुसनरी गाड्र्सले बहराइनमा रहेको अमेरिकी हवाई अड्डालाई निशाना बनाएको इरानको रिभोलुसनरी गाड्र्सले मङ्गलबार जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।
इराकको राजधानी बगदादमा कालो पोसाकमा सयौँ प्रदर्शनकारीले आइतबार अमेरिकी दूताबास रहेको ग्रिनजोनमा प्रवेश गर्ने प्रयास गरेका छन् ।
जोर्डनको राजधानी अम्मानस्थित अमेरिकी दूतावासले सोमबार अज्ञात खतराका कारण अस्थायी रूपमा आफ्ना कर्मचारीलाई खाली गरेको बताएको छ ।
साउदी अरबले शनिबार इरानले जबाफी आक्रमण सुरु गरेयता एक दर्जनभन्दा बढी क्षेप्यास्त्र पनि छेदन गरिएको जनाएको छ । (रासस/एएफपी)





