लापाज । बोलिभियाको प्रशासनिक राजधानी लापाजनजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
दुर्घटनापछि सडकमा छरिएको पैसा उठाउन भिड जम्मा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रयोग गर्नुपरेको थियो ।
सी–१३० हर्कुलस यातायात विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर निस्केर नजिकैको व्यस्त एभिन्यूमा खसेको थियो ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमानका भग्नावशेष सडकभर छरिएको, थुप्रै कार पूर्ण रूपमा नष्ट भएको र केही ट्रकमा क्षति पुगेको देखिएको छ ।
विमान ठोक्किएपछि सडकमा छरिएका नगद सङ्कलन गर्न दर्शक हतारिएका थिए, जसलाई हटाउन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । पछि अधिकारीले दुर्घटनास्थलमै आगो बालेर पैसा जलाएका थिए ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रत्यक्षदर्शीले त्यस बेला मौसम अत्यन्त खराब रहेको बताएका छन् ।
राष्ट्रिय दमकल विभागका कर्नल पावेल तोवरले पत्रकारलाई १५ देखि १६ जनासम्मको मृत्यु गणना गरिएको जानकारी दिए ।
विमानस्थल परिसर र एभिन्यू दुवै स्थानमा मृत्यु दर्ता भएको जनाइएको छ । बोलिभियन एयर नेभिगेसन तथा एयरपोर्ट प्राधिकरण नाबोलले सी–१३० पूर्वी सहर सान्ताक्रुजबाट उडेको र एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ ।
घटनापछि विमानस्थलको सञ्चालन स्थगित गरिएको छ ।
लकहिड मार्टिनद्वारा निर्मित उक्त विमानले बोलिभियन बैङ्कनोट बोकेको थियो, जुन दुर्घटनापछि प्रभावका कारण छरिएको थियो ।
रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा विमानमा ओसारपसार गरिएको पैसामा कुनै आधिकारिक क्रमिक नम्बर नभएको र त्यसको कानुनी वा खरिद शक्ति नरहेको स्पष्ट पारेको छ ।
दुर्घटनापछि सडकमा देखिएको अराजकताको फाइदा उठाएर केही व्यक्तिले लुटपाट गरेको सूचना प्राप्त भएको लापाज अभियोजकको कार्यालयले जनाएको छ । अभियोजक लुइस कार्लोस टोरेसले सोधपुछका लागि १२ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
दुर्घटनाका बेला चोक र उहाँको परिवार लुटपाटको डरले भग्नावशेष भएको गाडीभित्रै बसेका थिए । एल अल्टोका अस्पतालले घाइतेको उपचारका लागि रक्तदान अभियान सुरु गरेका छन् ।
तीन हजार छ सय ५० मिटर उचाइमा अवस्थित लापाज एन्डियन चुचुराले घेरिएको विश्वकै सबैभन्दा अग्लो प्रशासनिक राजधानी हो ।
रक्षामन्त्रालयले घटनाको औपचारिक अनुसन्धान सुरु गरिएको जनाएको छ । (रासस/एएफपी)