इस्लामावाद । पछिल्लो हवाई आक्रमण र सीमापार झडपपछि पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द्व अब खुला युद्धमा रूपान्तरित भएको घोषणा गरेको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत देशको ‘धैर्य समाप्त भएको’ जनाउँदै अब दुई देशबिच खुला युद्धको अवस्था सिर्जना भएको बताए ।
उनले नाटो सेना फिर्ता भएपछि पाकिस्तानले अफगानिस्तानमा शान्ति स्थापना हुने अपेक्षा गरेको तर तालिबान सरकारले त्यसको विपरीत बाटो रोजेको आरोप लगाए । तालिबानले अफगान जनताको कल्याण र क्षेत्रीय स्थिरतामा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिए पनि अफगानिस्तानलाई भारतको उपनिवेश बनाइएको, विश्वभरका उग्रवादीलाई एकत्रित गरिएको र आतङ्कवाद निर्यात सुरु गरिएको उनको दाबी थियो ।
‘हाम्रो धैर्य अब समाप्त भएको छ । अब हामीबिच खुला युद्ध छ’ उनले उल्लेख गरे । उनको अभिव्यक्तिबारे अफगान सरकारी अधिकारीको तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
रक्षामन्त्री आसिफको टिप्पणी पाकिस्तानले काबुल, कान्दाहार र पक्तिया प्रान्तमा हवाई आक्रमण गरेको केही घण्टापछि सार्वजनिक भएको हो ।
पाकिस्तानी अधिकारी र अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार यी आक्रमण अफगानिस्तानबाट भएको सीमापार आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको दाबी गरिएको छ । केही महिनाअघि कतार र टर्कीको मध्यस्थतामा युद्धविराम भएको भए पनि पछिल्लो घटनाक्रमले तनाव पुन: चुलिएको देखिएको छ ।
दुवै देशले एकअर्कालाई ठुलो क्षति पुर्याएको दाबी गरेका छन् तर ती विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् । अफगानिस्तानको रक्षा मन्त्रालयले रातिको समयमा भएको कारबाहीमा ५५ पाकिस्तानी सैनिक मारिएको, केहीको शव अफगानिस्तानतर्फ लगिएको र धेरैलाई जीवितै नियन्त्रणमा लिइएको जनाएको छ ।
मन्त्रालयका अनुसार आठ अफगान सैनिक मारिएका र ११ जना घाइते भएका छन् । १९ पाकिस्तानी चौकी र दुई आधार ध्वस्त पारिएको तथा बिहीबार सुरु भएको झडप करिब चार घण्टापछि मध्यरातमा रोकिएको दाबी गरिएको छ ।
यता पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले दुई पाकिस्तानी सैनिक मारिएको र तीन जना घाइते भएको जानकारी दिए ।
प्रधानमन्त्री शाहबाज सरिफका प्रवक्ता मुशर्रफ अली जैदीले कुनै पनि पाकिस्तानी सैनिक पक्राउ परेको दाबी अस्वीकार गर्दै कम्तीमा एक सय ३३ अफगान लडाकु मारिएको र दुई सयभन्दा बढी घाइते भएको उल्लेख गरे । उनका अनुसार २७ अफगान चौकी ध्वस्त पारिएका र नौ जना लडाकुलाई नियन्त्रणमा लिइएको छ । हताहत कहाँ भएका भन्ने स्पष्ट नगरिए पनि काबुल, पक्तिया र कान्दाहारका सैन्य लक्ष्यमा आक्रमणबाट ठुलो क्षति पुगेको अनुमान गरिएको उनले जनाए ।
इस्लामावादस्थित दुई वरिष्ठ सुरक्षा अधिकारीले केही सीमाचौकीमा अफगान सेनाले सेतो झन्डा उठाएको दाबी गरेका छन्, जसलाई सामान्यत: गोलीबारी रोक्ने सङ्केतका रूपमा लिइन्छ । नाम उल्लेख नगर्ने सर्तमा उनीहरूले पाकिस्तानी सेनाले अफगान तालिबानको अप्रेरित आक्रमणको कडा जवाफ दिएको र सीमावर्ती क्षेत्रका महत्त्वपूर्ण तालिबान चौकी ध्वस्त पारेको बताए ।
तनाव बढेसँगै मानवीय असर पनि देखिन थालेको छ । पाकिस्तानका अधिकारीले उत्तरपश्चिमी तोरखाम नाकाबाट फर्किन प्रतीक्षारत दर्जनौँ अफगान शरणार्थीलाई झडप फैलिएपछि सुरक्षित स्थानमा सारिएको बताए ।
पाकिस्तानले अक्टोबर २०२३ देखि कागजातविहीन आप्रवासी विरुद्ध व्यापक कारबाही सुरु गरेको थियो । त्यसक्रममा धेरैलाई गिरफ्तारी र जबरजस्ती निष्काशनबाट जोगिन देश छाड्न आग्रह गरिएको थियो भने अरूलाई निष्काशन गरिएको थियो । इरानले पनि सोही समयमा आप्रवासी विरुद्ध कडाइ सुरु गरेको थियो ।
त्यसयता लाखौँ मानिस सीमा पार गर्दै अफगानिस्तान फर्किएका छन् । तीमध्ये दशकौँअघि पाकिस्तानमा जन्मिएर त्यहीँ जीवन र व्यवसाय स्थापना गरेका व्यक्ति पनि समावेश छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार गत वर्ष मात्र २९ लाख मानिस अफगानिस्तान फर्किएका थिए भने यस वर्ष अहिलेसम्म करिब ८० हजार जना फर्किसकेका छन् । (रासस/एपी)