काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा हतियारधारी प्रवेश गरेसँगै त्यहाँको सुरक्षा व्यवस्था फितलो भएको देखिएको छ ।
राष्ट्रपति निवासमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ ।
घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डिसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए । उनीहरू सुरक्षित रहेको अधिकारीले बताएका छन् ।
स्थानीय सुरक्षा अधिकारीका अनुसार उक्त व्यक्तिलाई अमेरिकी स्टेट सिक्रेट सर्भिसका एजेन्ट र पाम बिच काउन्टी सेरिफका सुरक्षा अधिकारीहरुले रोक्ने प्रयास गरेका थिए ।
सुरुमा सुरक्षाकर्मीले ती व्यक्तिलाई हतियार छोड्न आदेश दिएका थिए तर उनले पेट्रोलको डिब्बा भुइँमा राखे पनि सटगन चलाउन खोजेपछि गोली चलाउनुपरेको पामबिच काउन्टीका सेरिफ रिक ब्रेडसाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार घटनास्थलबाट एक पेट्रोलको डिब्बा र सटगन बरामद भएको छ । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् ।
बिबिसीका अनुसार ट्रम्पको घर रहेको स्थान मारआलागोमा सधैँ कडा सुरक्षा व्यवस्था रहने गर्छ । बाहिरी घेरा स्थानीय सेरिफ कार्यालयले सम्हाल्छ भने भित्री सुरक्षा सिक्रेट सर्भिसले हेर्छ । आगन्तुकको कडाइका साथ जाँच गरिन्छ । सवारीसाधन र झोला मेटल डिटेक्टर तथा कुकुरमार्फत परीक्षण गरिन्छ ।
यति कडा सुरक्षा व्यवस्थाकै कारण संदिग्ध व्यक्ति भित्री क्षेत्रमा प्रवेश कसरी गरे भन्ने खुलेको छैन । मारिएका ती व्यक्तिको पहिचानबारे भने थप अनुसन्धान जारी छ ।