काठमाडौँ । राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले भारतको नयाँदिल्लीमा सन् १९८६ मा जेलबसाइँको स्मरण गर्दै भन्नुभएको छ– ‘अपशब्द बोलेपछि जेलभित्रका प्रहरीलाई एक झापड हानेँ ।’
क्यान्सरका विरुद्ध उच्च मनोबलका साथ सङ्घर्ष गरिहनुभएका नेता केसी युगदर्शन मिडियासित २०८२ कात्तिक १० गते आफ्ना अनुभूति सेयर गर्दै हुनुहुन्थ्यो ।
डेटलाइन कानपुर
रुपन्देहीको बुटवलस्थित राजमो लुम्बिनी प्रदेश कार्यालयमा युगदर्शनका सम्पादकहरू प्रकाश थापामगर र धनवीर पुनमगरसँग कुराकानी गर्ने क्रममा उहाँले मुख्यत: भारत प्रवासबाट आफूले राजनीतिक जीवन सुरु गरेको जानकारी दिनुभयो ।
आफू पञ्चायतकालमै राजतन्त्र विरोधी रहेको स्मरण गर्दै उहाँले भारतको कानपुरमा पुगेर तत्कालीन अखिल भारत नेपाली एकता समाज (हालको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज) मा आबद्ध भएको बताउनुभयो ।
‘कानपुरमा कमलप्रसाद गैरे, भोजराज उप्रेतीलगायतका साथीहरूले बारम्बार मलाई सङ्गठित गर्न खोज्नुभयो तर मैले उहाँहरूलाई राजाको मान्छे होलान् भन्ने ठानेर एकता समाजमा सङ्गठित भइनँ’ उहाँले भन्नुभयो– ‘चम्किलो रातो तारा उपन्याससहित माओत्सेतुङका विभिन्न रचना पढेपछि म कानपुरमा एकता समाजको टोल समितिमा आबद्ध भएँ ।’
केसीले पुराना दिनको स्मरण गर्दै अगाडि भन्नुभयो– ‘यस्तो गुन्डालाई एकता समाजमा राख्नुहुन्न भनेर कतिपय साथीले आपत्ति प्रकट गरेपछि एकपटक त मैले एरिया समितिको सचिवबाट राजीनामा पनि दिएँ तर पछि फेरि साथीहरूकै अनुरोधमा नगर समितिको सचिव बनेँ ।’
उहाँले त्यसपछि हालसम्म आफूले राजनीतिक यात्रामा पछि फर्केर नहेरेको उहाँको दाबी थियो ।
मे १२ आन्दोलन
मूल प्रवाहले मे १२, १९८६ (२०४३ साल) मा तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाअन्तर्गतको राष्ट्रिय पञ्चायत चुनावको बहिष्कार आन्दोलनलाई समर्थन गरेको थियो । नेकपा (मसाल) ले नेपालमा सो चुनाव बहिष्कार गरेपछि त्यसको समर्थन गर्दै एकता समाजले नयाँदिल्लीमा विरोधसभा आयोजना गरेको थियो ।
‘मे १२ का दिन हामी नयाँदिल्लीको फिरोज शाह कोटला ग्राउन्डमा जम्मा भएका थियौँ । त्यहाँ जुलुस निकाल्ने कि ननिकाल्ने भन्ने विषयमा छलफल चल्दै थियो’ उहाँले भन्नुभयो– ‘मैले नगर समिति सचिवको हैसियतले कानपुरका र अन्य साथीहरूसित छलफल गरेँ । त्यसपछि आफूले लगाएको कमिज च्यात्दै मैले गोली खाए खाउँला साथी हो, जुलुस गरौँ भनेर आह्वान गरेपछि जुलुस निस्कियो ।’
जुलुसले निषेधाज्ञा तोडेपछि भारतीय प्रहरीले निर्मम दमन गरेको थियो । नेता केसीका अनुसार १० जना महिलासहित ९५ जना एकता समाजका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर दिल्लीको तिसहजारी र तिहाड जेल चलान गरेको थियो । हत्याजस्तो झुटा मुद्दा दर्ता गरेर प्रदर्शनकारीलाई तीन महिनासम्म जेलमा राखिएको थियो । तीन महिनापछि उहाँहरूलाई धरौटीमा रिहा गरिएको थियो ।
प्रहरीलाई झापड
जेलमा नेता केसी, उहाँकी पत्नी, शोभाखर धनञ्जय (सरोज शर्मा) सहितका नेताहरू हुनुहुन्थ्यो । यस सन्दर्भमा जेलभित्रै रहेकै बेलाको प्रहरी ज्यादतीबारे उहाँले एउटा घटना सम्झिनुभयो ।
‘एक दिन जेलभित्रै म खाना लिन जाँदै थिएँ । एउटा प्रहरीले कैदीलाई लगाएर आफ्नो शरीर मसाज गराउँदै थियो । मलाई कहाँ हिँडेको होस् भनेर त्यो प्रहरीले सोध्यो । मैले सरासर खाना लिन हिँडेको बताएँ’ उहाँले भन्नुभयो– ‘उसले मलाई आमाबहिनीको अपशब्द बोल्यो । त्यसपछि मैले एक झापड प्रहरीलाई लगाएँ ।’
त्यसपछि जेलका अधिकारीले आएर त्यो मामिला मिलान गरेको उहाँले जानकारी दिनुभयो ।
सांस्कृतिक अभियानमा
अनुभूति सेयर गर्ने क्रममा नेता केसीले आफू राजनीतिक दलको नेता वा सङ्गठनकर्तासँगै कलाकारको रूपमा समेत सांस्कृतिक अभियानमा हिँडेको सम्झिनुभयो ।
‘हामी सङ्गठन बनाउन भोकैप्यासै, गितार बोकेर भारतका गल्ली गल्ली घुम्थ्यौँ’ उहाँले यसरी भारतको उत्तर प्रदेश, मध्यप्रदेश, हरियाणा, उडिसालगायत भारतभरि घुमेको बताउनुभयो । त्यस क्रममा भारतस्थित नेपालीको माया र सद्भाव प्राप्त गरेको तथ्य उल्लेख गर्न उहाँले छुटाउनुभएन ।
भारतमा एकता समाजको सङ्गठनात्मक अभियान सञ्जालन गर्दा कम्युनिस्ट पार्टीका नेतासँगै पारिजात, खुबिराम पाख्रिनलगायतका कलाकारको समेत योगदान रहेको उहाँको बुझाइ थियो ।
आफूले राम्ररी गीत गाउन, नाच्न नजाने पनि अभिनयमा रुचि रहेको स्मरण गर्दै उहाँले मोहनविक्रम सिंहद्वारा लिखित, ‘विजयको बिहान’, ‘क्रान्ति किन हुन्न ?’, ‘१२ मई’ जस्ता नाटकमा ‘हर्के’ लगायतका पात्रमा अभिनय गरेको जानकारी दिनुभयो ।
“झुन्डिएर मर्छु”
आफ्ना अनुभूति सुनाउने क्रममा उहाँले डिलाराम आचार्यसँगको “झुन्डियर मर्छु” नाटकको क्रममा गरेको एउटा मजाक स्मरण गर्नुभयो ।
उक्त नाटकको परिकल्पना केसीले नै गर्नुभएको थियो । नाटकको कथावस्तुअनुसार आचार्यले निराश क्रान्तिकारीको भूमिका खेल्नुपर्ने थियो । उसले परिस्थितिबाट निराश भएर बारम्बार ‘म झुन्डिएर मर्छु’ भन्दै डोरी लिएर झुन्डिन रुखमा चढ्थ्यो । त्यो युवकलाई बचाउने भूमिकामा केसी हुन्थे ।
एकपटक नाटकको कथावस्तुअनुसार आचार्य झुन्डिन रुखमा चढे । यता केसीले भने ‘आज म यसलाई बचाउँदिनँ, हेरौँ यो झुन्डिन्छ कि झुन्डिन्न’ भन्दै पर्दापछाडि बसेर मुसु हाँसिरहे । आचार्य डोरी लिएर रुखमा चढे, अरू कलाकार केसीको मजाकबाट आत्तिए । स्वयम् आचार्यले यो कुरा बुझे । केसी बचाउन नआउने भएपछि स्थिति साँच्चै गम्भीर बन्न सक्थ्यो । एकछिनको मजाकपछि केसीले नै आचार्यलाई तानेर रुखबाट तल झारे । तब कलाकारमाझ हाँसोको फोहरा नै छुटेको थियो ।
केसीले यस खालका धेरै नाटकमा भूमिका खेलेको र यी नाटकलाई जनताले पनि रुचाएको, सँगसँगै यस्ता रमाइला क्षण पनि धेरै रहेको बताउनभुयो ।
‘दुइटा होइन, जतिओटा गीत पनि गाउनुपर्छ’
भारतव्यापी सांस्कृतिक अभियानको त्यस्तै अर्को अनुभूति पनि उहाँले सुनाउनुभयो ।
भारतको कुनै एउटा सहरमा सांस्कृतिक कलाकारलाई प्रस्तुतिका लागि बोलाइएको थियो । कार्यक्रमपूर्व कलाकारलाई मासुभात खुवाइयो । जब सांस्कृतिक कार्यक्रम सुरु गर्ने बेला भयो, एक जना गायककारले भने– ‘मैले दुईओटाभन्दा बढी गीत गाउँदिनँ ।’
त्यति बेला नेता केसीले भन्नुभयो– ‘त्यसपछि मैले भनेँ, म यहाँको डन हुँ, दुईओटा होइन, मैले जतिओटा भन्यो, त्यतिओटा गीत गाउनुपर्छ । त्यसपछि ती गायककारले कैयौँ गीत गाए ।’
कार्यक्रमस्थलभरि स्रोता तथा दर्शक खचाखच भएका बेला गायककारले यस्तो अनावश्यक माग राख्दा आफूले नचाहेरै पनि त्यस्तो गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।
भारतमै कलाकारको उत्पादन हुनु राम्रो
नेता केसीले अहिले भारतमै सांस्कृतिक कार्यक्रमका लागि कलाकार उत्पादन हुनुलाई राम्रो कार्य बताउनुभयो ।
आफ्नो समयमा नेपालबाटै कलाकार मगाएर सांस्कृतिक कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको सम्झिँदै उहाँले त्यो स्थिति अहिले बदलिएकोमा खुसी व्यक्त गर्नुभयो ।
त्यस क्रममा उहाँले नेपाल र भारतका कलाकारमाझ कलात्मक स्तरको भिन्नता रहेको पनि बताउनुभयो ।
‘नेपालका कलाकारले धेरै दु:ख पाएका हुन्छन् । सम्भवत: त्यही दु:खले गर्दा यहाँका कलाकारको कलाको स्तर राम्रो छ । उता भारतका कलाकारले भने त्यति धेरै दु:ख सहनुपर्दैन’ उहाँले भन्नुभयो ।
प्रभावशाली वक्ता
अखिल नेपाल किसान महासङ्घ (अप्फा) को केन्द्रीय उपाध्यक्ष र महासचिवसमेत भइसक्नुभएका केसी प्रभावशाली वक्ता पनि हुनुहुन्छ ।
यसबारे हाम्रो जिज्ञासामा उहाँले भाषण आफैमा प्रभावशाली कला भएको धारणा व्यक्त गर्नुभयो । राजनीतिलाई स्थापित गर्न भाषणकलाको महत्त्व रहेको उहाँको बुझाइ थियो ।
त्यस क्रममा उहाँले प्रभावशाली भाषण गर्नका लागि वक्ताले पहिल्यै तयारी गर्नुपर्ने, मञ्चमा पुगेर आत्मविश्वासका साथ भाषण गर्ने, जनताको मनस्थिति बुझ्ने, जनताकै मनस्थिति र आवश्यकताअनुसार भाषणको शैली बदल्नेजस्ता विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।
आफूले भारतमा रहँदा दक्षिणपन्थी अवसरवाद र क्रान्तिकारी राजनीतिबारे दिएको भाषणको उहाँले स्मरण गर्नुभयो ।
त्यस्तै २०४८ सालपछि नेपाल आएर पचासाँै हजार जनतामाझ भाषण गरेको पनि उहाँसित अनुभव छ ।
‘एकपटक नेपाल आएर मैले पचासौँ हजार जनतामाझ भाषण गरेको थिएँ’ उहाँले भन्नुभयो– ‘त्यति बेला मैले भनेको थिए, यी हातका औँला खोले पन्जा बन्छ । औँला बन्द गरे मुट्ठी बन्छ । यो मुट्ठी सामन्तको छातीमा हाने बम बन्छ । मेरा यी शब्द त्यति बेल निकै चर्चित बनेको थियो ।’
उहाँले दश वर्षे माओवादी सशस्त्र द्वन्द्वको क्रममा प्युठानको बरौला, बहानेलगायतका विभिन्न स्थानमा भाषण गरेको पनि सम्झिनुभयो ।
उहाँका अनुसार आफ्नो यस्तो जोसिलो भाषणकै कारणले पनि मसाल समर्थकमाथिको तत्कालीन माओवादी ज्यादतीको सामना गर्नु सम्भव भएको थियो ।
एकता समाजलाई सुझाव
एकता समाजको ज्युँदो इतिहासको रूपमा रहनुभएका नेता केसीले भारतमा आफूले हिजो सङ्गठन गर्दा र अहिलेको फरक अवस्थाबारे पनि चर्चा गर्नुभयो ।
हिजो सांस्कृतिक अभियानका कलाकारले समेत सङ्गठनकर्ताको भूमिका निर्वाह गरेको, कार्यकर्तामा सक्रियता, त्याग र बलिदानको भावना रहेको बताउँदै उहाँले अहिले त्यसमा कमी आएको हो कि भन्ने आशङ्का व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘अहिलेका एकता समाजका साथीहरूलाई मेरो सुझाव छ, इमानदार बन्नुहोस्; परिश्रमी हुनुहोस्; जनताको विश्वासिलो बन्नुहोस् र गलत काम गर्नबाट बच्नुहोस्, तब सङ्गठनको विकास हुनेछ ।’
युगदर्शनसित पहिलो चरणको कुराकानीको बिट मार्दै उहाँले भन्नुभयो– ‘नेताले सानो कमजोरी गर्यो भने पार्टी वा सङ्गठन ध्वस्त हुन्छ किनकि जनताले सबै हेरिराखेका हुन्छन् ।’
(नेता केसीको भिडियो अनुभूतिको पूर्ण पाठ युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=9UcFPZ5hXrUमा वाच गर्नुहोला ।)