काठमाडौँ । लद्दाखको गलवान झडपपछि स्थगित भारत–चीनबीच हवाई उडान पुन: सुरु भएको छ।
सोमबार इन्डिगो एयरलाइन्सको फ्लाइट ६ई–१७०३ भारतको कोलकाताबाट चीनको ग्वाङ्जाउ अवतरण भएको थियो।
कोभिड महामारी र गलवान झडपपछि स्थगित उडानहरू पुन: सञ्चालनमा आएको र यसले द्विपक्षीय सम्बन्ध सुधारमा सहयोग गर्नेछ।
यससँगै करिब पाँच वर्षपछि भारत र चीनबीच प्रत्यक्ष हवाई उडान पुन: सञ्चालनमा आएको हो।
कोभिड महामारीको समयमा सन् २०२० को सुरुवातमै दुवै देशबीचको प्रत्यक्ष उडान स्थगित गरिएको थियो।
त्यही वर्ष लद्दाखको गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच भएको हिंसात्मक झडपपछि उडानहरू फेरि पनि सुरू गरेका थिएनन् ।
तर अहिले दुवै देशबीचको सम्बन्ध क्रमश: सुधारिँदै गएको छ। गत वर्ष दुवै पक्षले सीमा क्षेत्रमा गस्तीसम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए।
यस वर्ष अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि चीन भ्रमणमा गएका थिए र सोही महिनामा चीनका विदेशमन्त्री वाङ यी पनि भारत आएका थिए।
भारत सरकारका अनुसार उडान पुन: सञ्चालनले दुवै देशका नागरिकबीच प्रत्यक्ष सम्पर्क बढाउनेछ र ‘द्विपक्षीय सम्बन्धलाई बिस्तारै सामान्य बनाउन’ सहयोग गर्नेछ।