काठमाडौँ । नेपाल सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारद्वारा बिपत् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
गृह मन्त्रालयले असोज १८ गते सूचना जारी गरी वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, भूक्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी भोलि आइतबार र पर्सी सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय बिपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जनाउँदै हाल देशका विभिन्न भागमा वर्षासमेत भइरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।
