काठमाडौँ । प्यालेस्टाइनी विद्रोही समूह आफूसँग रहेको हमास इजरायली बन्धक मुक्त गर्न सहमत भएसँगै विपिन जोशी मुक्त हुने अनुमान गर्न थालिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाप्रति प्रतिक्रिया दिँदै हमासले आफ्नो नियन्त्रणमा रहेका सबै इजरायली बन्धक मुक्त गर्न सहमति प्रदान गरेको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबारसम्म २० बुँदे योजनालाई स्वीकार गर्न हमासलाई अल्टिमेटम दिएका थिए । शुक्रबार जवाफ पठाउँदै हमासले गाजापट्टीको प्रशासन प्यालेस्टाइनी प्रविधिज्ञलाई सुम्पन र सबै इजरायली बन्धक मुक्त गर्न सहमत भएको छ । मध्यस्थमार्फत शान्तिवार्तामा तत्काल प्रवेश गर्न हमास इच्छुक रहेको बताइएको छ ।
नेपाली युवा विपिनसहित ४७ जनालाई हमासले बन्धक बनाएको छ । त्यसमध्ये २० जना मात्रै सकुशल रहेको विश्वास गरिएको छ ।
ट्रम्पको घोषणालगत्तै इजरायली सेनाले गाजा अप्रेसनलाई न्यूनीकरण गर्न थालेको छ । इजरायलको सैनिक रेडियोका अनुसार त्यहाँको सरकारले गाजामा युद्ध रोक्न इजरायली सेनालाई आदेश दिएको छ ।
इजरायलले गाजामा घातक बमबारीबाट शुक्रबार गाजापट्टीभर कम्तीमा ७२ प्यालेस्टिनीको मृत्यु भएको थियो ।
अक्टोबर ७, २०२३ देखि इजरायलले गाजामा चलाएको युद्धमा कम्तीमा ६६ हजार दुई सय ८८ मानिसको मृत्यु भएको तथा एक लाख ६९ हजार एक सय ६५ जना घाइते भएका छन् ।
अक्टोबर ७ का दिन इजरायलमा भएको आक्रमणमा कुल एक हजार एक सय ३९ मानिसको मृत्यु भएको थियो र करिब २०० बन्धक बनाइएका थिए ।