• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मनोगत संवाद–१


  •   आइतबार, साउन १८, २०८२ मा प्रकाशित
  • (सन्दर्भः जलजला उपन्यास -२१)

    Advertisement

    – मोहनविक्रम सिंह##

    कामरेड जलजला उपन्यासको एउटा प्रमुख पक्ष यो हो कि, त्यहाँ विभिन्न पात्रहरूको मनोवैज्ञानिक चित्रणलाई विशेष रूपमा उल्लेख गरिएको छ । त्यो उपन्यासका बा़य घटनाहरूभन्दा आन्तरिक मनोवैज्ञानिक चित्रणको प्रमुखता छ भने पनि सायद फरक पर्ने छैन । त्यस सन्दर्भमा सर्वप्रथम र मुख्य रूपले तीनजना पात्रहरू आउँछन्, जस्तै कि का. अजित, का. जलजला र सुनन्दा, जो पछि का. भामा बन्दछिन् र का. जलजलामा रूपान्तरित हुन्छिन् । उनीहरू बाहेक उपन्यासका अर्का प्रमुख पात्र, जो खलनायक पनि हुन्,को मनोवैज्ञानिक चित्रणमा विशेष ध्यान दिइएको छ । उपन्यास कि एउटी अर्की प्रमुख पात्र विद्या रोका हुन् । उनको मानसिक उतारचढाव पनि उपन्यासमा सूक्ष्म प्रकारले चित्रण गरिएको छ । उपन्यासमा दिव्या जस्ती पात्रको पनि महत्वपूर्ण स्थान रहेको छ । उनको जुन मनोवैज्ञानिक चित्रण गरिएको छ, त्यसले पनि उपन्यासमा महत्वपूर्ण स्थान राख्दछ । त्यो बाहेक उपन्यासमा का. गढवाली, हर्के र उजेलीको मनोवैज्ञानिक चित्रणमा पनि उपन्यासले विशेष ध्यान दिएको छ । उपन्यासमा अरू कैयौँ पात्रहरूको मनोवैज्ञानिक चित्रणहरू गरिएको छ । उपन्यासको बा़य पक्ष बाहेक आन्तरिक रूपमा उनीहरूका मनमा उठ्ने विभिन्न प्रकारका विचार, चेतना, अनुभूति वा भावहरूलाई प्रस्तुत लेखमा मनोगत संवादको रूपमा व्याख्या गरिएको छ ।

    उपन्यासको एउटा प्रमुख पात्र का. अजित हुन् । तर उपन्यासको पहिलो परिच्छेद, ‘कौसानी’, अन्तिम परिच्छेद ‘थवाङ’ र ‘उपसंहार’मा बाहेक पूरै उपन्यासमा उनी कतै पनि प्रत्यक्ष रूपले देखा पर्दैनन्, कतिपय लेखकहरूमा मैले त्यही कुरा बताएको छु । तर, त्यो कुरा पनि सायद सही होइन । उपन्यासको पहिलो परिच्छेदमा पनि उनी प्रत्यक्ष रूपले देखा पर्दैनन् र उनको एउटा लेखको सन्दर्भमा नै उनको चर्चा गरिएको हुन्छ । त्यसरी उपन्यासको अन्तिम भागका एकदम पछिल्ला परिच्छेदहरूमा जलजला धुरी परिच्छेदमा उनी प्रथमपल्ट उपन्यासमा देखा पर्दछन् । यद्यपि उपन्यासलाई सम्पूर्ण रूपले पढ्ने हो भने पनि यो आभास हुने छ कि अप्रत्यक्ष रूपले उनी पूरै उपन्यासमा व्याप्त छन् । तैपनि अप्रत्यक्ष रूपमा नै सही, उपन्यासमा उनका विचार वा भावनाहरू धेरै ठाउँमा व्यक्त गरिएका छन् ।

    अजित जस्तै त होइन, तर जलजला पनि उपन्यासमा प्रत्यक्ष रूपले कमै देखा पर्दछिन् । उनी एकैपल्ट उपन्यासको पाँचौँ भागमा देखा पर्दछिन् । छैटौँ भागमा पनि उनी देखा पर्दछिन् र त्यही उनको निधन पनि हुन्छ ।

    मनोगत संवादका दृष्टिकोणले उपन्यासमा सबैभन्दा महत्वपूर्ण भूमिका सुनन्दाको नै रहेको छ । यो लेखका उनीहरू तीनै जना, अजित, जलजला र सुनन्दाका मनोभावनाहरू वा मनोगत संवादमाथि केही प्रकाश हाल्ने प्रयत्न गरिनेछ, यद्यपि त्यसपछि उपन्यासका अन्य पात्रहरूको मनोवैज्ञानिक पक्षबारे पनि चर्चा गर्ने प्रयत्न गरिनेछ ।

    उपन्यासको पहिलो परिच्छेद ‘कौसानी’मा अजितका विचारहरूको चर्चा गरिएको छ । तर त्यहाँ पनि उनको जुन चर्चा गरिएको छ, त्यसमा उनी प्रत्यक्ष रूपले देखापरेका हुँदैनन् । त्यहाँ उनको जे चर्चा गरिएको छ, त्यो उनले लेखेको एउटा लेख र उनीबारे सुनन्दा र विद्या रोकाका बिचमा भएको संवादको सन्दर्भमा नै चर्चा गरिएको छ । संसारका अन्य कुनै उपन्यासमा त्यस्तो सायद कतै भएको छैन वा कमै भएको होला, जहाँ उपन्यासको मुख्य नायक सम्पूर्ण उपन्यासमा गायब हुन्छ । तैपनि उपन्यासका विभिन्न प्रसङ्गहरूबाट उनका विचार वा मनोभावहरूबारे हामीलाई कैयौँ कुराको ज्ञान हुन्छ ।

    अजितले लेखेको “कामरेड जलजला” लेखमा सर्वप्रथमतः जलजला सम्बन्धी उनको अवधारणा र उनीप्रति–प्रत्यक्ष रूपले उनीसित भेट हुनु भन्दा धेरै पहिलेदेखि नै, करिब २ दशक भन्दा बढी समयदेखि नै, उनका मनमा दबेर रहेको जलजलाप्रतिको प्रेमको भावनाको उल्लेख गरिएको छ । उनले पहिलेदेखि नै यस्ती युवतिलाई प्रेम गर्ने विचार गर्दै आएका थिए, जो पार्टी र क्रान्तिप्रति सम्पूर्ण रूपले समर्पित होउन् । जब उनी थवाङ पुगेर जलजला धुरीलाई देखे, उनको मनमा एउटी क्रान्तिकारी युवतीप्रतिको प्रेमको भावनाले जलजलाप्रतिको प्रेमको रूपमा जन्म लियो । यद्यपि, त्यसको कुनै मूर्त रूप थिएन । उनले आफ्‌नो लेखमा त्यस प्रकारको एउटी अमूर्त युवतीप्रतिको प्रेमलाई उच्च क्रान्तिकारी र दार्शनिक रूपमा समेत विस्तृत रूपले वर्णन गरेका छन् ।

    उपन्यासमा लेखिएको छ : “पञ्चायती कालमा जिल्लाको पुनर्गठनपछि नै नयाँ रोल्पा जिल्ला बनेको थियो । तर म त्यहाँ पुग्दा पञ्चायती व्यवस्था अझै कायम भइसकेको थिएन । जिल्लाहरूको पुनर्गठन भइसकेको थिएन । अहिलेको रोल्पा जिल्ला पहिले प्युठानमा नै पर्दथ्यो । अहिलेको रोल्पालाई त्यो बेला काला शेष र गोरा शेष थुमहरूमा बाँडिएको थियो ।”

    “हामी त्यहाँ पुग्दा रात परिसकेको थियो । अँधेरी रातको बेला थियो । आसपासको कुनै दृश्य देखिँदैनथ्यो । बिहान मेरा आँखाका अगाडि चम्किरहेको एउटा धुरी थियो । म दङ्ग परेँ । मेरा अगाडि एउटा सिङ्गो पहाड उभिएको थियो ।”

    यो कुन पहाड हो ? मैले एक जना गाउँलेलाई सोधेँ ।

    ‘जलजला….’

    त्यो जलजला धुरी थियो ।

    मलाई त्यो नाम राम्रो लाग्यो । त्यो पहाडप्रति धेरै नै उत्सुकता जागेर आयो ।

    “मलाई त्यो पहाडबारे बढीभन्दा बढी जानकारी प्राप्त गर्न मन लाग्यो ।”

    उपन्यासमा अगाडि लेखिएको थियो : “सुरुमा मैले खालि जलजला धुरीको भव्य र सुन्दर दृश्यबारे मात्र सोच्ने गर्दथेँ । सुस्त सुस्त मैले जलजला धुरीको त्यस दृश्यलाई नारीको एउटा उदात्त रूपसित जोडेर हेर्न थालेँ ।”

    “जलजला धुरीको त्यो भव्य र सुन्दर दृश्य तथा नारीको उदत्त रूप–मेरा मनमा ती दुबै कुन दिन आपसमा मिल्न पुगे ? त्यो मलाई याद छैन । मलाई थाहा नभइकन त्यस कुराले कुन दिन अचेतन रूपमा मूर्त रूप लिन पुग्यो ? मलाई सम्झना छैन । तर एक दिन मलाई अनुभव भयो, ती दुबै एक आपसमा मिलेका थिए । ती दुबैका बिचमा तादात्म्य सम्बन्ध कायम हुन गएको थियो ।”

    “तर जसरी र जहिले भएको भए पनि अब ती दुबै एक अर्कासित अभिन्न रूपले जोडिन पुगेका थिए । अब मलाई ती दुबैका बिचमा अन्तर गरेर हेर्न मुस्किल हुन थाल्यो । अब ती दुबै एउटै र अभिन्न बनेका थिए – जलजला …. ।”

    “मेरा मनमा जलजला शब्द यस्ती एउटी नारीको प्रतीक बन्न पुग्यो, जसको ह्दयमा खालि नारीको वर्तमान अवस्था मात्र होइन, सम्पूर्ण सामाजिक व्यवस्थाका विरुद्ध प्रचण्ड विद्रोहको ज्वाला उठिरहेको हुन्छ । कहिल्यै ननिभ्ने अग्नि ज्वाला । वर्तमान संसारलाई नबदल्दासम्म कहिल्यै ननिभ्ने क्रान्तिको अमर ज्योति । त्यति मात्र होइन । वर्तमानबाट झन्‌पछि झन् उच्चता र विशाल रूप लिँदै गएको प्रकाश पुञ्ज ।”

    “अनि त्यसको आधारमा बन्दै गएको शान्त, सुन्दर, स्वतन्त्र र सुखी जीवनको भव्य चित्र ।”

    “मैले कैयौँ बेरसम्म भावविभोर र मुग्ध भएर त्यो संसार, अनि त्यसमा बनेको मानव जीवनलाई हेरिरहेँ । त्यसलाई आत्मसात् गर्ने प्रयत्न गरिरहेँ ….”

    “तर त्यो ता भविष्यको कुरा हो । म पुनः वर्तमानमा फर्कन्छु । मैले जलजलालाई पुनः एउटी नारीको रूपमा हेर्न खोज्दछु ।

    “यस्ती नारीको रूप, जसले सम्पूर्ण रूपमा आफूलाई क्रान्तिको वेदीमा होमेकी हुन्छिन् ।”

    “जलजला अब उनका लागि यस्ती विद्रोही नारीको मूर्त रूप बन्न पुगेकी थिइन्, जो सबै सामन्ती–पुँजीवादी धर्म, संस्कृति, परम्परा, प्रचलन, नैतिकता, रीतिरिवाज, अन्धविश्वास, संस्कार, बन्धन भन्दामाथि उठेकी थिइन् । जसलाई कुनै पनि प्रतिक्रियावादी सरकारको संविधान, कानुन, अदालत, जेल, सेना, प्रहरी र कडाभन्दा कडा सजायले–मृत्युसम्मको सजायले–आफ्‌ना उद्देश्य र निश्चयबाट डगाउन सक्दैनथ्यो । कुनै पनि आपत्, खतरा, आतङ्क वा आक्रमणले भयभीत पार्न सक्दैनथ्यो । जसले आजको समाजको भग्नावशेष वा खण्डहरहरूमा एउटा स्वतन्त्र सुखी, समृद्ध र सुन्दर जीवन निर्माणको सपना देखिरहन्छिन् । जुन सपनाले जस्तोसुकै कठिन र प्रतिकूल क्षणमा पनि, दुःख र कष्ट अपमानका बिचमा पनि उनलाई असीम आनन्द, आशा, उत्साह र विश्वासका साथ अगाडि बढ्ने प्रेरणा, शक्ति र ऊर्जा दिइरहेको हुन्थ्यो …”

    “उनका लागि जलजलाको अवधारणा एउटी यस्ती विद्रोही नारीको मूर्तरूप बन्न गएको थियो, जसको नैतिकता, चरित्र र मनोबल यति उच्चस्तरमा निर्माण भएको हुन्छ कि सारा संसारको धन दौलत, उच्चभन्दा उच्च पद, स्वर्गीय र सम्पन्न व्यक्तिगत तथा पारिवारिक जीवनले पनि पथ भ्रष्ट गर्न सक्दैनथ्यो । जसले विश्वभरमा युग युगदेखि चल्दै आएको, युग युगसम्म चलिरहने क्रान्तिकारी आन्दोलनसित आफूलाई पूरै एकाकार बनाएको हुन्छ । जसले त्यसको परिधिभन्दा बेग्लै आफ्‌ना लागि कुनै बेग्लै जीवन वा भविष्यको कल्पनासम्म गर्दैन ।”

    अजितको लेखमा जलजला सम्बन्धी त्यस प्रकारको अवधारणालाई प्लेटोको ‘सामान्य’ दार्शनिक मान्यतासित तुलना गर्दछन् । उनले यो कुरा मान्दछन् कि संसारका सबै मानिस, प्राणी वा पदार्थका मूल आकृतिहरू सामान्यका रूपमा दिव्य रूपमा नै रहेका हुन्छन् । तिनीहरूका आधारमा नै संसारका प्रतिरूपहरू बन्दछन् । उदाहरणका लागि घोडाको मूल आकृति दिव्यलोकमा रहेको हुन्छ । तर संसारमा त्यसका करोडौँ अरबौँ प्रतिरूपहरू बनेका हुन्छन् । सायद त्यही कुरा जलजलाबारे पनि सत्य थियो । उनले जलजलाबारे जुन धारणा बनाएका थिए, त्यो एउटा मूल आकृति वा, प्लेटोको शब्दमा, सामान्य नै थियो । संसारमा त्यसका लाखौँ प्रतिरूपहरू बन्न सक्दथे । युरोपका प्रसिद्ध दार्शनिक वर्कलेले संसारका सबै चिजहरूको अस्तित्वलाई सम्पूर्ण रूपले अस्वीकार गर्दथे । प्लेटोले संसारका चिजहरूलाई सम्पूर्ण रूपले निषेध गर्दैनथे र कमसेकम, नक्कलको रूपमा भए पनि उनीहरूको अस्तित्वलाई स्वीकार गर्दैनथे । तैपनि संसारका सबै चिजलाई नक्कलको रूपमा अवमूल्यन गर्ने सोंचाइसित अजित सहमत हुन सक्दैनथे । तर उनको ध्यान तुरुन्तै अरस्तु तिर गयो । उनले पनि सामान्यको अवधारणालाई स्वीकार गर्दथे । तर उनको सोंचाइ यो थियो कि त्यो सामान्यको सोंचाइ पदार्थमा नै समाविष्ट भएको हुन्छ । त्यो भनाइको अर्थ यो हुन्छ कि जलजला वर्कलेले भनेजस्तो सम्पूर्ण रूपले अस्तित्वहीन, प्लेटोले भनेजस्तो नक्कल मात्र थिइनन् र उनी वास्तविकतासित नै जोडिएकी थिइन् ।

    हेगेलले मूल तत्व विचारलाई नै मान्दछन् र त्यो विचार द्वन्द्वात्मक र निषेधको प्रक्रियाका बिचबाट हुँदै उच्च वा परम विचारमा पुग्ने कुरा बताएका छन् । अजितले विश्वको मूल तत्व विचार नै भएको कुरालाई स्वीकार नगरे पनि द्वन्द्वात्मक र निषेधको प्रक्रियाले विकासको कार्यक्रममा महत्वपूर्ण भूमिका खेल्ने कुरालाई स्वीकार गर्दछन् । यो कुरा महिलाहरूको चरित्र वा दृष्टिकोणको विकासमा पनि लागु हुन्छ । समाजमा वर्तमान पितृसत्तात्मक स्वरूपका कारणले महिलाहरू दास वा अर्धदासको अवस्थामा वा प्लेटोको अँधेरो गुफाका मानिसहरू जस्तै बनेका छन् । जसलाई प्रकाशमा आउने मौका मिले उनीहरू भागेर पुनः अँधेरोतिर नै दौडन्छन् । तर हेगेलको द्वन्द्वात्मक र निषेधको प्रक्रिया यस अर्थमा सही हुन्छ कि त्यसद्वारा उनीहरू दास मनोवृत्तिबाट मुक्त– हुँदैमाथि उठ्न सक्छन् र त्यसरी उनीहरू उदात्त नारी वा जलजला बन्न सक्दछन् । अजितको लेखमा नारीहरूको त्यस प्रकारको उज्वल भविष्यबारे आशा प्रकट गरिएको छ । नारीहरू सम्पूर्ण रूपले त्यो अवस्थामा पुग्नका लागि लामो रूपान्तरणको प्रक्रियाबाट जानुपर्ने आवश्यकता हुन सक्दछ । तर व्यक्तिगत रूपमा कैयौं नारीहरू उच्च चेतनाद्वारा छिटै पनि त्यो अवस्थामा पुग्न सक्दछन् ।

    अजितको त्यो लेखमा साङ्ख्य दर्शनको आधारमा पनि महिलाहरूको चरित्रमाथि प्रकाश हाल्ने वा व्याख्या गर्ने प्रयत्न गरिएको छ । त्यो दर्शनले दुईवटा तत्वहरूलाई मान्दछ : पुरुष र प्रकृति । पुरुष मूल रूपमा स्वच्छ, स्वतन्त्र र मुक्त पनि हुन्छ तर प्रकृतिको छाया परेपछि त्यो अशुद्ध हुन्छ । त्यसमा कैयौँ अपगुण वा विकृतिहरू पैदा हुन्छन्, तर ज्ञानको माध्यमद्वारा प्रकृतिबाट आत्मामा परेको कालो छायालाई हटाउँदै गएपछि पुरुष स्वतन्त्र वा मुक्त हुन सक्दछ । साङ्ख्य दर्शनले आत्मा अमर भएको कुरालाई बताउँछ । अजितले त्यस प्रकारको सोंचाइलाई त सही मान्दैनथे तर साङ्ख्य दर्शनले बताए जस्तै, महिलाहरू जन्मजात रूपमा स्वतन्त्र हुन्छन् । तर साङ्ख्य दर्शनले बताए जस्तै, प्रकृतिको कालो छाप परे जस्तै उनीहरूमा दासता, अज्ञानता वा आफूलाई हिन ठान्ने स्वभावको विकास हुँदै जान्छ र त्यो उनीहरूको चरित्रको मूल विशेषता पनि बन्न जान्छ । तर चेतनाको माध्यमद्वारा त्यो अज्ञानताबाट माथि उठेपछि उनीहरू पुनः रूपले स्वतन्त्र बन्न सक्दछन् । अर्का शब्दमा उनले परिकल्पना गरेजस्तो जलजला बन्न सक्दछन् ।

    अजितले आफ्‌नो लेखमा संसारमा जलजलाहरूको विशाल समूह तयार हुने र त्यसरी विश्वमा महान् क्रान्तिकारी परिवर्तन हुने सपना देख्दछन् ।

    त्यस प्रकारको पृष्ठभूमिमा नै उनको विद्या ढकालसित भेट हुन्छ । उनले कुनै पनि नयाँ उदयमान युवतीलाई देखेपछि यो कल्पना गर्न थाल्दथे : कि उनी जलजला ता होइनन् ? त्यसरी उनले सधैँ जलजलालाई खोज्ने प्रयत्न गर्दथे । जब बनारसमा उनको विद्या ढकालसित भेट हुन्छ, उनमा पनि जलजलालाई खोज्ने प्रयत्न गरेका थिए । उनले विद्यासित थवाङ गएर पार्टीको भूमिगत काम गर्ने प्रस्ताव राखेका थिए । निश्चय नै, त्यसरी भर्खर सहरबाट आएकी र पहाडका गाउँहरूको कुनै अनुभव नभएकी एउटी सामान्य युवतीलाई एउटा दुर्गम गाउँमा पञ्चायती कालमा दमन र त्रासको वातावरण भएको ठाउँमा पठाउनु सामान्य कुरा हुँदैनथ्यो । तर त्यो प्रस्तावलाई उनले प्रशंसापूर्वक स्वीकार गरेकी थिइन् । त्यो कुराको उल्लेख गर्दै उपन्यासमा लेखिएको छ : जलजलासित “हाम्रो भेट बनारसमा भयो । उनीसितको पहिलो भेटमा नै उनको कुराकानी, उनको मुखको भाव र व्यवहारमा मैले एक प्रकारको दृढ, शौर्य र कुनै पनि कठिनाइका विरुद्ध जुध्न सक्ने उच्च मनोबल प्रचुर मात्रामा भएको अनुभव गरेँ । मैले उनलाई कैयौँ प्रश्न गरेँ । उनका जबाफबाट म उत्साहित भएँ, त्यस बेलासम्म उनले पार्टीको पार्ट टाइमर कार्यकर्ता भएर काम गरेकी थिइन् । मैले उनीसित होलटाइमर भएर, पार्टीको पेसेवर कार्यकर्ता भएर काम गर्नका लागि प्रस्ताव राखेँ । उनले सहर्ष स्वीकार गरिन् ।

    “त्यसपछि उनको प्रश्न थियो : ‘होलटाइमर भएर अब मैले के गर्नुपर्दछ ? कहाँ जानुपर्दछ ?’

    “मैले केही बेरसम्म उनको मुखमा हेरिरहेँ ।’

    “म कहाँ जाऊँ ?’ प्रश्नले मेरा मनमा अकस्मात् एउटा कुरा खेल्यो । मैले मनमनै एउटा विचार गरेँ । उनका अगाडि एउटा प्रस्ताव राख्ने विचार गरेँ । मेरा मनमा द्विविधा थियो : के उनी त्यसका लागि तयार होलिन् ? तैपनि मैले उनका अगाडि आफ्‌नो विचार स्पष्ट शब्दमा राख्ने निश्चय गरेँ ।

    “म केही घोरिएको, केही अकमकाएजस्तो देखेर उनले भनिन् : ‘तपाईंले केही जबाफ दिनु भएन म कहाँ जाऊ“ ?’

    ‘थवाङ’ मैले भने ।

    ‘थवाङ ? मैले बुझिन । थवाङ भनेको के बुझौँ ? ठाउँको नाम हो ?’

    ‘थवाङ एउटा गाउँको नाम हो । तपाईं पार्टीको काम गर्न त्यहीँ जानुस् ।’

    ‘मलाई थवाङबारे केही पनि थाहा छैन तर म जहाँ पनि जान तयार छु ।’

    ‘त्यो गाउँ रोल्पामा पर्दछ ।’

    ‘ठिक छ । म त्यहाँ जान तयार छु । मैले त्यहाँ गएर के गर्नुपर्दछ ?’

    “मैले केही विश्वास र केही अविश्वासका साथ उनको मुखमा हेरिरहेँ ।”

    उनले बिना हिचकिचाहट उनको प्रस्ताव स्वीकार गरेको देखेर उनलाई आश्चर्य लाग्यो । केही अविश्वास पनि लाग्यो ।

    उपन्यासमा अगाडि लेखिएको छ : “अजितले उनलाई भने थवाङ जाने कुरालाई हल्का रूपमा नलिनोस् । त्यहाँ जाने निर्णय गर्नुभन्दा पहिले तपाईंले सबै कुरा थाहा पाउनुपर्दछ ।

    ‘अँ ।’ उनको सानो जबाफ थियो ।

    ‘थवाङ पुग्नलाई ४/५ दिन पैदल हिँड्नुपर्दछ । पहाडी बाटो कैयौँ उकाला ओराला, खोला र पहराहरूको बाटो । बाटामा राम्ररी खान पाइन्न । खुब पाइए जौंको आटो । थवाङमा पुगेपछि पनि खाने, बस्ने राम्रो व्यवस्था छैन । ’

    ‘अरू केही ?’

    यो देखेर अजितलाई खुसी लागेको थियो कि उनको कुरा सुनेर उनी अलिकति पनि आत्तिएकी थिइनन् । उनको मुखमा घबराहटको कुनै चिन्ह थिएन ।

    “त्यहाँ सङ्गठनको प्रारम्भिक आधार तयार पार्न तपाईं घटीमा पनि ६ महिना बस्नुपर्ने छ । त्यहाँ तपाईंले पूरै भूमिगत भएर काम गर्नुपर्ने छ । भूमिगतको अर्थ यो कि त्यहाँ पार्टीको काम गर्न आएको भनेर कसैलाई थाहा दिन हुने छैन । तपाईंले पूरा प्रयत्न गर्नुपर्ने छ कि पुलिस र कर्मचारीहरूलाई तपाईंका बारेमा केही थाहा हुन नपाओस् । तपाईं त्यहाँ पार्टीको काम गर्न गएको भनेर कसैलाई पनि थाहा नहोस् । तर, त्यो काम त्यति सजिलो छैन । एउटा ग्रामीण र पिछडिएको समाजमा बाहिरबाट कोही अपरिचित मानिस आयो भन्ने कुरा तुरुन्त सबैलाई थाहा हुन्छ । टाढा टाढासम्म हल्ला हुन्छ, त्यसमाथि एउटी महिला । कसैको नाता नपर्ने अपरिचित युवती ! किन आएकी हो ? के कामले आएकी हो ? सबैतिर उत्सुकता र शङ्का हुन सक्छ । तपाईंको गन्ध पाउने बित्तिकै पुलिस तपाईंका पछाडि पर्ने छन् । तपाईंलाई कुनै पनि बेला गिरफ्‌तार गर्न सक्छन् । यातना दिन सक्छन् । हत्या पनि गर्न सक्छन् ।”

    उनको सङ्क्षिप्त जबाफ थियो : “खतराहरूबाट म डराउन्न । मलाई कहिल्यै कुनै कुराको डर लाग्दैन ।”

    त्यसपछि उनी जलजला भइन्, कामरेड जलजला र उनी थवाङतिर लागिन् । त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको थियो : “उनलाई बिदा दिएपछि केही बेरसम्म मैले उनी गएको दिशातिर हेरिराखेँ । मैले मनमनै यो कामना गर्न थालेँ, थवाङबाट, जलजलाको काखबाट उनी साँच्चिकै जलजला बनेर फर्किउन् ।”

    त्यसपछि उपन्यासमा अजितको कुनै चर्चा आउन्न । दिल्लीमा जलजलाको मृत्यु भएपछि उनको दाह संस्कार गरेर उनी गोरखपुरतिर फर्कन्छन् । गोमती एक्सप्रेसबाट उत्रेपछि उनी राती लखनऊको रेलवे स्टेसनमा नै सुत्दछन् र त्यही बेला एउटा डायरी लेखेका हुन्छन् । पछि सुनन्दाले त्यो डायरी पाउँछिन् र पढ्दछिन् । जलजलाको मृत्यु पछि अजितको मनमा कुन प्रकारको अन्तद्र्वन्द्व चलेको थियो ? त्यो कुरा उपन्यासको “अलबिदा कामरेड जलजला” भन्ने परिच्छेदमा उल्लेख गरिएको छ ।

    सुनन्दाले अजितको त्यो डायरी पढ्न थालिन् । त्यसमा लेखिएको थियो : “मलाई यस्तो अनुभव भइरहेको छ, मेरो अगाडि आफ्‌नो व्यक्तिगत जीवनमा प्रतीक्षा गर्नका लागि कुनै कुरा बाँकी रहेको छैन । जलजलाको मृत्युपछि मेरो जीवन शून्य जस्तो भएको छ । शून्य ! महाशून्य !

    ……

    “मलाई लागिरहेको छ, मैले आफ्‌ना व्यक्तिगत जीवनका सबै सुख, प्रसन्नता, आशा र उमङ्गहरू यहाँ छाडेर जाँदै छु । दिल्लीमा विजय घाटमा, विजय शमशान घाटमा मैले आफूलाई रित्तिएको अनुभव गरिहेको छु । मलाई अनुभव भइरहेको छ, ती सबै कुराहरू मेरो जीवनबाट हराएर गइसकेका छन् । सायद सधैँका लागि ?”

    “मलाई चिच्याएर रुन मन लागिरहेको छ । त्यसरी रुन सके सायद मेरो दुःखको बोझ केही हल्का हुने थियो कि ? तर म रुन सकिरहेको छैन । मेरो आँसु बाहिर आउन सकिरहेका छैनन् । मेरा व्यथाको मूल फुटेर बाहिर आउन सकिरहेको छैन । त्यो भित्रभित्रै गुम्सिरहेको छ । त्यसकारण त्यो झन् बढी असह्य भएको छ ।”

    त्यो बेलाको अजितको मनको दुःख र पिडाको चर्चा गर्दै डायरीमा लेखिएको छ : “सबैतिर जीवन छ । जीवनको स्पन्दन र प्रफुल्लता । बाहिरतिर हरिया खेतहरू देखिन्छन् । हरिया बगैँचाहरू । तर ती सबै मबाट धेरै टाढा भए जस्तो लाग्छ । मैले आफूलाई सबैबाट टाढा कुनै टापुमा भए जस्तो अनुभव गरिरहेको छु । मृत्युको कुनै अँधेरो गुफामा ।”

    त्यो डायरीमा गाडी र जीवनको गतिको तुलना गर्दै लेखिएको थियो : “गाडीको चालमा गति छ । तर त्यो गतिको प्रकृति भौतिक छ । यसमा जीवनको प्रकाश छैन । जीवनको स्पन्दन छैन । त्यो कुरा सोंच्दासोंच्दै कुनै कुनै बेला मेरो मनमा अकस्मात् यो प्रश्न उठ्छ : मेरो जीवनको गति पनि अकस्मात् त्यस्तै त भएको छैन ? जीवनको स्पन्दन र प्रवाहबाट विहीन यन्त्र वत् । मलाई यस्तो अनुभव भइरहेको थियो, मेरो जीवनको गति अकस्मात् रोकिएको छ । कुनै कुनै बेला मलाई लाग्न थाल्छ, जलजलाको बसमा दुर्घटनाका साथै मेरो जीवनमा पनि कुनै बस दुर्घटना भएको छ ।”

    त्यो डायरीमा अगाडि लेखिएको थियो : मानिसहरूले मृत व्यक्तिहरूको दाह संस्कार गर्छन् तर त्यो दाह संस्कार वास्तवमा मृतक व्यक्तिको भन्दा जीवित व्यक्तिको नै हुन्छ । मृत व्यक्तिले मृत्यु पछि कुनै दुःख वा पिडाको अनुभूति गर्दैनन् तर जीवित मान्छेहरूले लामो समयसम्म त्यसको पिडा भोगिरहनु पर्दछ ।

    त्यो डायरी पछि अजितका मनको भावना वा अन्तद्र्वन्द्वबारे हामीलाई उनी केरलाा छदा जलजला र उनका बिचमा भएको पत्रहरूबाट नै थाहा हुन्छ, ती पत्रहरू जलजला जीवित छदा नै लेखिएका थिए तर सुनन्दाले ती पत्रहरू जलजलाको मृत्यु पछि नै दिल्लीमा पढ्न पाउँछिन् । ती पत्रहरूमा जलजलासितको उनको प्रेम र त्यस सिलसिलामा उनले भोग्नु परेको दुःख र कष्ट तथा मानसिक द्वन्द्वबारे धेरै कुरा थाहा हुन्छ ।

    केरला पुग्नुभन्दा पहिले अजित गङ्गा कावेरी एक्सप्रेसद्वारा मद्रास (अहिलेको चेन्नई) पुगेका थिए । चेन्नई पुग्ने बित्तिकै पुलिसले उनलाई गिरफ्‌तार गरेका थिए र अर्कोदिन उनलाई मद्रास सेन्ट्रल जेलमा हालिएको थियो । पछि डिस्ट्रिक्ट मजेष्ट्रटद्वारा उनलाई छाडिएको थियो र जुन होटेलबाट उनलाई गिरफ्‌तार गरिएको थियो, त्यही होटेलमा लगेर उनलाई छाडिएको थियो । उनलाई के आरोपमा गिरफ्‌तार गरिएको थियो ? त्यो कुरा उनी गिरफ्‌तार हुँदा वा उनलाई छाड्दा पनि बताइएको थिएन । जेलबाट मुक्त हुने बित्तिकै उनले जलजलालाई एउटा पत्र पठाएका थिए । त्यो पत्रको एउटा अंश यस प्रकार थियो : “२०२७ सालमा जेलबाट छुट्दा अत्यन्तै सुनो लागेको थियो । ९–१० वर्षपछि जेलबाट छुट्दा पनि अत्यन्त नरमाइलो लागेको थियो । आमा र बुबाको मृत्यु भइसकेको थियो । त्यो बेला मलाई लागेको थियो : म एक्लो छु । तर यसपल्ट जेलबाट छुट्दा (यद्यपि १५ दिन मात्रको जेल) म कति उत्साहित थिएँ । मलाई लागिरहेको थियो, आज मलाई माया गर्ने कोही छ । यस भावनाले मलाई कति सन्तोष र प्रसन्नता दिइरहेको थियो । जेलबाट आएर म बिस्तारामा एक्लै पल्टेँ । म देश र साथीहरूबाट कति टाढा छु ? तर मलाई लागिरहेको थियो, तिमी मेरा नजिकै छौ । मलाई माया गरिरहेकी छौ । मलाई तिम्रो मायामाथि विश्वास छ । त्यो माया र विश्वासले मलाई धेरै बल र आधार दिन्छ– म सबैबाट यति टाढा र एक्लै भएर पनि मैले आफूलाई एक्लो ठान्दिन । मैले जुन बेला पनि तिमीलाई आफ्‌नो नजिक पाइरहेको हुन्छु ।”

    त्यो पत्रले मद्रास जेलबाट छुट्दाको उनको मनोभावलाई बताउँछ । तर उनलाई धेरै दिन मद्रासमा बस्न मन लागेन र उनी केरलाातिर लागे । उनी मद्रासबाट सिधै केरलाा गएनन् । उनले आफ्‌ना सबै सामान बुक गरेर त्रिवेन्द्रम पठाइदिए र उनी एउटा सानो झोला मात्र लिएर बेङ्गलोर, मैसुर, भास्कोडिगामा, एरनाकुलम हुँदै त्रिवेन्द्रमतर्फ लागेका थिए । उनले आफ्‌नो त्यो यात्राबारे लेखेका पत्रहरूमा त्यो यात्राको अनुभव र अनुभूतिहरूबारे चर्चा गरेका थिए । कोट्यामबाट मोटर बोटको यात्रा गर्दै उनी अलपी पुगेका थिए । मोटर बोटको त्यो यात्राको चर्चा गर्दै उनले जलजलालाई पठाएको आफ्‌नो पत्रमा लेखेका थिए : “अत्यन्त रमणीय यात्रा छ । सानो नहरका बिचबाट मोटर बोट दगुर्दै छ । दुबैतिर हरिया जङ्गल, पानीका रह, नरिवलका झाडीहरू छन् । केरलााको यात्रामा कोट्टायमबाट अलपीसम्मको नाउ यात्राको ठुलो विशेषता छ । तिमी मेरा नजिक भएको भए कति सुखद हुन्थ्यो यो यात्रा ? तिमीलाई पत्र लेख्दै त्यो कमी पूरा गर्ने प्रयत्न गर्दैछु ।…. अलपी आइपुग्ने बेलामा ठुलो तलाउ छ– तलाउका किनारमा केही नरिवलका रुखहरू र टाढासम्म घना जङ्गल, टाढाबाट ती केका रुखहरू हुन् ? चिन्न सकिरहेको छैन ।” त्यो यात्राको चर्चा गर्दै उपन्यासमा लेखिएको छ : “डुङ्गामा भन्दा मोटर बोटको यात्रा धेरै आनन्दको हुन्छ । त्यसमा वेग हुन्छ, स्फूर्ति हुन्छ । दाया“बायाँ उठिरहेका छालहरूमा जीवनको सन्देश छ । गतिमा जीवन छ । प्रवाह जीवन हो, गत्यावरोध मृत्यु । वर्षामा उर्लिरहेका खोलाहरू हेर्दा मलाई आनन्द लाग्थ्यो । केरलामा त उर्लिरहेका समुद्रका छालहरू हेर्न पाइन्छ । तर त्यसमा र यसमा धेरै फरक छ । पर्ख, नआत्तिऊ तिमीले र मैलेसँगै समुद्रका छालहरू हेर्ने हो । वास्तविक जीवनमा त तीभन्दा कडा जीवनका लहरहरूका बिचमा दौडनु परिरहेको छ । हिम्मत नहार्नु ।”

    जलजलाले अजितलाई लेखेका पत्रहरूमा पनि प्रकृतिको सुन्दर चित्रण गरिएको थियो । एउटा पत्रमा उनले लेखेकी थिइन् : “आजभोलि यहाँ गङ्गाजी बढेकी छन् । सानोतिनो छाल आइरहन्छ । मेरो डेराको छतबाट गङ्गाजी परपरसम्म देखिन्छ । गङ्गाजीलाई हेर्दाहेर्दै भावुक हुन्छु । बिहानभन्दा बेलुका ज्यादा भावुक हुन्छु । बेलुका राजघाटको पुलका बत्ती गङ्गाजीमा वर म भएको ठाउँसम्म चम्किरहन्छन् । सरयूका बत्तीहरू पनि यस्तै लाग्छ । अनि त्यसमा हेर्दाहेर्दै सरयूमा हामी दुबै मिलेर बसेको सम्झन्छु । त्यतिबेला भएका कुरा सम्झन्छु । लाग्छ तपाईं मेरो नजिकै हुनुहुन्छ । तपाईंको खुट्टाले गङ्गाजीको पानी छ्यापछ्याप गरेर चलाइरहेछन् ।”

    अजित केरलामा पुगेपछि उनी र जलजलाका बिचमा लगातार पत्र व्यवहारहरू भइरहन्थे । ती पत्रहरूबाट दुबैजनाले सामना गर्नु परिरहेको गम्भीर प्रकारको आर्थिक स्थितिबारे थाहा हुन्थ्यो । केरलामा अजितले एउटा गोठमा काम खोज्ने प्रयत्न गरेका थिए । तर त्यो ठाउँ त्रिवेन्द्रमबाट धेरै टाढा पर्ने भएको हुनाले त्यहाँबाट सहरमा आएर अध्ययनको काम गर्न सम्भव हुँदैनथ्यो । त्यसैले उनले त्यहाँ नोकरी गर्नु स्वीकार गरेका थिएनन् । एउटा खुला मैदानमा त्यहाँका सामानहरू रेखदेखका लागि एक हप्ताका लागि रातिको नोकरी प्राप्त भएको थियो र त्यसबाट उनलाई ८० रुपैयाँ प्राप्त भएको थियो । एक ठाउँमा राति नयाँ बन्न थालेको घरमा सामान कुर्नका लागि नोकरी प्राप्त भएको थियो । तर त्यही बेला एमएको परीक्षा दिन आगरा जानु परेकाले उनले त्यो नोकरी बिचैमा छाड्नु परेको थियो र महिना पूरा नभएको हुनाले उनले त्यो कामको लागि कुनै पैसा पाएका थिएनन् । जलजलालाई पनि बनारसमा धेरै नै दुःख र अभावको सामना गर्नुपरेको थियो । उनी टन्सिलकी बिरामी थिइन् । उनलाई त्यसको लागि औषधी जुटाउन पनि मुस्किल पर्दथ्यो । अजितले उनलाई जसरी पनि बिएको परीक्षा दिन भनेका थिए । त्यसकारण उनी बनारस छाडेर कतै जान पनि सक्दिनथिन् । कतै जाने ठाउँ पनि थिएन । पार्टीले उनलाई कारबाही गरेको हुनाले नेपालभित्र जाँदा उनलाई पार्टीका साथीहरूको सहयोग मिल्ने सम्भावना पनि थिएन । उनको विचार ग्वालियरमा आफ्‌नो मावल जाने थियो । पहिले कहिल्यै पनि नगएको ठाउँ त्यहाँ जाँदा केटी मान्छे किन आएको भनेर मावलीहरूले उनलाई हेला वा अपमान गर्न सक्दथे । तैपनि परीक्षा सकिएपछि उनी ग्वालियर गएकी थिइन् । दुबै जनाका पत्रहरूमा यस प्रकारका धेरै विवरण वा उनीहरूका मनका दुःख र पीडाहरू पोखिएका थिए । तर उनीहरूले त्यस प्रकारको अवस्थामामा पनि एकअर्कालाई सके जति मद्दत गर्ने प्रयत्न गर्दथे र आपसको दुःख र अभावलाई बाँडेर बाँच्ने प्रयत्न गरेका थिए । तर ती दुबै जनाका पत्रहरूबाट थाहा हुन्थ्यो, त्यस प्रकारको परिस्थितिमा पनि उनीहरू दुबैजनाको एकअर्काप्रतिको प्रेम र पार्टी र क्रान्तिप्रतिको प्रतिबद्धतामा कुनै कमी आएको थिएन ।

    उपन्यासमा लेखिएको थियो : “बाहिर कैयौँ प्रकारका हल्लाहरू चलिरहन्थे । त्यस प्रकारका हल्लाहरूमा कुनै बेला अजितलाई मार्ने र कुनै बेला जलजलालाई समाप्त गर्ने हल्लाहरू पनि चल्थे । खास गरेर अजितबारे चल्ने त्यस प्रकारका हल्लाहरूबाट उनी बढी आतङ्कित र चिन्तित हुन्थिन् ।”

    उपन्यासमा लेखिएको थियो : “अजितले आफ्‌ना पत्रहरूमा लगातार यस कुरामा जोड दिइरहन्थे : उनका मनमा कुनै पनि साथीहरूप्रति नराम्रो भावना थिएन । जबसम्म ती साथीहरू इमानदार क्रान्तिकारी रहिरहन्छन्, जुन साथीहरूले कैयौँ कष्ट र खतरा उठाएर कार्यक्षेत्रमा काम गरिरहेका छन् उनीहरूप्रति उनका मनमा सधैँ आत्मीयता स्नेह र आदरको भावना थियो ।”

    उपन्यासमा लेखिएको छ : “अजितले यो कुरा लेखेका थिए : “समाजमा माया भन्दामाथि पैसा हुन्छ । मायालाई पैसाले तौलिने गरिन्छ ।” त्यस सिलसिलामा उनले यो पनि लेखेका थिए, त्यसबारे उनका धेरै तिता अनुभव थिए । त्यस्ता तिता अनुभवका बिचमा उनले जलजलालाई पाएका थिए । त्यसैले उनको (जलजलाको) मायालाई उनले उच्च, पवित्र र सच्चा ठान्थे । त्यसबाट उनलाई धेरै नै सुख, आनन्द र तृप्ति प्राप्त भएको थियो । त्यसबाट जलजलाले उनलाई वञ्चित गरेमा त्यसले उनलाई ठुलो चोट पुर्‍याउने छ । तर उनले (अजितले) त्यस्तो सोच्दैनथे । त्यो उनको एउटा तर्कना मात्र थियो भन्ने कुरा उनले आफ्‌नो पत्रमा स्पष्ट गरेका थिए ।”

    एउटा पत्रमा अजितले लेखेका थिए : “एउटा पत्रमा उनले लेखेका थिए : “आजको सारा बदनामी अपमान र तिरस्कारका बिचबाट मैले पुनः एउटा गौरवपूर्ण जीवनको निर्माण गर्ने प्रयत्न गर्ने छु । आजका सबै कुराहरूका बाबजुद मेरो आत्मा टुटेको छैन । मेरो क्रान्तिकारी भावना मरेको छैन । त्यसैले मैले आफूलाई मरेको ठान्दिनँ । म अझै ज्यूँदैछु । त्यो मैले प्रमाणित गर्ने छु । मैले देखाउने छु । म गद्दार होइन । मैले पार्टी र क्रान्तिको बाटो छोडेको छैन र कहिल्यै छोड्ने छैन । त्यो मेरो सास हो । मेरो प्राण हो । त्यसको अभावमा म बाँच्न सक्दिन ।” त्यो पत्रमा अगाडि लेखिएको थियो : “म देश, पार्टीका साथीहरू र कार्यक्षेत्रबाट जति टाढा रहे पनि त्यो बाहेक अन्य कुनै कुरा मैले सोच्दैन । त्यो बाहेक मेरो अन्य कुनै कार्यक्रम, योजना वा उद्देश्य छैन । तर मैले आज कसैलाई त्यसमा विश्वास दिलाउन आवश्यक पनि ठान्दिन तर तिमीले मलाई विश्वास गर्छेऊ होइन र ? त्यै मेरो ठुलो सम्पत्ति हो– प्रेरणाको स्रोत । तिम्रो म माथिको प्रेम पनि म माथिको त्यही विश्वासमा अडेको छ– मेरो क्रान्तिकारी भावनाको विश्वासमाथि । त्यसैले तिम्रो मायालाई मैले शुद्ध ठान्छु, पवित्र ठान्छु । आदर गर्दछु । अरूले तिम्रो मायालाई कामुकता ठान्छन्, मैले ठान्दिन । मैले तिम्रो आँसु देखेको छु । तिम्रो दिलको धड्कन सुनेको छु । तिम्रो मुखको भाषा पढेको छु । त्यसैले मैले तिमीलाई राम्ररी चिनेको छु जस्तो लाग्छ । मैले धोका खाएको छैन भन्ने विश्वास छ ।”

    जलजलाले सुनन्दालाई आफ्‌ना कैयौँ संस्मरणहरू सुनाएकी थिइन् । तिनीहरूमध्ये एउटा संस्मरण उनी र अजित सँगसँगै बढनीबाट भारतीय सीमा पार गरेर जगदीशपुर, शिवपुर, प्युठान दोबाटो र असुरकोट हुँदै प्युठान गएको संस्मरण पनि थियो । त्यो बाटोमा जाँदाजाँदै एउटा पोखरीमा पौडी खेल्न गएको बेलामा अजित भुमरीमा पर्दछन् र एउटा कुमाल दाइले आएर उनलाई जोगाउँछन् र उनी बेहोस भएका हुन्छन् । त्यो बेला कुमालले जलजलालाई सोध्दछन् : ‘उहाँ तपाईंको को हुनुहुन्छ ?’ जलजला केही अक्मकिन्छिन् तर उनले भन्दछन् : ‘मेरो श्रीमान् ।’ त्यो बेला अजित होसमा आइसकेका हुन्छन् । जलजलाले उनलाई प्रथमपल्ट श्रीमान् बताएकी थिइन् । त्यो सुनेर उनी (अजित) धेरै नै भावुक हुन्छन् । उनले सधैँ जलजलालाई आफ्‌नी श्रीमती नै ठान्दथे । तर एकजना बाहिरको मान्छेको अगाडि जलजलाले उनलाई श्रीमान् बताएको देखेर उनी अत्यन्त खुसी भएका थिए । त्यो बेला उनलाई लागेको थियो, उनीहरू दुबै जनाको साँच्चिकै विवाह भएको थियो । उनीहरू दुबै जना सँगसँगै प्युठान गए उनीहरूले त्यहाँ पार्टीका कैयौँ कार्यक्रमहरूमा भाग लिए । त्यसपछि पार्टीका अन्यत्रका कतिपय कार्यक्रमका सिलसिलामा अजित त्यहाँबाट हिँडेका थिए र जलजला प्युठानको पार्टीको काममा नै लागेकी थिइन् ।

    सुनन्दाले जलजलाले दिएको कागजपत्रमा एउटा कविता फेलापारेकी थिइन् । त्यसमा लेखकको नाम पनि थिएन र शीर्षक पनि थिएन । तर त्यसलाई पढ्दा उनलाई त्यो कविता अजितसित सम्बन्धित भएजस्तो लागेको थियो । त्यो कवितामा पार्टीबाट निष्कासित भएर दक्षिणभारततिर जाँदा उनका मनका भावनाहरू व्यक्त भएजस्तो उनलाई लागेको थियो । त्यसैले त्यो कविताको शीर्षक उनले आफैले निष्कासित भनेर राखिदिएकी थिइन् ।

    त्यो कविताको सुरुमा नै आफ्‌नो देश, आफ्‌ना साथीहरू र संसारभरि फहराइरहेको हँसिया र हथौडा अङ्कित रातो झण्डालाई लाल सलाम र क्रान्तिकारी अभिनन्दन प्रकट गरिएको थियो ।

    त्यो कवितामा यो पनि लेखिएको थियो : उनले धरतीमा हराएको कुनै चिजलाई सुदूर आकाशमा खोज्ने प्रयत्न गर्दै थिए । अतीतमा हराएको कुनै कडीलाई भविष्यसित जोड्न प्रयत्न गर्दै थिए । जीवनका टुटेका सबै सूत्रहरूलाई क्रान्तिको कडीसित उन्ने प्रयत्न गर्दै थिए । यो स्पष्ट थियो त्यो उनको धरतीमा हराएको चिज, अतीतमा हराएको कडी र जीवनमा टुटेको सूत्र भनेको जलजला नै थिइन् । त्यसरी उनी आफ्‌नो पार्टी र साथीहरूबाट धेरै टाढा जाँदै थिए । तर उनले जलजलालाई आफूबाट टाढा गराएका थिएनन् र धर्तीमा उनीबाट अलग हुनुपरे पनि उनले सुदूर अन्तरिक्ष र भविष्यमा वा क्रान्तिको मैदानमा उनीसित भेट हुने कुरा सोंच्दै थिए ।

    त्यो कवितामा लेखिएको थियो, गङ्गा कावेरी एक्सप्रेसको गन्तव्य मद्रास थियो । त्यहाँबाट त्यो गाडी पुनः बनारस फर्कने छ । तर उनको गन्तव्य कहाँ थियो ? उनी फेरि कहिल्यै फर्कने छन् वा छैनन् ? त्यो बेला उनलाई यो कुरा पनि थाहा भएन : पार्टी र क्रान्तिसित उनको पुनः सम्बन्ध हुने छ वा छैन ? तर सम्भवतः त्यो कुराको जबाफ भविष्यको उल्टो गतिमा अन्तर्निहित थियो ।

    त्यो कवितामा यो कुराको उल्लेख गरिएको थियो : सम्पूर्ण विश्व, प्रकृति वा मानव समाज भविष्यको दिशामा अगाडि बढ्दै थिए । तर स्वयं भविष्य अतीततिर उन्मुख थियो । भविष्यको त्यो विपरीत प्रकारको गतिमा नै उनी पार्टी र क्रान्तिबाट टाढा जाँदैछन् वा नजिक आउने छन् ? त्यो कुराको निर्णय हुन्थ्यो र हुन सक्दथ्यो । तर त्यो कुरा जे भएपनि उनलाई दृढ विश्वास थियो, उनी कहिल्यै पनि पार्टी र क्रान्तिबाट टाढा जाने छैनन् ।

    त्यो कुराको चर्चा गर्दै उपन्यासमा लेखिएको थियो : “सामान्य र उपरि प्रकारले हेर्दा अजितको यात्रा वा भविष्य अनिश्चित थियो । तर स्वयं कविलाई त्यस्तो लागिरहेको थिएन । उनले आफ्‌नो भविष्यलाई आफ्‌ना अगाडि उभिएको देखिरहेका थिए । उनका सङ्कल्प र दृढ निश्चयहरूका मजबुत किल्लाहरूभित्र उनको भविष्य सुरक्षित थियो । उनका सङ्कल्प र निश्चय टुटेमा नै उनको भविष्य पनि भत्किन सक्थ्यो । तर त्यस्तो उनलाई अलिकति पनि शङ्का थिएन । उनको भविष्यलाई उनले पुस्तकका खुला पृष्ठहरू झैँ पढ्न सकिरहेका थिए ।

    उनले आफ्‌ना कविताहरूमा दृढ शब्दमा यो पनि स्पष्ट गरेका थिए, उनले आफ्‌नो देश, पार्टी र साथीहरूका बिचमा तथा संसारभरि फहराइरहेको रातो झण्डाका बिचमा कुनै दूरी देखिरहेका थिएनन् । त्यसमा न समयको, न स्थानको, न देशको, न कालको नै कुनै दूरी थियो । त्यो शाश्वत सम्बन्ध थियो । त्यो सम्बन्ध देश, काल र परिस्थिति भन्दामाथि उठेको निरपेक्ष सम्बन्ध थियो ।

    “त्यसमा यो पनि लेखिएको थियो : “त्यो जीवन र मृत्यु, संविधान र कानुन, जेल र गोली, अनुशासन र नियम आदि सबैभन्दा माथिको चीर सम्बन्ध थियो । त्यसकारण त्यो कहिल्यै पनि टुट्न सक्दैनथ्यो । घटना, प्रवाह र प्रलयहरूका वेगहरूले पनि उनलाई पार्टी र क्रान्तिबाट टाढा लैजान सक्दैनथे ।”

    त्यो कविताका तलका पङ्क्तिहरूले त्यो बेलाको अर्थात्, पार्टीको सदस्यताबाट निष्कासित भएर गएको बेलामा पनि उनको मनमा देखा परेको दृढ सङ्कल्पका भावनाहरूलाई व्यक्त गर्दथ्यो ।

    पार्टी र क्रान्ति
    क्रान्ति र पार्टी
    मेरो जीवनका दुई वटा सीमा हुन्‌
    तर स्वयं पार्टीको कुनै सीमा हुन्न
    यो कुनै देशको सीमामा बाँधिएको हुन्न
    त्यो विश्वव्यापी हुन्छ,
    क्रान्तिको कुनै साँध हुन्न
    त्यो अतीतदेखि
    भविष्यसम्म फैलिएको हुन्छ
    संसारभरिका क्रान्तिकारी सङ्घर्षहरू
    एउटै विश्व क्रान्तिका कडीहरू हुन
    एउटै वर्ग सङ्घर्षका सिलसिला
    महान् फ्रेन्च क्रान्ति र पेरिस कम्युन
    अक्टोबर क्रान्ति र लामो अभियान
    मलाया र बर्माका छापामार युद्धहरू
    प्यालेस्टाइनको महान् मुक्ति सङ्ग्राम
    अनि महान् सर्वहारा सांस्कृतिक क्रान्ति
    एउटै प्रवाहका अविछिन्न धाराहरू ।

    जलजला धुरीमा अकस्मात् अजितको भेट सुनन्दासित हुन्छ उनी हिउँका बिचमा एक्लै बसिरहेका हुन्छन् । त्यही बेला दुईजना महिलाहरू अकस्मात् अगाडि आइपुग्दछन् र एउटीले ‘का. अजित’ भन्दै उनलाई अङ्गालो हाल्दछिन् । त्यसपछि अजितले पनि उनलाई अङ्गालो हाल्दै भनेका थिए : “का. भामा, तिमी यहाँ ?”

    सुनन्दालाई अकस्मात् देख्दा र उनलाई अङ्गालो हाल्दा उनले उनलाई ‘तिमी’ भनेका थिए । तर पछि कुराकानीमा उनलाई ‘तपाईं’ भनेर सम्बोधन गरेका थिए । सुनन्दालाई यो बुझ्‌न अप्ठ्यारो परेन कि उनको पहिलो सम्बोधन उनको आफ्‌नो मतको उद्वेग थियो । पछिको सम्बोधन शिष्टाचार वा औपचारिकता । सुनन्दा मनमनै यो सोचेर खुसी भइन् कि अजितले पनि वास्तवमा उनलाई प्रेम नै गर्दथे ।

    सुनन्दाले मनमनै यो पनि सोचिन्, जलजलाधुरीको जलजलासित सम्बन्ध भएको हुनाले नै उनी जलजलाधुरीतिर आएकी थिइन् भने– उनलाई यो बुझ्‌न अप्ठ्यारो परेन– त्यही प्रकारको मनोभावले गर्दा नै अजित पनि पहिले थवाङ नगएर जलजलाधुरीमा आएका थिए । अजितले उनलाई बताएका थिए, उनी बनारसबाट गोरखपुर र त्यहाँबाट खगुलालसितसँगै प्युठानतिर पछि उनी थवाङतिर आएको थाहा पाएर उनी पनि थवाङतिर आएका थिए । अजित त्यसरी आफूलाई खोज्दै आएको थाहा पाएर उनीप्रतिको प्रेम पनि धेरै बढेर गएको थियो ।

    त्यस सिलसिलामा उपन्यासमा लेखिएको थियो : ‘अजितले आफ्‌नो अगाडि बसेकी सुनन्दालाई हेरिराखे । अनि माथि आकाशतिर हेर्न थाले । सायद त्यो शून्य आकाशमा उनले जलजलालाई खोज्दै थिए । सायद कुरा त्यति मात्र थिएन । उनले आफ्‌ना अगाडि उभिएकी सुनन्दामा कताकता जलजलाको प्रतिबिम्बलाई हेर्ने प्रयत्न गर्दै थिए …… ।’

    उपन्यासमा लेखिएको थियो : “आकाश हेर्दाहेर्दै सुनन्दालाई यस्तो अनुभूति भयो, आकाशमा उनका भावनाले बौद्ध चित्रमा जस्तै एउटा आकार लिँदै गइरहेको थियो र ती सबैका बिचबाट एउटा चित्र देखापर्दै गइरहेको थियो । त्यहाँ जलजलाको एउटा भव्य चित्र बन्दै गइरहेको थियो । त्यस चित्रमा सम्पूर्ण विश्वविलीन हुन लागेजस्तो र जलजला सम्पूर्ण विश्वमा समाविष्ट हुन थालेजस्तो देखिन्थ्यो । त्यसमा भूकम्पको कम्पन थियो । तुफानको वेग । समुद्रका ज्वारभाटाको प्रवाह, क्रान्तिको विस्फोट । सुनन्दालाई ती सबै कुरा जलजलाको चित्रमा समाहित भएका र जलजला ती सबैमा समाविष्ट भएजस्तो लाग्यो …. ।

    सुनन्दाले एकटक लगाएर धेरै बेरसम्म आकाशमा हेरिरहेकी थिइन् । उनले के हेरिरहेकी थिइन् त्यसरी आकाशमा ? अजितलाई आश्चर्य लागेर आयो । आकाशमा हेर्दा उनको चेहरामा पनि कैयौँ भाव बन्दै र बिग्रँदै गइरहेका थिए । त्यस प्रकारका भावका बिचमा उनको (सुनन्दाको) चेहरा एक प्रकारले जलजलाको जस्तो देखिन थालेको थियो । अजितले उनको ध्यान भङ्ग गर्न उचित ठानेनन् र उनले पनि एकटक लगाएर सुनन्दाको चेहरामा हेर्न थाले ।

    केही बेरपछि सुनन्दाले आकाशबाट उनका आँखा हटाइन् । अहिलेसम्म उनलाई (सुनन्दालाई) आफ्‌नो आसपासको कुनै चिजहरूको ज्ञान थिएन । यो कुराप्रति पनि उनको ध्यान गएको थिएन कि उनी जलजला धुरीमा थिइन् र अगाडि अजित, खगुलाल र उमा थिए ।

    आकाशबाट ध्यान हटेपछि उनले पाइन्, अजितले एकटक लगाएर उनको चेहरामा हेरिरहेका थिए । दुबै जनाका आँखा जुधे । दुबैले एकअर्कासित कैयौँ प्रश्नहरू गरे जस्तो वा एकअर्कासित कैयौँ प्रश्नहरूको जबाफ खोजेजस्तो देखिन्थ्यो । उनीहरूले के प्रश्नहरू गरिरहेका थिए ? एकअर्कोसित के जबाफ खोजिरहेका थिए ? त्यो कुरा उनीहरूलाई पनि थाहा थिएन होला ।”

    उनीहरू जलजला धुरीबाट थवाङ जानका लागि हिँड्न मात्र खोजेका थिए, त्यही बेला अकस्मात् हतियार सहितका पुलिसहरूको एउटा टोलीले आएर उनीहरूलाई घेरा हाल्यो र अजितलाई गिरफ्‌तार गर्न खोज्यो । तर सुनन्दाले, जसलाई कराँतेको धेरै राम्रो ज्ञान थियो, उनीहरूका हतियार खोसेर उनीहरूलाई त्यहाँबाट भागेर जान बाध्य पारिन् । उनका लागि अजित जलजलाको नासो थिए र उनले जसरी पनि उनलाई बचाउन चाहन्थिन् र उनी आफ्‌नो त्यो उद्देश्यमा सफल भएकी थिइन् । आफ्‌नो त्यो सफलताबाट उनी धेरै प्रसन्न भएकी थिइन् । उनलाई सबैभन्दा बढी खुसी यो कुराका लागि लागेको थियो कि उनले जलजलाको नासोको रक्षा गरेकी थिइन् । त्यो बेला उनले आकाशतिर फर्केर धेरै बेरसम्म हेरिरहिन् । त्यसरी सायद उनले जलजलालाई यो सन्देश दिँदै थिइन्, “जलजला दिदी, मैले तपाईंको नासोलाई सधैँ बचाएर राख्ने छु । मैले आफ्‌नो प्राण दिएर पनि तपाईंको अजितको रक्षा गर्ने छु । तपाईंले देखाएको बाटोमा म सधैँ अगाडि बढिरहने छु । तपाईंले मेरा हातमा जुन मसाल दिनुभएको छ, मैले त्यसलाई सधैँ प्रज्वलित राख्न सङ्घर्ष गरिरहने छु । त्यसका लागि सम्पूर्ण रूपले आफूलाई बलिदान दिनु परेपनि म सधैँ तयार रहने छु ।”

    त्यसपछि उपन्यासमा अगाडि लेखिएको थियो : ‘त्यो बेला सुनन्दाको चेहरामा गजबको भाव देखापरेको थियो । यस्तो लाग्थ्यो, सम्पूर्ण पार्टी र क्रान्तिसित उनको तादात्म्य सम्बन्ध कायम भएको थियो । क्रान्ति र पार्टीका लागि सम्पूर्ण रूपले बलिदान गर्ने उच्च प्रकारको दृढ निश्चय उनको आँखामा चम्किरहेको थियो । उनलाई हेर्दा यस्तो लाग्थ्यो, उनी क्रान्तिको साक्षात् प्रतिरूप वा मूर्तरूप बनेकी थिइन् । अजितले उनको चेहरामा हेरे र आश्चर्य चकित भए । उनको चेहरामा देखापरेको त्यस प्रकारको भाव सामान्य थिएन । तर असाधारण थियो । कसैका चेहरामा विरलै देखापर्ने भाव ।

    उनले कुनै–कुनै बेला त्यही प्रकारको भाव जलजलाको चेहरामा पनि देख्दथे । आज त्यही प्रकारको भाव सुनन्दाको चेहरामा देखेर उनलाई धेरै नै खुसी लागेर आयो । उनलाई त्यस बेला यस्तो पनि लागेर आएको थियो, कहीँ सुनन्दाको रूपमा जलजला नै उनका अगाडि प्रकट त भएकी थिइनन् ।

    सायद त्यो सत्य थिएन । तर फेरि उनले सोचे सायद त्यो सत्य नै थियो । उनलाई यस्तो लाग्यो, त्यो सत्यमा असत्य अन्तर्निहित थियो र असत्यमा सत्य अन्तर्निहित थियो । दुबै एकअर्कोमा मिलेका थिए । ती दुबैमध्ये कुन कुरा सत्य थियो र कुन असत्य ? त्यो ठम्याउन अजितलाई गाह्रो परिरहेको थियो । तैपनि उनलाई यस्तो लागिरहेको थियो, ती दुबैमध्ये सत्यको पक्ष नै मुख्य थियो ।

    अजितले कैयौँ बेरसम्म एकाग्र भएर सुनन्दाको चेहरामा हेरिराखे । त्यसरी उनले सुनन्दामा जलजलालाई खोज्ने प्रयत्न गरे जस्तो देखिन्थ्यो ।”

    पुलिसहरू थवाङ गाउँलाई घेर्न आउन थालेको समाचार पाएपछि अजित, सुनन्दा, खगुलाल, हर्के, वर्मन बुढा आदि गाउँबाट भागेर उकालो बाटो हुँदै जङ्गलतिर लागेका थिए । राति उनीहरू गुराँसे गाउँमा पुगेर बास बसे । उनीहरू एकदिन त्यहीँ बसे र थवाङमा छुटेका आफ्‌ना सामानहरू लिन पठाए । अर्कोदिन उनीहरू त्यहाँबाट हिँडे । कैयौँ उकाला, ओराला, खोल्सा वा तेस्रा बाटोहरू हुँदै गएपछि उनीहरू एउटा चौपारिमा आराम गर्न बसे । त्यही बेला हर्केले सुनन्दातिर फर्केर सोचे : “तपाईंको के विचार छ ? अब कता जाने विचार छ ? अब त्यो पनि सल्लाह गर्नुपर्‍यो ।” त्यो प्रश्नको जबाफमा उनले भनेकी थिइन् : “मैले पिएचडीको थेसिस पूरा गर्नुछ । तर, अब मैले पार्टीको सदस्यताको लागि दरखास्त दिइसकेकी छु । मेरा लागि पिएचडी गौण विषय हो । चार पाँच वर्षमा बिचबिचमा समय निकालेर अध्ययन गर्दै थेसिस तयार पारेर युनिभर्सिटीमा बुझाउने छु अथवा पार्टीको काममा व्यस्त हुनुपरेर त्यो कार्य अपूरो रह्यो भने पनि मेरा लागि त्यो चिन्ताको विषय हुने छैन । अब मेरा लागि पार्टीको काम नै मुख्य हो । त्यसका लागि मैले आफ्‌नो सम्पूर्ण जीवन समर्पण गर्ने अठोट गरेकी छु । पार्टीले मलाई जुन जिम्मा दिन्छ, मैले त्यही काम गर्ने छु । पार्टीले मलाई जहा“जान भन्छ, त्यही जाने छु । अब मेरो जीवनको अर्को कुनै उद्देश्य छैन ।”

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ : “सबै जनाले आदरपूर्वक सुनन्दाको मुखमा हेरे । अजितले भने,, “नेपालभित्र कुनै काम गर्न ता तपाईंलाई मुस्किल पर्ने छ । नेपालमा पञ्चायती तानाशाही व्यवस्था छ । राजाको निरङ्कुश शासन त्यसैले…..”

    “सुनन्दाले कुरा काट्दै भनिन्, कुनै मुश्किल पर्दैन । मैले जहाँ गएर पनि जुन काम पनि गर्न सक्छु । म पहाडमा नै हुर्केकी मान्छे हुँ । पर्वतारोहणको बेलामा मैले अग्ला अग्ला पहाड र हिमालहरू चढेकी छु । त्यसो गर्दा मैले ठुलठुला कष्टहरूको सामना गर्नुपरेको थियो । त्यहाँ जुनबेला पनि मृत्युको खतरा हुन्थ्यो र मृत्युमाथि झम्टँदै एकएक पाइला अगाडि सार्नुपर्दछ । त्यसले गर्दा कष्ट प्रतिकूल परिस्थितिसँग खेल्ने मेरो बानी नै भइसकेको छ । मलाई कसैको डर लाग्दैन । मलाई कुनै कुराको डर लाग्दैन । त्यसैले नेपालका जुनसुकै ठाउँमा गएर पनि भूमिगत भएर मैले पार्टीको काम गर्न सक्छु । कुनै बेला गिरफ्‌तार भए भने पनि मेरा लागि त्यो चिन्ताको विषय हुने छैन ।”

    त्यस सिलसिलामा उपन्यासमा लेखिएको थियो : “सबैले सुनन्दाका मुखमा हेरे । अजितले पनि कैयौँ बेरसम्म सुनन्दाको मुखमा एकटक आँखा लगाएर हेरिरहे । पहिले जलजलालाई थवाङमा पठाउने बेलामा उनको प्रश्नको उनले जुन प्रकारको जबाफ दिएकी थिइन्, सुनन्दाको जबाफमा पनि उनले यही प्रकारको साहस, दृढता र निर्भयताको भाव महसुस गरेँ । उनलाई यस्तो लाग्यो, उनका अगाडि स्वयं जलजला नै उभिएकी थिइन्‌…. । उनलाई यस्तो लाग्यो, जलजला उनीबाट धेरै टाढा गएकी थिइन् । तर उनले सुनन्दालाई आफ्‌ना उत्तराधिकारीका रूपमा उनीकहाँ पठाइदिएकी थिइन् । तर सायद होइन, उनी स्वयं सुनन्दाका रूपमा उनका अगाडि आएकी थिइन् । त्यो कुरा जे भएपनि उनलाई लागेर आयो सुनन्दा बेग्लै धातुले बनेकी मान्छे थिइन् । स्तालिनको शब्दमा, उनी साँच्चिकै इस्पातले बनेकी मान्छे थिइन् ।”

    आइतबार, साउन १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.