रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको खोजी कार्य तीव्र पारिएको छ ।
आइतबार दिउँसो मोरङको बेलबारी ११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौंपाने र विराटनगरका सुजन ढकाल गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका हुन् । उनीहरू नातामा दाजुभाई हुन । घटनापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त खोज तथा उद्धार टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार सशस्त्र प्रहरी बल रसुवाबाट विपद् व्यवस्थापन तालिम प्राप्त विशेष टोली परिचालन गरिएको छ भने अन्य सुरक्षा निकाय पनि घटनास्थलमा छन् । गोसाइँकुण्डमा यसअघि पनि यस्ता घटना भएका छन् । प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा हजारौँ भक्तजन गोसाईंकुण्ड पुग्ने गर्छन् ।
तीर्थ स्नान गर्ने क्रममा पानी चिसो, गहिरो र फिसलनका कारण पौडी खेल्दा वा स्नान गर्दा डुबेर ज्यान गुमाउने वा बेपत्ता हुने घटनाहरू दोहोरिँदै आएका छन् । गत वर्ष पनि जनैपूर्णिमाका समयमा भक्तपुरका एक युवक स्नानका क्रममा डुबेर बेपत्ता भएका थिए भने सन् २०२२ मा गोसाईंकुण्ड क्षेत्रमै अर्का तीर्थालुको शव झन्डै दुई दिनपछि फेला परेको थियो ।
यस्ता घटनाबाट सिक्दै सुरक्षाका उपाय कडा बनाउने प्रयास भए पनि सतर्कता र सावधानी नअपनाउँदा दुःखद घटना दोहोरिने गरेको स्थानीय प्रशासनको भनाइ छ। डुबेका युवकहरूको खोजी जारी छ भने उनीहरू जिउँदो वा मृत अवस्थामा फेला पार्ने प्रयास भइरहेको छ।