काठमाडौँ । प्रगतिशील पाठक मञ्चको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले आफ्नो पठन अनुभूति प्रस्तुत गर्नुभएको छ ।
२०८२ असार २८ गते शनिबार आयोजित सो कार्यक्रममा उहाँले मार्क्स र लेनिनको अध्ययनशैलीसँगै आफ्नो पठन अनुभूति व्यक्त गर्नुभएको हो ।
मञ्चका संयोजक समीर सिंहको सहजीकरणमा अघि बढेको उक्त कार्यक्रम राजमो केन्द्रीय कार्यालय भवनको सभाकक्षमा आयोजना गरिएको थियो ।
महासचिव भट्टले अनुभूतिको पूर्वार्द्धमा कार्ल मार्क्सको अध्ययनशैलीबारे चर्चा गर्नुभएको थियो ।
त्यस क्रममा उहाँले मार्क्सको किताबमोह, अध्ययनपछि नोट तयार गर्ने र त्यसमाथि टिप्पणी लेख्ने तरिकाबारे जानकारी दिनुभयो ।
मार्क्समा अध्ययन, भाषा र ज्ञानका विविध क्षेत्रप्रतिको उत्कट लगाव रहेको विषयमा पनि उहाँले चर्चा गर्नुभएको थियो ।
त्यस्तै, लेनिनको अध्ययनशैलीको चर्चा गर्दै भट्टले लेनिनले सङ्घर्षकै माझमा अध्ययन र लेखनलाई सँगै अगाडि बढाएको दाबी गर्नुभयो ।
सन् १९१७ को अप्रिल थेसिस नै स्विटजरल्यान्डदेखि रुस आउने बेलामा रेलमा लेखेको उदाहरण दिँदै उहाँले सङ्घर्ष र अन्तरसङ्घर्षको क्रममा नै लेनिनको अध्ययन अघि बढेको बताउनुभयो ।
गोली लागेपछि पनि उहाँको अध्ययन र क्रियाशीलता नरोकिएको बताउँदै उहाँले लेनिनको कामप्रतिको लगाव बेजोड रहेको बताउनुभयो ।

अध्ययन गाह्रो काम होइन : सिंह
कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अध्ययन गाह्रो काम नभएको बताउनुभयो ।
अध्ययन गर्दै जाँदा क्रमशः बानी पर्दै जाने र अध्ययन गर्दा केही छुटे जस्तो हुने अनुभूति उहाँको थियो ।
अध्ययनका लागि स्वस्थ हुनुपर्ने आवश्यकता दिँदै उहाँले त्यसका लागि पनि ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी, राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मासहित मञ्च र मसालसम्बद्ध विभिन्न सङ्गठनका विभिन्न व्यक्तित्वको सहभागिता थियो ।
काठमाडौँ संयोजकमा रेग्मी
कार्यक्रमकै माझ मञ्चको काठमाडौँ जिल्ला समिति गठन गरिएको थियो ।
जगतप्रसाद रेग्मी संयोजक रहनुभएको उक्त समितिका सदस्यमा छवि खनाल, मदन पाण्डे, सगर सुवेदी, धनपति सापकोटा, केबी घले र समष्टि बुढामगर रहनुभएको छ ।