गंगा पौडेल
रोजीरोटीको खोजिमा भारतका विभिन्न शहरमा गएका नेपालीहरु कोरोना भाइरसको संक्रमण तथा त्यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनका कारण रोजगारी खोसिएर संकटमा परिरहेका छन् । यो अवस्थामा भारतस्थित नेपालीहरुको अभिभावक संगठनको रुपमा परिचित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता तथा कार्यकर्ताहरु असहाय नेपालीहरुको उद्धार कार्यमा खटिरहेका छन् ।
आफ्नो ज्यानको प्रवाह नगरिकन भारतका गल्लीहरुका झुपडी झुपडी र कारखाना मै पुगेर पीडितहरुलाई राहत संकलन तथा वितरण गरि रहेका छन् । रोजगारी छुटेर अलपत्र परेका नेपालीहरुलाई भारतीय रोडवेज वा प्रशासनसँगको समन्वयमा स्वदेश पठाउने काम भैरहेको छ ।
एकता समाजको नेतृत्वमा रहेका साथीहरुले नेपाल सरकारसँग नेपालीलाई उद्वार गर्नका लागि पटक पटक अनुरोध गर्दा पनि ध्यान नदिएको र भारत सरकारको तर्फबाट पनि पीडितहरुलाई खानपिन लगायत उपचारको व्यवस्था मिलाउन नसकेको अवस्थामा विकल्पको रुपमा एकता समाज उभिएको छ । मूल प्रवाहले एकातर्फ राहत संकलन र वितरण गरी रहेको छ भने अर्को तर्फ भारतका विभिन्न शहरहरुबाट पीडित नेपालीहरुलाई सरकारी तथा प्राइभेट गाडीको व्यवस्था गरी नेपाल पठाउने काम गरेको छ ।
भारतबाट हुलका हुल नेपालीहरु आफ्नो गाउँ प्रवेश गर्न थाले पछि सम्बन्धित गाउँपालिका र नगरपालिकाहरुले पनि बल्ल आँखा खोल्न थालेका छन् । भारतबाट आउनेहरुलाई सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टिनको ब्यवस्था गरी राख्ने तथा उनीहरुसँग सम्पर्कमा रहने व्यवस्था हुन थालेको छ । यो कामलाई सरकारले समयमै ध्यान पुर्याउनु पर्ने थियो ।
नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले विदेश स्थित नेपाली मूलतः भारतमा अलपत्र परेका नेपालीहरुलाई समयमै उद्वार गर्न पटक–पटक सरकारसँग माग गर्दै आएको थियो । तर समयमै सरकारको आँखा खुलेनन् । भारत सरकारले हुलका हुल नेपाली हरुलाई नेपाल फर्काउने ढोका खोलि दिएपछी मात्र नेपाल सरकार ब्युँझन बाध्य भयो । एकै चोटी लाखौँ संख्यामा नेपाल प्रवेश गर्ने प्रवासीहरुलाई तत्कालको व्यवस्थापन क्वारेन्टिन, स्वास्थ्य परीक्षण र उपचार विधी पुर्याउन सरकारलाई ठुलो चुनौती थपिएको छ । समयमै सचेत भएको भए यो अवस्था आउने थिएन ।
भारतबाट आउने नेपाली नागरिकहरुले कोरोना लिएर आउने भए भनेर देशभित्र रहेका नागरिकहरु त्रसित भएको पाइन्छ । स्थानीय सरकार र समुदाय बिच क्वारेन्टिन बनाउने बिषयमा ठाउँ ठाउँमा झडप पनि सुरु भएको छ । समुदायले आफूहरु बसेको स्थान भित्र क्वारेन्टिन बनाउन नदिने भन्न थालेका छन् । सरकार समुदाय भित्रै रहेका सामुदायिक भवनहरुमै अन्यन्त्र व्यवस्थापन गर्न सक्ने अवस्थामा छैन । नागरिक र स्थानीय तहका बिच अन्तरविरोध पैदा भएको छ ।
भारत लगायत तेश्रो मुलुकबाट आउने सबै नेपाली हाम्रा दाजुभाई, दिदीबहिनी हुन्, उनीहरु आफ्नो घर आउन पाउनु पर्दछ । उनीहरुको वैकल्पिक व्यवस्था सरकारले नै गर्नुपर्छ । स्थानीय नागरिकहरुको पनि समन्वयकारी भूमिका हुनु पर्दछ । यो महामारीका विरुद्व विश्व मानवजाति नै संकटको अवस्थामा छ । नेपालको हकमा हामी पनि एक जुट भएर एक आपसमा सहयोग गरेर प्रतिकुल परिस्थितीलाई अनुकुल बनाउन सक्दछौं ।
अहिलेसम्म दिल्ली, पञ्जाव, हरीयाणा, राजस्थान, गुजरात, महाराष्ट्र, हैदरावाद, हिमाञ्चलबाट नेपाली मजदु्रहरु नेपाल प्रवेशका लागि लर्को लागेको कुरा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न नगर समिति मार्फत जानकारी आएको छ । अन्य राज्यबाट पनि साथीहरुले फोन मार्फत सूचना प्रदान गरेको अवस्था छ ।
यो परिवेशमा स्थानीय सरकार तथा आम नागरिकहरुले विवेकसम्मत ढंगले काम गरौं । आफू पनि बचौं र अरुलाई पनि बचाऔं । संकटको घडीमा प्रवासी नेपालीहरुलाई मद्दत गर्ने मूल प्रवाहका सम्पूर्ण नेता, कार्यकर्ताहरु धन्यवादका पात्र हुनुहुन्छ ।
(लेखक मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव हुनुहुन्छ ।)
यो पनि पढ्नुहोस्ः
मूल प्रवाहले २५ सय नेपालीलाई प्रवासबाट घर पठायो
गाजीपुरमा २१ दिनदेखि रोकिएका नेपाली मूल प्रवाहको पहलमा स्वदेश फर्किए
मूल प्रवाहको पहलमा भारतका यी शहरबाट घर फर्कंदैछन् नेपालीहरु

