सियोल । दक्षिण कोरियाली अधिकारीले जेजु एयर दुर्घटनापछि देशका केही विमानस्थलमा उडाको निगरानी र नियन्त्रणका लागि बनाइएका कङ्क्रिटका अवरोधलाई परिवर्तन गर्ने बताएका छन् ।
गत डिसेम्बर २९, २०२४ मा थाइल्यान्डबाट दक्षिणपश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा नेभेगेसनका लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल वा अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको थियो ।
यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो । दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।
दक्षिण कोरियाली र अमेरिकी अनुसन्धानकर्ताले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् ।
अनुसन्धानका क्रममा ध्यान धेरै सम्भावित कारणमा केन्द्रित गरिएको छ । विमानलाई उनीहरूको अवतरणमा नेभिगेट गर्न मदत गर्न प्रयोग गरिने कङ्क्रिट अवरोध पनि दुर्घटनाका लागि जिम्मेवार ठहर गरिएको छ ।
भूमि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘विशेष सुरक्षा निरीक्षणले देशभरका सातओटा विमानस्थलमा लोकलाइजरको सुधार आवश्यक रहेको देखाएको छ ।’
मन्त्रालयले लोकप्रिय पर्यटक आकर्षण र राजधानी सियोलको सेवा गर्ने इन्चोनपछि देशको दोस्रो सबैभन्दा ठुलो विमानस्थल मुआनकोजु अन्तर्राष्ट्रिय विमानस्थलसहितका सातओटा विमानस्थलमा लोकलाइजर र अन्य संरचना सुधारका लागि आवश्यक रहेको भनी समावेश गरेको छ । (रासस/एएफपी)