दीप गोले तामाङ ##
प्रजातन्त्रको अभ्जन्मदाता बेलायतलाई मान्न सकिन्छ । अहिलेको संसार प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको हो । यी तीनओटै व्यवस्थामा एउटा समानता छ : त्यो हो– यस्तो व्यवस्थामा सार्वभौमसत्ता जनतामा निहित हुन्छ ।
प्रजाको अर्थ जनता हो र तन्त्र भनेको जनताले चुनेर पठाएको व्यक्तिले जनतामाथि नै शासन गर्नु भन्ने हो । मेरो भाषामा यो व्यवस्था लुटको व्यवस्था हो ।
अमेरिकाले आजसम्म पनि संसारका उत्पीडित देशमाथि शोषण गरिरहेको छ । शोषणका अनेक रूप हुन्छ । दाउ हुन्छ । अमेरिकी भोकरोगसँग लड्दै छन् । अमेरिकी शासकहरू धेरै फेरिए तर शोषण गर्ने तरिका फेरिएन ।
अमेरिका कथित प्रजातन्त्रको नारा लगाउँछ तर जनता र विश्वलाई भ्रममा पारेर शोषण गरिरहेको हुन्छ ।
अमेरिकामा प्रजातान्त्रिक अभ्यासको निकै लामो इतिहास छ तर जति हामीले बाहिरबाट अमेरिकालाई बुझेका छौँ, त्योभन्दा वास्तविकता भिन्न छ । सत्य कुरा, अमेरिका त्यो सत्य होइन, जस्तो भन्ने गरिन्छ, अमेरिका प्रजातन्त्रको हिमायती हो । त्यसको विपरीत अमेरिका जनता विरोधी देश हो । त्यहाँ आफ्नै देशका नागरिकमाथि भेदभावपूर्ण व्यवहार कायमै छ । आर्थिक असमानता, बेरोजगारीको शिकार हुने क्रम त्यहाँ बढ्दो छ । यदि त्यो साँच्चिकै प्रजातान्त्रिक देश हो भने त्यहाँ सबै नागरिकप्रति समान व्यवहार गरिन्थ्यो । सबै देशप्रति समान दृष्टिकोणले हेरिएको हुन्थ्यो । जसरी चतुर्याइँ गरी एकलौटी विश्वमाझ शासन गरिरहेको छ, त्यो ताज झरिसक्थ्यो ।
आज अमेरिकाप्रति विश्वका जनताको जति विश्वास थियो, त्यो पनि टुटेको छ । आजको एक्काइसौँ शताब्दीसम्म आइपुग्दा त्यहाँ ४७ ओटा राष्ट्रपति बनिसकेका छन् । कुनै पनि राष्ट्रपतिले सबै देशको अस्तित्वलाई स्वीकार गर्न नसकेको अवस्था छ । पचासौँ देशमाथि युद्ध थोपरी शान्तिसुरक्षाको नाममा त्यहाँका बहुमूल्य वस्तुको उत्खनन् गरी आफ्नो देशमा जम्मा गर्ने काम अमेरिकाले गरिरहेको छ । अनेकौँ धर्मको प्रचारप्रसार र अनेकौँ जातजातिबिचमा राज्यको माग गर्न लगाएर जातीय सद्भावमा खलल पुर्याउने काम पनि अमेरिकाले गरिआएको छ । त्यस्तो जनविरोधी कार्यबाट नेपाल पनि अछुतो छैन । आज अमेरिकाले नेपालका विभिन्न पार्टीलाई आफ्नो अनुकूल बनाउँदै छ । एमसिसी, एसपिपीजस्ता राष्ट्रघात गराउने काममा अमेरिका सफल भएको छ तर यिनको प्रजातन्त्र विस्तारै ढल्दै छ ।
हाम्रो जस्तो मुलुकमा सङ्घीयताको बिजारोपण गरी जातीयवादको नारा, आत्मनिर्णयको अधिकारसहितको सङ्घीय राज्यको माग गर्न लगाउने काममा सबैभन्दा अगाडि माओवादी पार्टीहरू छन् । सङ्घीय राज्य बनाउने काममा अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद एक हदसम्म सफल भएका छन् । हाम्रा नेताहरूको सत्ता, पदलोलुपता र आशीर्वादको कारणले विदेशी शक्तिहरू चलखेल गर्न पाएका छन् ।
जनताको शासन भनेर वर्षौंदेखि चुनावी मैदानमा उत्रिएका पार्टीहरू बहुमतको नाममा देश र जनतालाई लुटिरहेका छन् । यिनको कथित प्रजातन्त्रले झन् समाजमा वर्गीय विभेदकारी नीति भित्र्याउने काम गरेको छ । देशका सम्पूर्ण स्रोतसाधन बेचेर व्यक्तिलाई लाभान्वित हुने व्यवस्था मिलाएका छन् । देश डुबाउने कामभन्दा अरू केही गर्न सकेका छैनन् । विदेशी शक्तिकेन्द्रले काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादी, रास्वपाजस्ता जातीय क्षेत्रीय पार्टीलाई प्रयोग गरिरहेका छन् ।
नेपाल एउटा यस्तो देश हो, जहाँ सयौँ जाति, सयौँ भाषाका मान्छेहरू बसोबास गर्दछन् । यहाँ जातीय राज्य दिएर अखण्ड राज्य कायम राख्न सम्भव छैन । अर्कातिर, यति सानो मुलुकमा सङ्घीयता आवश्यक छैन । नेपाल आर्थिक रूपले कमजोर देश हो । यहाँ विदेशी शक्तिकेन्द्रले आफ्नो अनुकूलताका व्यक्तिलाई सत्तामा पुर्याउने गर्दछन् अनि आफ्नो काम गर्न लगाउँछन् । हिजो २०६२–६३ सालको आन्दोलनमा सङ्घीयताको माग उठेको थिएन । जातीय राज्यको कुरा उठेको थिएन । यसरी लोभमा पारी विदेशीले आफ्नो स्वार्थ पूरा गर्ने प्रयासमा छन् ।
एमसिसी, नागरिकताजस्ता राष्ट्रघाती विधेयक संसद्बाट पास गरेका छन् । एमसिसीको नाममा अमेरिकी सेना नेपाल भिœयाउने, सडक, विद्युत्जस्ता परियोजनाको नाममा इन्डोप्यासिफिक रणनीति बोकेर चीनलाई घेर्ने अनि नेपालको बहुमूल्य युरेनियम उत्खनन् गरी आफ्नो देशमा लैजाने प्रपञ्च रचिरहेका छन् । यसका लागि अमेरिकी साम्राज्यवादद्वारा एसपिपी कार्यान्वयन गर्न सरकार र सत्ताइतर नेतामाथि दबाब दिने काम भएको छ ।
यता, भारतीय साम्राज्यवाद नेपालमा आफ्नो नागरिक भित्र्याएर सिक्किमलाई जस्तै आफ्नो एक प्रान्त बनाउन खोजेको छ । निरन्तर यस प्रयासमा भारतले सफलता प्राप्त गरिरकेको अवस्था छ । यसरी हाम्रो एउटा स्वतन्त्र, सार्वभौम मुलुकमाथि भारत र अमेरिकाको स्वार्थ लाद्ने काम भएको छ । यसले गर्दा हामी बहुमतमा होइन, सही विचार, दृष्टिकोणमा विश्वास गर्नुपर्छ । उदाहरणका लागि बहुमतमा विश्वास गर्दा सिक्किमका नेता लेन्डुप दोर्जेले सिक्किम भन्ने देशलाई भारतमा गाभ्ने काम भएको छ । त्यसैले प्रजातन्त्रको नाममा जनता र देशविरोधी कार्यबारे हामी प्रष्ट हुनुपर्दछ ।
नेपालमा प्रजातन्त्रका अनुयायीसमेत विदेशी दलालको चङ्गुलमा परेर नेपालको अस्तित्व मेटिने खतरा बढ्दै छ । सत्ताइतर राजनीतिक पार्टीहरू २०८४ सालको सपना बाँडेर फेरि भ्रम छरिरहेका छन् । सहकारी समूहका पैसा हिनामिना गर्ने यी नेताहरू खुलम्खुल्ला नाङ्गो छाती देखाउँदै हिँडेका छन् । कथित चुनावी नारा लगाउँदै हिँडेका छन् ।
सङ्घीयता खारेजी गरिनुपर्दछ । लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरिनुपर्दछ । विकेन्द्रीयतासहितको स्थानीय स्वायत्त शासनको कायम गरी देशको समग्र विकास गरिनुपर्दछ । शिक्षा, स्वास्थ्य, रोजगारमा देशलाई समृद्ध र सबल बनाउने अभियानमा हामी सबै लाग्नुपर्दछ ।
अहिले देशमा कायम भएको कथित प्रजातन्त्र यो दिशामा लाग्दैन, यसले त खालि बहुमतको शासन चलाउँछ । हामीले फेरि यस्ता राष्ट्रघाती, जनघाती र विकास विरोधी तत्त्वलाई बेलैमा चिन्न सकेनौँ भने भोलि हाम्रो राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता मेट्ने दुष्प्रयास हुने छ । त्यसप्रति सम्पूर्ण देशभक्त र क्रान्तिकारी जनता सजग हुनुपर्दछ ।