तमघासबजार । राष्ट्रिय जनमोर्चा गुल्मीले राजधानीकेन्द्रीत सङ्घीयता खारेजीको एकहप्ते आन्दोलनलाई सहयोग गर्ने भएको छ ।
सदरमुकाम तमघासबजारमा २०८१ पुस २६ गते शुक्रबार पत्रकार सम्मेलन गर्दै राजमो गुल्मीले सो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापाले आगामी चैत २४ देखि ३० गतेसम्म सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलन गर्ने निर्णय भएकोमा त्यसलाई गुल्मी सघाउने बताउनुभयो ।
सङ्घीयता नेपालको हितमा हुँदै नभएको उहाँको दाबी थियो ।
‘जनताको दैनिक हितमा नभएको, आर्थिक र सामाजिक सद्भाव भत्काउने अवस्था सङ्घीयताले सिर्जना गरेको छ’ उहाँले भन्नुभयो– ‘यसलाई छिटो खारेज गर्नु देशका लागि हितकर हुने छ ।’
प्रदेश संरचनाको काम र उपयोगिता के छ ? यिनीहरूका छुट्टै र बेग्लै कार्यक्रम के छ ? भन्दै प्रश्नसमेत गर्नुभएका थापाले सङ्घीयताको नेपाललाई आर्थिक बोझ पार्नेबाहेक केही काम नभएको स्पष्ट पार्नुभयो ।
प्रदेश सरकार चलाउने खर्चलाई देशमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्न सकिने धारणा उहाँले राख्नुभयो ।
हिजो प्रचण्ड नेतृत्वको सरकार र देशका दुई ठुला दल काङ्ग्रेस र एमालेको सरकारमा तात्त्विक फरक नभएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘समस्याका जड यिनै ठुला पार्टी हुन् । स्थानीय निकाय र सरकार भ्रष्टाचारका केन्द्र भएका छन् ।’
थ्रेसहोल्डका विषयमा छलफल भइरहेको भन्दै उहाँले विकास गर्न सानो पार्टीले अप्ठ्यारो नपारेको बताउनुभयो । उहाँले साना दलहरूको टाउकोमा दोष थोपरेर ठुला दलहरू पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाउनुभयो ।
प्रतिगमनको अवस्था बढेर राजतन्त्र पुनर्स्थापनाका लागि गम्भीर षड्यन्त्र भइरहेको उहाँको जिकिर थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका राजमो गुल्मीका अध्यक्ष रामकुमार क्षेत्रीले पुराना दलहरू सच्चिन जरुरी रहेको बताउनुभयो ।
उहाँले सङ्घीयताका कारण देशमा जातीय वैमनस्यता बढेर गएको बताउनुभयो ।
जिल्ला समितिका सदस्य हरि न्यौपानेको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा जिल्ला समितिकै रामेश्वर खत्रीको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा काठमाडौँकेन्द्रित आन्दोलनलाई सफल बनाउन गुल्मी जिल्लामा सङ्गठनात्मक, प्रचारात्मक तथा आर्थिक अभियानका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको थियो ।
चैतको काठमाडौँकेन्द्रित आन्दोलनका लागि जिल्लाबाट ठुलो सङ्ख्यामा सहभागिता रहने राजमो गुल्मीले बताएको छ ।
