काठमाडौँ । काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ ।
हिउँदयाम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएको पाइएपछि विभागले त्यस्तो प्रदूषण नियन्त्रणका लागि आग्रह गरेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको हो ।
विभागका अनुसार वायु प्रदूषणको मुख्य कारणको रूपमा कलकारखाना र सवारी साधनबाट निष्काशन हुने धुवाँ, वनडढेलो, खुला रूपमा फोहर तथा कृषिजन्य अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्नु धुलो आदि हुन् ।
वायु गुणस्तर सूचकाङ्क शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि एक सय ५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । एक सय ५१ देखि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सयसम्म निकै अस्वस्थ तथा तीन सय एकभन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गरिन्छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागले ठोस तथा प्लास्टिकजन्य फोहर तथा कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलबाट उड्ने धुवाँधुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ । विभागले देशभरका स्टेसनमार्फत वायु प्रदूषण मापन गर्दै आएको छ ।plastik