काठमाडौँ । नेकपा (मसाल) ले हङकङमा रहनुभएका यामबहादुर थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ कात्तिक २५ गते आइतबार शोकवक्तव्य जारी गर्दै थापाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
हङकङ नेपाली एकता समाजका अध्यक्ष रहिसकेका थापाको निधनबाट मसालको आन्दोलनमा गम्भीर क्षति पुगेको सो वक्तव्यमा उल्लेख छ ।
यस्तो छ, वक्तव्यको पूर्ण पाठ :
“बागलुङ जिल्ला गल्कोट नगरपालिका काँडेबास निवासी हाल हङकङ नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार कामरेड यामबहादुर बुढाथोकीमगर (का. प्रकाश) को २०८१ कात्तिक २४ गते हृदयघातबाट ६० वर्षको उमेरमा हङकङमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
का. यामबहादुर बुढाथोकीमगर हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले हङकङ नेपाली एकता समाजको केन्द्रीय अध्यक्ष भएर आफ्नो सामाजिक दायित्व पनि पूरा गर्नुभएको थियो । उहाँ इमान्दार, निष्ठाबद्ध, लगनशील र असल सामाजिक छवि भएको व्यक्ति हुनुहुन्थ्यो ।
उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”