काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसहितका नेताहरुलाई स्पष्टीकरण सोधेको छ । आइतवार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयबिरुद्ध गइ अभिव्यक्ति दिने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई स्पष्टीकरण सोधिएको बताए ।
पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको विरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको उनले जानकारी दिए।
पोखरेलले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिएकोप्रति पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए ।
उनले भने, ‘पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको बिरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ । लामो समय पार्टी नीतिसँग असहमत राखेर आफ्ना विचार प्रकट गरिरहनुभएका पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पनि पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ । पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएकोमा के कति कारणले उहाँहरुले त्यसप्रकारका गतिविधि गरिरहनुभएको छ भन्ने विषयमा स्पष्टीकरण भएको छ ।’
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले सिफारिस गरेअनुसार कारबाही प्रक्रिया अघि बढेको उनले बताए ।