काठमाडौँ । नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको आक्रमणको कडा निन्दा गरेको छ ।
नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार संयुक्त विज्ञप्ति जारी गरी इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार आज सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले शान्ति मिसनमा खटिने सैनिकमाथि इजराइली पक्षले गरेको आक्रमणको कडा निन्दा गर्दै शान्ति स्थापनामा खटिने सैनिकको सुरक्षाको प्रत्याभूति दिलाउन द्वन्द्वरत दुवै पक्षसँग आग्रह गरको छ ।
त्यसैगरी, हिंसा र आक्रमणको शृङ्खला तुरुन्त रोकी उक्त घटनाको विस्तृत छानबिनसहित सुरक्षाको प्रत्याभूति दिलाउनसमेत सम्बद्ध पक्षसँग मन्त्रालयले आग्रह गरेको छ ।
दक्षिणी लेबनानस्थित शान्ति मिसनको आधार शिविरभित्र प्रवेश गरी इजरायली सेनाले गरेको हिजबुल्लालक्षित आक्रमणमा परी छ जना शान्ति सैनिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबिच, इजरायलले शान्ति सेना हटाउन अनुरोध गरेकोमा संयुक्त राष्ट्र सङ्घले नहटाउने निर्णय गरेकोसमेत जनाइएको छ ।
राष्ट्र सङ्घको शान्ति मिसनमा उल्लेख्य सङ्ख्यामा सेना खटाई विश्व शान्ति स्थापना अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपालले राष्ट्र सङ्घको अनुरोधमा द्वन्द्वग्रस्त मुलुक लेबनानमा पनि सेना खटाएको छ ।
इजराइली आक्रमणको निन्दा गर्दै संयुक्त हस्ताक्षर गर्ने देशका तर्फबाट सङ्घर्षरत दुवै पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न र शान्ति सुव्यवस्था, अमनचयन कायम राख्न आह्वान गरिएको छ ।
यसरी हस्ताक्षर गर्ने देशहरूमा नेपालसहित चीन, फ्रान्स, बेलायत, बङ्गलादेश, श्रीलङ्का, अर्मेनिया, ब्राजिल, अस्ट्रिया, कम्बोडिया, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, घाना, ग्वाटेमाला, हङ्गेरी, इन्डोनेसिया, इटली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मङ्गोलिया, नेदरल्यान्ड, पोल्यान्ड, कतार, सियरालियोन, स्पेन रहेका छन् ।
नेपाली सैनिक सुरक्षित छन् : सेना
यसैबिच, राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिनुभयो ।
प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार राष्ट्र सङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशनअनुसार नेपाली शान्ति सैनिक खटाइने बताउनुभयो ।
‘शान्ति मिसनवरपर छिटपुट घटना भएका छन् । यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ । संयुक्त राष्ट्र सङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्ने छ’ सैनिक प्रवक्ता केसीले भन्नुभयो ।
हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् ।