इनरुवा । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन् ।
बराहक्षेत्र–६ ठाकुरीवारीस्थित कोशीको बिच टापुमा भैँसीपालन गरी बस्दै आएका उनीहरू शुक्रबारदेखि सप्तकोशीको बाढीका कारण अलपत्र परेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार बाढीका कारण बराहक्षेत्र–६ मा २२ जना तथा बराहक्षेत्र–९ मा १२ जना अलपत्र परेका छन् । शनिबार बिहानैदेखि उनीहरूको उद्धारका लागि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिए पनि उद्धार सम्भव नभएको उहाँले बताउनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले निरन्तर वर्षा भइरहेका कारण उनीहरूको उद्धार तत्काल सम्भव नभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘सप्तकोशीमा पानीको बहाव बढ्दै गएको छ । हेलिकप्टरबाट उद्धार गर्नका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ ।’