काठमाडौं नेकपा (एकीकृत समाजवादी) ले निर्वाचनबाट पदाधिकारी छनौट गर्दैछ ।
समाजवादीले महाधिवेशन सकेको लामो समयपछि पदाधिकारी छान्न चुनाव गर्न लागेको हो। पदाधिकारी र पोलिटव्युरो चयनका लागि मंगलबार चुनाव हुँदैछ।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।
आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष पनि चयन हुनेछन् । यसैगरी ८४ सदस्यीय पोलिटब्युरो पनि निर्वाचनबाट चयन गरिने छ ।
नेतृत्वको आकांक्षी धेरै भएको र सर्वसम्मति हुने सम्भावना नरहेपछि चुनावी विधिबाट छान्न लागेको नेता जगन्नाथ खतिवडाले बताए।
७ उपाध्यक्षका लागि १७ को उम्मेदवारी
एकीकृत समाजवादीको उपाध्यक्षमा १७ जनाको उम्मेदवारी परेको छ। सो पार्टीको विधान अनुसार वरिष्ठ १, महिला १ र मधेसी १ र खुला ४ जनासहित ७ जना उपाध्यक्ष रहने व्यवस्था छ।
जसमा वरिष्ठमा घनेन्द्र बस्नेत र राजेन्द्रप्रसाद पाण्डे, उपाध्यक्ष महिलामा जयन्ती राई र रामकुमारी झाक्री, उपाध्यक्ष मधेसीमा धर्मनाथप्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ।
यस्तै खुला ४ उपाध्याक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ।
जसमा ललितबहादुर बस्नेत क्षेत्री, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, डा. विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा, बलरामप्रसाद बास्कोटाको उम्मेदवारी दिएका छन्।
आजै चुनावी प्रक्रिया हुनेछ।
एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटब्युरो चयन गर्ने छन् ।