काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीको काममा निरन्तर लाग्नसके मात्रै संगठन बलियो बन्ने बताउनुभएको छ ।
काठमाडौंको कपनस्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष केसीले पार्टी निर्माण केही वर्ष वा केही समयमा नहुने बताउनुभयो ।
सँगै बसेका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उदाहरण दिँदै उहाँले आफ्नो जिल्लामा दशकौँ काम गर्न कार्यकर्तालाई सुझाव दिनुभयो ।
सिंहतर्फ देखाउँदै केसीले भन्नुभयो, ‘२०१० सालमा कम्युनिष्ट पार्टी खोल्नुभयो प्युठानमा । ७१ वर्ष भयो उहाँले लगातार प्युठान गइराख्नुभाछ, काम गरिराख्नुभाछ । तैपनि त्यहाँ पार्टी गतिलो भएन भन्ने चिन्ता छ ।’
अध्यक्ष केसले आफूले पनि सिंहभन्दा १० वर्षपछि बालगुङमा पार्टी स्थापना गरेको जानकारी दिनुभयो । तर, आफू सिंहजस्ते खट्न नसकेको केसीले स्वीकार्नुभयो ।
‘मेरो त सायद १० वर्ष उहाँ (मोहनविक्रम) भन्दा पछाडी हो । ६० वर्ष भयो बागलुङमा पार्टी खोलेको । म चाहिँ प्रायः जान्नँ । भ्याइन्न कि, अल्छि हुन्छ कि, के हुन्छ ?’ केसीले भन्नुभयो, ‘प्रायः मोहनजी चाहिँ धेरै जानुहुन्छ प्युठान । धेरै गइरहनुहुन्छ । धेरै चिन्ता गर्नुहुन्छ । मैले सक्दिनँ ।’
उहाँले पार्टी कार्यकर्ताहरूलाई आफ्नो जिल्लामा केन्द्रित हुन र जिल्ला पार्टी बलियो बनाउन सुझाउँदै प्युठान र बागलुङमा दशकौँको मेहनतले अहिलेको अवस्थाको पार्टी बनेको बताउनुभयो ।
केसीले थप्नुभयो, ‘के हुँदो रहेछ भने तपाईंको आफ्नो जिल्लाको पनि पार्टी बलियो बनाउनका लागि तपाईंहरुले निरन्तरता दिनुपर्छ । मोहनजी ७१ वर्षदेखि लागेर प्युठानको पार्टी बलियो छ, अन्तको तुलनामा, राम्रो छ, संगठित छ । बागलुङमा पनि ठिकै छ, राम्रै छ तुलनात्मक रुपमा । केही जिल्लाहरूमा हामीले कोशिस गर्दागर्दै पनि पार्टी बढाउन सकिरहेका छैनौँ ।’
अध्यक्ष केसीले आफ्नो पार्टी नीति, कार्यक्रमका हिसाबले अरु भन्दा ठिक भएको दाबी गर्नुभयो ।
‘अरुभन्दा अनुशासित छ, राष्ट्रवादी छ तर, जनताका बिचमा हाम्रो विचार लैजान सकिरहेका छैनौँ’ केसीको भनाई थियो, ‘अरुले गरेजस्तै काम गर्न सजिलो हुन्छ । भ्रष्टाचार गर्न, सत्तामा गएर कम्युनिष्ट बन्न सजिलो हुन्छ । तर, आफू बदलिन गाह्रो छ । हामी हिँडेको बाटो अप्ठ्यारो छ । त्यसकारण मान्छेहरू टिक्दैनन् ।’

