रामकुमार क्षेत्री ##
कम्युनिस्ट पार्टीको कार्यकर्ताले जनताका बिचमा काम गर्दा सर्वप्रथम आफू सही र सक्षम कार्यकर्ता भएको पुष्टि गर्नुपर्छ । यसरी मात्र ऊ जनताको बिचमा जानुपर्छ किनकि आफूलाई कम्युनिस्ट पार्टीको कार्यकर्ता हुँ भन्न रुचाउने तर व्यवहारमा बुर्जुर्वाको जस्तो प्रस्तुति भयो भने जनताले सही र गलतमाझको फरक छुट्टयाउन सक्दैनन् । त्यो मात्र हैन, कार्यकर्ताले प्रस्तुत गर्ने कार्यशैलीले कम्युनिस्ट पार्टीप्रति जनतालाई कति आशा र भरोसा छ र जनताले कति रुचाउने भन्ने विषयको पनि त्यही मूल्याङ्न हुन्छ । त्यसकारण कम्युनिस्ट कार्यशैली जनताको बिचमा प्रस्तुत गर्दा स्वयम् कार्यकर्ता धेरै कुरामा पाको भएर समाजमा प्रस्तुत हुनुपर्छ ।
कार्यकर्ताले जनतालाई आफ्नो पार्टीको नीतिसिद्धान्तको विषयमा कुरा गर्ने बुझाउने काम गर्नुपर्छ । पार्टीको कार्यक्रमबारे जानकारी दिने गर्नुपर्छ । गाउँसमाजमा हुने वा गरिने बाहिरी कार्यक्रम; जस्तै : भेला, सम्मेलन, प्रशिक्षण, जुलुस, अन्तर्क्रिया आदि कार्यक्रममा जनताको घरदैलोमा पुगी प्रचार प्रसार गर्नुपर्छ ।
यस्तो कार्य गर्दा अर्को कुरामा पनि ध्यान पुर्याउनुपर्छ । त्यो के हो भने अरूको छोराछोरी, आमाबुबा, घरपरिवारलाई हाम्रो पार्टीको कार्यक्रम आउनुहोस् भन्नका लागि हामी कार्यकर्ताले पहिला आफ्नो घरपरिवारलाई सङ्गठनमा आबद्ध गरेको वा त्यस प्रकारको कार्यक्रममा समावेश गरेको हुनुपर्दछ । त्यसो भएन भने जनताले पताउँदैनन् । कार्यकर्ताले बोलेको कुरा जनताले निगरानी गरिरहेका हुन्छन् अर्थात् उनीहरूले कार्यकर्ता आफूले घरपरिवारमा भनाइअनुसारका व्यवहार लागु गरेको छ कि छैन भनेर निगरानी गर्छन् ।
त्यो कुरा त जनताको भयो । कार्यकर्ताले जनताले भनुन् वा नभनुन्, आफ्नो परिवारलाई आफ्नो विचारमा ढाल्ने वा सङ्गठित गर्ने कुरामा ध्यान पुर्याउनुपर्छ, नत्र पछि गएर समाजमा आफू नै एक्लिँदै जाने सम्भावना हुन्छ । परिवारलाई समान विचारमा हिँडाउन सकिएन भने कार्यकर्ताले पछि धेरै कष्टकर जीवन बिताउन बाध्य हुनुपर्छ ।
अर्को कुरा कार्यकर्ताले पार्टीले तय गरेको नीति, कार्यक्रमलाई सही ढङ्गबाट कार्यान्वयन गर्नुपर्छ । पार्टीनीति सही छ, कार्यक्रम सही छ तर कार्यान्वयन गर्ने समय र परिस्थिति सही भएन भने त्यो कार्यक्रमबाट हामीले सोचे जस्तो परिणाम आउँदैन† जस्तै : खेतीपाती गर्दा असार–साउन महिनामा रोपेर हुने धान पुस–माघ महिनामा रोप्यो भने उत्पादन राम्रो हुँदैन । लेकमा हुने खेती तराईमा गर्यो भने पनि हुँदैन । वर्षामा हुने खेतीबाली हिँउदमा लगाउने हो भने पनि हुँदैन । त्यस्तै पार्टीसङ्गठनको काम गर्दा पनि त्यही प्रकारले ध्यान दिनुपर्छ ।
कहिलेकाहीँ कस्तो पनि हुने गर्छ भने पार्टीमा काम गर्ने कार्यकर्ताको कार्यशैली ठिक भएन भने पनि जनताले रुचाउँदैनन् । कार्यकर्ता सही नभएको कारणले पार्टीको काममा ठुलो क्षति हुन्छ । पार्टीको नीति, कार्यक्रम ठिक छ तर त्यसलाई लागु गर्ने वा कार्यान्वयन गर्ने तौरतरिका ठिक नहुँदा कार्यक्रम विफल हुने गर्छ । त्यसकारण जनताका बिचमा आफ्नो कार्यक्रम लैजानुभन्दा पहिला कार्यकर्ताहरू धेरै परिपक्व जुन जरुरी हुन्छ किनकि कुनै पनि सही चिजलाई गलत समय वा वातावरण र गलत ठाउँमा प्रयोग गरियो भने प्रत्युत्पादक हुन्छ ।
सबै जनता एकै प्रकारका हुँदैनन् । जनता नेताकार्यकर्ताभन्दा धेरै टाठाबाँठा पनि हुन्छन् । उनीहरू विभिन्न विषयमा विज्ञ पनि हुन्छन । जनताको कुरा धेरै सुन्ने बानी बसाल्नुपर्छ । सुनेपछि मात्र आफूले जवाफ दिनुपर्छ । कार्यकर्ताले हतारहतारमा बोल्ने र जवाफ दिने बानी गर्नुहुँदैन ।
अर्को कुरा जनतालाई कार्यकर्ताले नीतिसिद्धान्तको बारेमा धेरै कुरा बुझाउनुपर्छ, सिकाउनुपर्छ तर जनताको कुरा सुन्ने र जनताबाट पनि सिक्ने बानी बसाल्नुपर्छ । त्यो फाइदाजनक हुन्छ । जनताले हाम्रो कुरा मात्र सुनेका, बुझेका हुँदैनन्, हाम्राबारेमा पनि मूल्याङ्कन गरेका पनि हुन्छन् । उनीहरूको नीतिसिद्धान्त के कस्तो छ भनेर कम सोच्ने गर्छन तर व्यवहार के कस्तो छ भनेर हेरिरहेका हुन्छन । त्यसैले जनताको बिचमा जाँदा व्यवहारलाई बढी ख्याल गर्नुपर्छ ।
आफ्नो पार्टीको कार्यकर्ता बनेर जनताका बिचमा जाँदा आफ्नो कार्यक्रम मात्र लिएर जानुहुँदैन, कहिलेकाहीँ जनताका घरदैलोमा उनीहरूको स्थिति, समस्याबारे सोधपुछ पनि गर्न जानुपर्दछ । त्यो मात्र हैन, जनताका बिचमा एउटा कार्यकर्ता रोपिनुपर्दछ† जनताका बिचमा उभिनुपर्छ, फुल्न र फल्नु पनि पर्दछ । त्यो भन्नुको तात्पर्य जनताको बिचमा प्रिय कामरेड भएर बस्नुपर्छ । जनतामा आइपर्ने दुःखकुष्ट, विभिन्न प्रकारका समस्यासँग आफू पनि सहयोगी भावना बोकेर उनीहरूको समस्या सँगसँगै समाजमा घुलमिल हुनुपर्दछ, तब मात्र जनताले कम्युनिस्ट पार्टीका कार्यकर्तालाई पत्याउँछन् । उसलाई एउटा कम्युनिस्ट पार्टीको कार्यकर्ताभन्दा पनि सहयोगी, मित्र, प्रिय कमरेड भनेर स्वीकार गर्छन् ।
कार्यकर्ता जनतामा जाँदा जनतालाई दिने र जनताबाट लिने दुवै प्रकारको सोचका साथमा समाजमा हाजिर हुनुपर्छ । जनतालाई दिने कुरा भनेको पत्रपत्रिका, पुस्तक जस्ता अध्ययन सामग्री, उनीलाई आइपर्ने विभिन्न सामाजिक समस्याबारे आफूले जानेको सिकाउने हो । उनीहरूबाट लिने भनेको आवश्यक सहयोग, पत्रपत्रिका बेचेको मूल्य, आर्थिक अनि जनतालाई आइपरेका समस्याको सुझाव, सल्लाह सङ्कलन हो । जनतालाई कार्यकर्ताले दिएको वैचारिक विकास गर्ने माध्यम पुस्तक, पत्रपत्रिका जनताले अध्ययन गरे कि गरेनन् ? गरे भने कसरी गरे ? त्यसबाट तिनीहरूले के कुरा बुझेका छन् ? त्यसबारेमा जनताबाट बुझ्ने र यसरी सही कार्यदिशा निर्माण गर्नका लागि कम्युनिस्ट पार्टीलाई मदत पुग्दछ ।
जब जनताले नेताकार्यकर्तालाई आफ्नो सहयोगी बनाउँछन्, तब कार्यकर्तालाई आफ्नो पार्टीको नीति, कार्यक्रम जनताका बिचमा लैजान र त्यसलाई कार्यान्वयन गर्न धेरै सहयोग पुग्छ । कार्यकर्ताले आफ्नो नीति, कार्यक्रम जनताका बिचमा लैजाँदा जनतालाई सचेत बनाउने, सहयोग गर्ने प्रकारको काम गर्नुपर्छ ।
जनता विभिन्न प्रकारका जालजेल वा समस्यामा अल्झिएका हुन्छन । उनीहरू नजान्ने, नबुझ्ने पनि हुन्छन । फटाह, जाली, घुसखोर, तस्करीहरूसँग अन्याय, अत्याचारमा परेका पनि हुन्छन् । यो सबै कुरा कार्यकर्तालाई थाहा हुँदैन । जबसम्म कार्यकर्ताहरू जनताको विश्वासिलो पात्र बन्दैनन्, तबसम्म उनीहरूले आफ्ना र आन्तरिक कुरा भन्दैनन् । यसरी समाजमा भएको विकृति, विसङ्गति, गलत क्रियाकलाप सबैको विरोध भण्डाफोर गर्दै समाजमा जनचेतना फैलाउनुपर्छ ।
समाजमा असल कार्यकर्ता मात्र हुँदैनन्, विरोधी शक्ति विभिन्न विचार भएका राजनितिक दलका कार्यकर्ता, विकृति ल्याउने, समाजसेवाको नक्कली नाम बोकेका मानिस पनि हुन्छन् । तिनीहरूले अङ्गीकार गरेका गलत नीतिसिद्धान्त, व्यावहारिक क्रियाकलापबारे सूक्ष्म प्रकारले अध्ययन गरेर गाउँसमाजका जनतालाई सजग र सचेत गराउनु पनि आफ्नो जिम्मेवारी हो भन्ने तथ्य कार्यकर्ताले आत्मसात गर्नुपर्दछ । त्यसो गर्दा कार्यकर्ताहरू असाध्यै चनाखो मात्र होइन, सुझबुझको साथमा परिपक्व भएर सत्यमाथि आधारित र परिकृत हुनुपर्दछ । आफूले काम गर्दा कहिल्यै पनि समाज र जनताले साथसहयोग दिने प्रकारको क्रियाकलाप गर्नुपर्दछ, तब मात्र आफू सबैको प्रिय कामरेड तथा कार्यकर्ता बन्नलायक हुने छौँ ।