दुर्गानाथ खरेल ##
जनतन्त्र भन्नासाथ जनताको पहुँच भएको राज्यसत्ता भन्ने अर्थमा बुझ्न सकिन्छ ।
राज्यसत्ता सबैभन्दा ठुलो सङ्गठित संस्था हो । त्यो सङ्गठित संस्थामा त्यतिखेर मात्र जनताको पहुँच पुग्छ, जतिखेर त्यो संस्थाका सङ्गठित व्यक्तिहरू जनताका प्रतिनिधि हुन्छन् । आफू आफै जनता हुन्छन् र अझै जनताको मर्म र भावनाको मात्र होइन, समस्यासमेतका प्रतिनिधि हुन्छन् ।
जनताका प्रतिनिधि हुने भनेको जनताका खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारीमा हिस्सेदार हुने हो । त्यो भनेको जनताका उपर्युक्त समस्या जसरी समाधान भएका छन्, तिनै समस्या र समाधानका हिस्सेदार बन्ने हो ।
वर्तमान राज्यसत्ताबाट जनताका समस्याको हिस्सेदार बन्ने सम्भावना छैन र हुन सक्दैन किनभने राज्यसत्तामा आसिन भएका व्यक्तिहरूले एकातिर आफ्नो व्यक्तिगत र पारिवारिक समस्या सुल्झाउने तरिका शोषणयुक्त छ भने अर्कोतिर समस्या समाधानमा जवाफदेहिता छैन । फेरि निर्णय गर्ने संस्था र निर्णय कार्यान्वयन गर्ने संस्था अलग अलग भएका कारण सही निर्णय भयो भने पनि कार्यान्वयन सही तरिकाले अथवा निर्णयको मर्म र भावनाअनुसार कार्यान्वयन हुन सक्दैन किनभने सम्पूर्ण राज्यसत्ताका अङ्गहरूले संयुक्त रूपले आफूहरूलाई जनताभन्दा उच्चस्तरका र जनताबाट अलग रहेको प्रमाणित गर्ने प्रयत्न गरिरहेका हुन्छन् । आफूहरूले जनताको प्रतिनिधि भएर होइन, शासक भएर काम गर्ने गरिरहेका हुन्छन् ।
मुख्य प्रश्न जनताले सामना गर्नुपरेका समस्या राज्यसत्तामा रहेका व्यक्तिहरूले सामना गरिरहेका समस्या ठिक विरोधी प्रकृतिका छन् । एउटा त राज्यसत्ताका व्यक्तिहरू रोजगार हुन्छन् । जनताबाट कर उठाएर आफूहरूले खर्च गर्ने अधिकारी हुन्छन् । त्यसो गर्दा उनीहरू जनताका सेवक हौँ भन्ने भन्दा शासक हौँ भन्ने अर्थमा व्यवहार प्रदर्शन गर्छन् । अर्को, उनीहरू जनताभन्दा अलग र उच्च जीवनशैलीमा हुन्छन् ।
वर्तमानमा राज्यसत्ता परम्परागत राज्यसत्ता हो । त्यो राज्यसत्ता दासमालिकबाट सुरु गरिएको राज्यसत्तामा सुधारसहितको निरन्तरता छ । सुरुमा मान्छेले मान्छेलाई किनबेच गर्ने अधिकारसहितको राज्यसत्ता थियो । त्यसमा सुधार गरेर जग्गाका मालिकको राज्यसत्ता बनाइयो । मान्छेलाई किनबेच गर्न नपाइने नियमसहितको राज्यसत्ता बनाइयो । जग्गाजमिनजति शासकको हुने र राज्यसत्ताको तजबिजमा देशको सबै जग्गाजमिन भएर किसानलाई शासन गर्ने अधिकारीको रूपमा राज्यसत्ताले काम गर्ने भयो । त्यसो गर्दाखेरि दासत्वको स्वरूप दुवै थरी भए । एकातिर, दासत्व स्वीकार गर्ने दास मानसिकताका किसान परिवार वा भूदास पनि समाजमा पुरानो शासनको निरन्तरताको रूपमा अवशेषको रूपमा रहे, अर्कोतिर, सचेत किसान परिवार भएर आफ्नो हक, अधिकार बहाल गरेर बस्ने किसान परिवार पनि भए ।
मानव चिन्तन मानव समाजको सुरु अवस्थादेखि विकास हुँदै आएको हुँदा पुरानो अवस्थाको शेष नरहने कुरा भएन । दास समाजभन्दा सामन्ती समाजमा जटिलता थपियो । सामन्ती समाजको मूलप्रवाह सामन्त र किसान भएको भए पनि जङ्गली समाजको अवशेष दास समाजको अवशेष मात्र भएन, पुँजीवादी समाजको अग्रगामी तत्त्व पनि मानव समाजमा एकैपटक देखा पर्दै गयो । पढाइलेखाइ, विज्ञान, प्रविधि, योग्यता विकासका अवसर सबैको उपयोग सामन्तले गर्ने र उनीहरूको बाहेक कम मात्रले अवसरको उपयोग गर्न पाउने अवस्था भयो । नयाँ र उदीयमान पुँजीपति वर्गले पुँजीको विकास गर्ने सिलसिलामा सामन्तसँग सङ्घर्ष गर्नुपर्ने अवस्था आयो ।
पुँजीपति वर्ग त्यतिखेरको प्रगतिशील वर्ग भएको हुनाले यसले सामन्त विरुद्धको सङ्घर्षमा किसान मजदुरको साथ र सहयोग लगातार प्राप्त गर्दै गयो । त्यसो गर्दा सम्पूर्ण समाजको उत्पादनमा वृद्धि हुने र धेरैभन्दा धेरै सुविधासहितको सामाजिक जीवनमा सामन्त र पुँजीपति वर्ग परस्पर विरोधी भए पनि सम्पन्नताको हिसाबले दुवै सम्पन्न वर्ग भएर प्रतिष्पर्धामा पुँजीपति विजयी बन्दै गयो ।
सामन्तसँगको सङ्घर्षमा पुँजीपति वर्गले धेरै हन्डरठक्कर खानु मात्र परेन, धेरै प्रगतिशील काम पनि गर्यो । मजदुरलाई रोजगारीको ग्यारेन्टी, छितरिएर रहेको गाउँका बस्तीमा भएको धेरै जनसङ्ख्यालाई ठुला ठुला सहरमा केन्द्रीकरण, आफ्नो व्यापार विस्तार गर्ने सिलसिलामा कच्चा पदार्थ उत्पादन गर्ने, किसानहरूको नगदे बालीबाट बढी सुविधा, जन्मको र वंशको आधारमा शासक बन्ने अवस्थाबाट मतदानको व्यवस्था र विजयी भएर शासनको अधिकारी बन्न पाउने व्यवस्था, व्यापार र नाफाको विस्तार गरेर सुविधा सम्पन्नता आदि धेरै काम गर्दा पनि सामाजिक जटिलता थपिँदै गएको हो ।
समाज भने निरन्तर निम्न अवस्थाबाट उच्च अवस्थातिर विकसित हुँदै गयो । आदिम सामुदायिक व्यवस्थाका अवशेष, दास व्यवस्थाका अवशेष, सामन्ती अवस्थाका अवशेष र पुँजीवादी अवस्थाको मूलप्रवाह मात्र भएको समाज रहेन, समाजवादी व्यवस्थाको आधारमा अग्रगामी समाजको जन्म र विकास पनि हुँदै गयो ।
सर्वहारा वर्गको नेतृत्वमा समाजवादी समाजको प्रादुर्भाव भएपछि भने पुँजीपति र सामन्त वर्गीय रूपले दुवै सम्पन्न वर्ग भएको हुनाले पुँजीपति वर्गले सामन्त वर्गसँग साँठगाँठ गरेर प्रतिगमनको दिशा समात्यो । दास व्यवस्थाबाट सुरु भएको वर्गीय समाजमा सुधारसहित पुँजीवादी व्यवस्थासम्म आएको हो । पुँजीवादी व्यवस्थाबाट समाजवादी व्यवस्थामा जाने भनेको आमूल परिवर्तन गरेर मात्रै हो ।
एउटा ध्रुवमा रहेका सम्पन्न वर्ग र अर्को ध्रुवमा रहेका सर्वहारा वर्ग हुन् । परस्पर विरोधी स्वार्थका कारण एउटा पक्ष र अर्को पक्षबिच जीवनमरणको सङ्घर्षको कुरा हो । यो युग बदल्ने काम भएको हुनाले वर्गीय स्वार्थ रक्षा गर्ने अथवा स्वर्ग कब्जा गर्ने काम हो ।
पुँजीवादको साम्राज्यवादी अवस्थासम्म जाने र सत्ता जोगाउन कुनै उपाय रहेसम्म आफ्नो स्वर्ग गुमाउन अवश्य पनि तयार हुन सक्दैन । फेरि आफू विरोधी ध्रुवको वर्ग हुँ भन्ने वर्गीय चेतना नभएसम्म सर्वहारा वर्गको आफ्नो वर्गीय सचेतनासहितको सङ्घर्ष पनि गतिशील हुन सक्दैन ।
राज्यसत्ता दुईओटा कारणले बलियो भएको छ । एउटा सशस्त्र हातहतियारसहितको सैनिक शक्तिसहित रहेको कारणले र अर्को जनतासँग कर उठाएर आफूहरूले खर्च गर्ने अधिकार पनि भएको कारणले शक्तिशाली छ ।
जतिसुकै शक्तिशाली भनिए पनि जनतासँग तुलना गर्दा एक प्रतिशत मात्र छ । ९९ प्रतिशत जनताबिच राजनैतिक चेतना जगाएर आन्दोलन उठाउन सक्ने हो भने आमूल परिवर्तन हुन सक्छ ।
आमूल परिवर्तन गर्ने भनेको पुँजीका मालिकले गर्ने शासनको विपरीत श्रमका मालिकले गर्ने शासन स्थापित गर्ने मात्र होइन, त्यसलाई निरन्तरता दिने पनि हो । स्थापिना गर्नेभन्दा निरन्तरता दिने काम धेरै कठिन काम हो । निरन्तरताका लागि जनता होइन, कार्यकर्ता, नेता पहिल्यैदेखि श्रमका मालिक हुनुपर्छ र त्यसमा अभ्यस्त भइसकेको हुनुपर्दछ । राज्यसत्ता स्थापना हुनेभन्दा पहिल्यै श्रमका मालिक बन्न नसकेका नेताकार्यकर्ता भएको पार्टी भयो भने त्यहाँबाट सजिलै प्रतिगमन नभई छाड्दैन ।
कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता वास्तविकता र व्यावहारिकतामा श्रमका मालिक भइसकेको अवस्थामा मात्र त्यो राज्यसत्तालाई जनतन्त्र भन्न सुहाउँछ । जनता श्रमका मालिक त हुन्छन् तर पुँजीका मालिक हुन नसकेर श्रमका मालिक मात्रै भएका हुन्छन् । जब वास्तविक श्रमका मालिक राज्यसत्तामा हुन्छन्, तब मात्रै जनताले स्वतन्त्रताको महसुस गर्दै श्रमका मालिक हुन्छन् ।
प्रतिगमन रोकिन्छ, समाज अग्रगमनको बाटोमा गतिशील हुन्छ । शोषणविहीन र शासनविहीन समाजको अवस्थासम्म पुग्छ । त्यसको सुरुआत आफ्नो श्रम बेचेर व्यक्तिगत र पारिवारिक खर्च चलाउन सक्ने नेता हुन जरुरी छ । दोस्रो स्टेपमा उहाँका अनुयायीहरूले नक्कल गर्दै श्रम बेच्ने काममा अभ्यस्त हुन सुरु गर्दछन् । त्यो आधारस्तम्भ तयार भएपछि मात्रै त्यसमाथि संरचना तयार गर्न सकिन्छ । नेता आफै श्रम बेच्नयोग्य छैन अथवा श्रम बेचेर होइन, श्रमको शोषण गरेर आफ्नो खर्च चलाउने हैसियतमा छ भने त्यो नेतृत्व मातहतको सङ्गठनले जनतन्त्र स्थापना गर्न सक्दैन । पटक पटक प्रतिगमन त्यसकारणले दोहोरिरहन्छ ।
समाजवादी व्यवस्था एउटा वर्गको स्वर्ग उसको विरोधी वर्गले खोस्ने व्यवस्था हो । स्वर्ग गुमेपछि त्यो वर्गले प्रतिगमन गराएर आफ्नो स्वर्ग फेरि बहाल गर्न पहिलेभन्दा दश गुना बढी शक्ति प्रयोग गर्छ । त्यसकारण स्वर्ग कब्जा गर्ने वर्ग जबसम्म फलामे अनुशासन पालन गर्न सक्ने अवस्थासम्म पुगेको हुन्न, तब त्यसको स्वाभाविक परिणाम प्रतिगमन हुन्छ । एकातिर पुराना शासकका जरा चुँडालिसकेको अवस्था नहुने, अर्कोतिर दिनदिनै हजारौँ निम्नपुँजीपति वर्गको उत्पादन भइरहने दुवै कारणले प्रतिगमनको सम्भावना बढी हुन्छ । फेरि समाजवादी व्यवस्था अथवा जनतन्त्र आकाशबाट, पातालबाट वा जादुको छडी प्रयोग गरेर ल्याउने व्यवस्था होइन, यही समाजका उत्पादक शक्तिको सचेत र सङ्गठित प्रयत्नबाट आउने व्यवस्था हो । वर्गीय चेतना र वर्गीय सङ्गठनले लेस भएर लामो आन्दोलनको अभ्यासबाट स्थापना हुने व्यवस्था हो । आन्दोलनबाट खारिएर स्पातिलो भएको पार्टीको नेतृत्वमा मात्रै क्रान्ति सम्पन्न हुन्छ ।
क्रान्ति सम्पन्न हुने पनि कसैको इच्छा वा चाहनाले होइन, राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीको ठोस अवस्थाको ठोस विश्लेषण गर्न सक्ने क्षमता सबैको उपयोग भएर मात्र क्रान्ति सम्पन्न हुने हो । त्यसका लागि जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन सक्ने पहिलो सफल प्रयत्न हुनुपर्दछ । अर्को कुरा, मजदुर वर्गको मुक्तिका लागि आफ्नो उच्चतम योगदान थप्ने उद्देश्यसहित सङ्गठित कार्यकर्ता र जनताको विश्वास जित्न सकेका नेतृत्वपङ्क्तिको आवश्यकता पर्दछ ।
जनतन्त्र जनताले नै ल्याउने व्यवस्था हो । इतिहासका निर्माता जनता नै हुन् । जनता सचेत र सङ्गठित हुने काम र त्यस्तो बनाउने काम सबैभन्दा महत्त्वपूर्ण काम हो ।
जनताको मुक्तिको काम जनतन्त्र स्थापित भएपछि मात्र सुरु हुन्छ । त्यस्तो अवस्थाका सञ्चालक कम्युनिस्ट पार्टीका कार्यकर्ता पहिल्यै मुक्त भएर जनताको मुक्तिका लागि खट्ने र खटिरहने काम पहिल्यै भइसकेको हुनुपर्छ ।

