काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीसँग सम्बन्धित मुद्दाहरुको सम्बन्धमा महान्यायाधिवक्ता र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल गरेको छ ।
बिहीबारको समितिको बैठकमा समितिले महान्यायाधिवक्ता रमेश बडाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेलसँग छलफल गरेको हो ।
उनीहरुसँग सहकारीसँग सम्बन्धित मुद्दाहरु, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटहरुका सन्दर्भमा छलफल भएको समिति सभापति सूर्य थापा क्षेत्रीले जानकारी दिए ।
उनले महान्यायाधिवक्ताको कार्यालयको तथ्य अनुसार सहकारी ठगिका १५१ वटा मुद्दाहरु रहेको पाइएको जानकारी दिए। त्यसैगरी देशभरका अदालतमा ६८५ वटा मुद्दा सहकारीबारे रहेको पाइएको पनि उनले बताए ।
महान्यायाधिवक्ताको कार्यालयको तथ्य अनुसार सहकारी ठगिका १५१ वटा मुद्दा छन्। ललितपुरमा १४, भक्तपुरमा ४, कास्की ६, चितवन ९, मोरङ ८, सुनसरी ६, कैलाली ४, रुपन्देही ४, बाँके ४ जस्ता रहेका छन्। जम्मा २१४ वटा फौजदारी अभियोग लागेका मुद्दाहरु रहेका छन् ।