बैतडीबजार । अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार घर फर्किएका छन् ।
सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका थिए ।
हाल बाढी जोखिम कम भएसँगै उनीहरू घर फर्केको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘सेती नदीमा जलसतह बढ्दा बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते ढुङ्गाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरू हाल जोखिम कम भएसँगै आफ्नै घर फर्किसकेका छन् ।’
बर्षातको समयमा सेती नदीमा आउने बाढीले स्थानीय बासिन्दा हरेक वर्ष समस्यामा पर्ने गर्दछन् । सिगास–५ का हरडाखानी, लाम्बगड, लोडे, सिगास–६ का सेतीकिनारका बस्ती पनि बाढीको जोखिममा हुने गरेको छ ।
यसअघि, २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा सेती नदीको बाढी पस्दा क्षति गरेको थियो ।
असार २० गतेदेखिको वर्षाले यहाँका पाँचओटा घरमा क्षति पुगेको थियो । दुई पशुचौपाया मरे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । (रासस)