काठमाडौं । दुई अन्तर्राष्ट्रिय खेलका लागि मलेसिया र भियतनाम जाने टोलीलाई बिदाइ गरिएको छ ।
मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टोली र नवौं एसियाली पारा तेक्वान्दोका लागि भियतनाम जाने टोलीको बिहीबार बिदाइ गरिएको हो ।
मलेसिया जाने खेलाडीलाई लाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिदाइ गरेका छन् ।
रोशन तामाङको कप्तानीमा रहने नेपाली टोलीमा दीपेशजङ थापा, उमेशबहादुर महतो, अनिल जर्घा मगर, विजय महतो र पदमबहादुर थाडा मगर रहेका छन्।
प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ, टिम म्यानेजरमा नेत्रप्रसाद गुरुङ र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के छन्।
विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई उच्च प्रदर्शन गर्न मन्त्री श्रेष्ठले शुभकामना दिए ।
शनिबारदेखि सुरू हुने विश्वकपमा २१ राष्ट्रको सहभागिता रहनेछ।
नेपाल डिभिजन वानमा रहेको छ। जहाँ कुल ९ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। प्रिमियरमा भने १२ राष्ट्र रहेका छन्।
यस्तै, नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप ९जी–४० २०२४ मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ प्रस्थान गर्ने भएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे।
प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्।
प्रतियोगितामा ३१ राष्ट्रका खेलाडी सहभागी हुँदैछन्।
पलेशाले छनोट चरण पार गरेर पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरिसकेकी छिन्। छनोट चरण पार गरेर पारालिम्पिकमा सहभागिता पक्का गर्ने पलेशा पहिलो र एक मात्र खेलाडी हुन्।
पलेशाले चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन्।
नेपाल तेक्वान्दो संघले पेरिस पारालिम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामाले जानकारी दिए।
एसियन च्याम्पिनसिपबाट र्याङकिङमा आउन र र्याङकिङमा सुधार गर्न मद्दत पुग्ने भएको हुँदा अमिर र भरतलाई सहभागी गराइएको हो।
प्रशिक्षकको भूमिकामा रहेका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनको प्रशिक्षणमा नेपालले तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जितेको छ।
