• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एमाले अध्यक्ष ओली : झुटको पुलिन्दा र स्टन्टबाज


  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित
  • रामप्रकाश पुरी ##

    Advertisement

    राजनीतिक स्तरको अवस्था
    एमाले अध्यक्ष ओलीले २०८० चैत ७ गते बुधबार एउटा कार्यक्रममा यस प्रकारले दिएको अभिव्यक्ति बाहिर प्रचारमा आयो : “एक जना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन् । तपाईंहरूले पनि चिन्नु हुन्छ होला, मोहनविक्रम सिंह नाम हो उहाँको । अहिले काङ्ग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटी पिटी रोएर उधुम छ बुढाको । काङ्ग्रेस बाहिर रह्यो सरकारबाट, काङ्ग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रियसभाबाट मनोनित गरेर पठाउँथ्यो होला । सम्झिन्छन्, फेरि ग्वाँ ग्वाँ रुन्छन्” ।

    को किन, केका लागि र कसरी रोइरहेको छ ? हामीले त्यसबारे ओलीको स्तरमा झरेर कुरा गर्न चाहन्नौँ । त्यसको जवाफ इतिहासले बताउँदै आएको छ र भविष्यले पनि बताउँदै जाने छ । हामीले स्पष्ट गर्न चाहन्छौँ कि ओलीजीले आफूलाई ढाँट्न सक्नु हुन्न भने उहाँलाई यो कुरा राम्ररी थाहा छ, यदि उहाँलाई थाहा छैन भने पनि हामीले स्पष्ट गरिदिन चाहन्छौँ (सायद उहाँलाई पनि थाहा हुन सकोस्) : नेपालको पूरै कम्युनिस्ट आन्दोलन, नेपालको सम्पूर्ण राजनीतिक जगत्, आजको विश्व कम्युनिस्ट आन्दोलन, यहाँसम्म कि सम्पूर्ण साम्राज्यवादी शक्तिले पनि यो जानकारी राख्दछन् कि मोहनविक्रम सिंहले विचार, आदर्श र लक्ष्यलाई तिलाञ्जली दिएर कुनै अवसर लिएको उदाहरण छैन । त्यसैले ओलीलाई मात्र होइन सम्पूर्ण संसारलाई हामीले स्मरण गराउन चाहन्छौँ कि श्रीमतीलाई सांसद बनाउने, मन्त्री बनाउने वा कुनै उच्च पदमा लैजानका लागि मोहनविक्रम सिंहले त्यस्तो निम्न स्तरको हर्कत कहिल्यै पनि गर्नुभएको छैन । त्यसैले ओलीको अभिव्यक्तिले उहाँलाई झुट र स्टन्टबाजको खेती गर्ने व्यक्तिको रूपमा चित्रित गर्दछ ।

    ओलीको उपर्युक्त अभिव्यक्तिले उहाँको राजनीतिक स्तरको जाँच गर्दछ । यो सन्दर्भमा एउटा प्रश्न अनिवार्य उत्पन्न हुन्छ : के सम्पूर्ण एमालेलाई उहाँले यस प्रकारले नै स्कुलिङ गर्नुहुन्छ ? यदि यस प्रकारले एमालेको स्कुलिङ हुन्छ भने एमालेमा कस्तो राजनीतिक प्रवृत्ति र संस्कारको विकास भइरहेको छ भन्ने कुराको जो कसैले पनि सहजै अनुमान गर्न सक्दछ । त्यो जेसुकै भए पनि यहाँ हामीले उहाँको त्यस प्रकारको निम्न र तल्लो प्रकारको राजनीतिक स्तरबारे अरू थप चर्चा गर्न आवश्यक ठान्दैनौँ ।
    दुर्गा पौडेलको कुरा

    जहाँसम्म दुर्गा पौडेलको कुरा हो, त्यसबारे केही स्पष्ट गर्नु आवश्यक छ ।

    दुर्गा पौडेल मोहनविक्रम सिंहको पत्नी हुनुपूर्व हाम्रो पार्टीको जुझारु कार्यकर्ता हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीको भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घको अध्यक्ष भएर जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो । त्यसपछि उहाँ मोहनविक्रम सिंहको पत्नी बन्नुभएको थियो ।

    पत्नीलाई के बनाउने भनेर मोहनविक्रम सिंहले व्यक्तिगत रूपमा सोचेर सांसद वा पार्टीको पनि कुनै पदमा पुर्याउन सम्भव छैन ।

    हाम्रो पार्टीमा कुनै व्यक्ति कहिल्यै पनि एक्लै निर्णायक हुँदैन; सामूहिक निर्णय हुन्छ र त्यो निर्णय लेनिनवादी सङ्गठनात्मक सिद्धान्त र नीतिअनुसार हुन्छ । त्यो अवस्थामा मोहनविक्रम सिंह एक्लैले कुनै निर्णय गर्नुहुन्छ भनेर विरोधीले मात्र नजरअन्दाज गरेर चरित्रहत्या गर्ने कुरा हो । दुर्गा पौडेल काठमाडौँ वा कपिलवस्तुमा उम्मेदवार बन्दा वा संविधान सभाको सभासद बनाइँदा वा प्युठानबाट प्रत्यक्ष निर्वाचन बन्दा सबै अवस्थामा पार्टीको निर्णयअनुसार भएको हो ।

    श्रीमती, छोराछोरी, भाइभतिजा, गुटको मान्छे आदिलाई अवसर प्रदान गर्ने प्रवृत्ति हाम्रो पार्टीमा हुँदैन । सबै सदस्यले आफ्नो योग्यता सिद्ध गरेर आफ्नो भूमिकामा रहनुपर्दछ । हाम्रो पार्टीमा कुनै पदमा पुग्नु भनेको अवसर लिनलाई होइन, सङ्घर्ष गर्नलाई भएको र पार्टीको निर्णयअनुसार मात्र राज्यले उपलब्ध गराएको सुविधाको अंश उपभोग गर्न पाउने व्यवस्था हुन्छ । त्यो अवस्थामा हाम्रो पार्टीको कुनै नेताले सुविधाका लागि आफ्ना मान्छेको सिफारिस गर्ने कुरा गम्भीर गल्ती हुन्छ र त्यसलाई पार्टीले गलत मान्दछ । दुर्गा पौडेललाई मोहनविक्रमको पत्नीको हैसियतले होइन कि हाम्रो पार्टीको उच्च नेतृ एवम् क्षमतावान् व्यक्तित्वको हैसियतले पार्टीले अगाडि सार्ने गर्दछ ।

    हाम्रो पार्टीको कार्यगत एकताको नीतिबारे
    हाम्रो पार्टीको कार्यदिशाअनुसार पार्टीले कुनै नीतिलाई लागु गर्दा विभिन्न पक्षबाट त्यसको समर्थन वा विरोध हुने कुरा स्वाभाविक छ ।

    यस सन्दर्भमा हामीले काङ्ग्रेससँग गरेको कार्यगत एकतालाई लिएर गरिएको विरोध विशेष उल्लेखनीय छ । काङ्ग्रेससँग विगतमा पञ्चायत विरोधी आन्दोलन, २०५९ सालमा भएको प्रतिगमनका विरुद्धको संयुक्त आन्दोलन र ओलीको प्रतिगमनका विरुद्धको सङ्घर्षमा हाम्रो पार्टीले कार्यगत एकता कायम गरेको थियो । ती सबै कार्यगत एकता हाम्रो कार्यगत एकतासम्बन्धी नीतिमाथि आधारित छन् । यहाँ हामीले ओलीको प्रतिगमनका विरुद्ध काङ्ग्रेससँग हाम्रो पार्टीको कार्यगत एकताबारे मात्र चर्चा गर्ने छौँ ।

    कुरा एमालेसितको कार्यगत एकताको विगतको स्मरणबाट नै सुरु गरौँ ।

    हामीले एमालेसित कैयौँपटक विभिन्न विषयमा कार्यगत एकता गरेका थियौँ र आवश्यकताअनुसार भविष्यमा पनि त्यस प्रकारले कार्यगत एकता गर्न सकिने कुरा सामान्यतया सैद्धान्तिक रूपले सही छ । कार्यगत एकताको सन्दर्भमा विगतमा एमालेले देखाएको अविश्वसनीय र घातक व्यवहारको इतिहास गम्भीर प्रकारको छ ।

    पहिले राष्ट्रियसभाको एउटा चुनावमा एमालेसित भएको कार्यगत एकताको समझदारीअनुसार उनीहरूका सबै उम्मेदवारलाई हाम्रा सांसदले र हाम्रो एक जना उम्मेदवारलाई उनीहरूका सांसदले मत दिनुपर्दथ्यो । हाम्रा सांसदले उनीहरूका उम्मेदवारलाई मतदान गरे र उनीहरू विजयी पनि भए तर उनीहरूका सबै सांसदले राप्रपाका उम्मेदवारलाई मतदान गरेर विजयी बनाएका थिए ।

    कपिलवस्तुको प्रत्यक्षतर्फको संसदीय चुनावमा एमाले र हाम्राबिच तालमेल भएको थियो । उनीहरूका उम्मेदवारलाई हाम्रा मतदाताले मतदान गरेको भए पनि एमालेले राप्रपाका उम्मेदवारलाई मतदान गरेर हामीमाथि विश्वासघात गरेका थिए तर उनीहरूले त्यस प्रकारको विश्वासघात गरे पनि उनीहरूसितको हाम्रो कार्यगत एकताको नीति कायम रहँदै आएको छ ।

    प्रतिगमन विरोधी गठबन्धनको चुनावी सहकार्यको समयमा माओवादी, नेकाको प्रतिपक्ष गुट र समाजवादीले विभिन्न स्तरका चुनावमा विभिन्न स्थानमा हाम्रा विरुद्ध कार्य गरेका थिए । प्युठानको झिमु्रक गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा हाम्रा विरुद्ध माओवादी केन्द्रले उम्मेदवारी दिएर सहमतिको उल्लङ्घन गरेको थियो । त्यहाँको प्रतिनिधि सभाको चुनावमा काङ्ग्रेसको प्रतिपक्ष गुट हाम्रा विरुद्ध उभिएको थियो । त्यसैगरी, अर्घाखाँचीमा पनि पहिलेको प्रदेशसभाको चुनावसम्बन्धी भएको सहमतिलाई त्यस बेलाका एकीकृत समाजवादी र माओवादी केन्द्रले तोडेका थिए ।

    यी सबैका बाबजुद पनि हामीले देशको आवश्यकताका आधारमा विभिन्न पक्षसँग विभिन्न विषयमा कार्यगत एकता गर्दै आएका छौँ ।

    त्यसरी यो कुरा स्पष्ट छ कि पद, प्र्रतिष्ठा र सत्तास्वार्थका लागि हामीले हाम्रो नीतिमा परिवर्तन गर्दैनौँ । देशको आवश्यकताअनुसार हामीले हाम्रो नीति निर्धारण गर्दै आएका छौँ । काङ्ग्रेससँगको हाम्रो कार्यगत एकताको नीति पनि देशको आवश्यकतासँग जोडिएको विषय थियो ।

    तत्कालीन नेकपाको सरकारलाई हामीले समर्थन गर्नुको मुख्य उद्देश्य गणतन्त्र र धर्मनिरपेक्षताप्रति त्यसले देखाएको प्रतिबद्धता नै थियो । नेपालमा अहिले पनि गणतन्त्र र धर्मनिरपेक्षता समाप्त गर्नका लागि प्रतिगामी प्रयत्न जारी रहेका छन् । नेपालमा जनताको आन्दोलन, बलिदान र सङ्घर्षले स्थापित गरेको कुनै उच्च मूल्य छ भने त्यो गणतन्त्र र धर्मनिरपेक्षता नै हो । त्यसलाई अहिले समाप्त गर्नुको अर्थ प्रतिगमनले विजय पाउनु हुन्छ । हामीले त्यसकारण गणतन्त्र र धर्मनिरपेक्षताको रक्षामा जोड दिँदै आएका छौँ ।

    प्रतिगमनले विजय पाएमा मुलुकले अँध्यारो युगतिर प्रवेश गर्दछ र पुनः त्यही कुरा प्राप्त गर्नको लागि जनताले ठुलो बलिदानी गर्नुपर्ने अवस्था हुने छ । त्यसैले त्यस प्रकारको अवस्था आउन नदिन वर्तमान गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको कार्य नै प्रगतिशील कार्य हुन्छ भन्ने हाम्रो दृढ विचार रहेको छ । हाम्रो यही विचार र तत्कालीन नेकपाले गणतन्त्र र धर्मनिरपेक्षताप्रति दर्शाएको प्रतिबद्धताका कारणले हामीले ओलीको सरकारलाई समर्थन गरेका थियौँ तर पछि उनले प्रतिगमनको बाटो लिएपछि नेकपा (मसाल) ले उनको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो र उनको प्रतिगामी कदमका विरुद्ध सङ्घर्ष गर्ने नीति अगाडि सारेको थियो ।

    ओलीको प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्ने हाम्रो नीतिसित मेल खाने अन्य राजनीतिक पक्षसित पनि हामीले कार्यगत एकता गर्ने नीति अपनाएका थियौँ । त्यो सन्दर्भमा हामीले सर्वप्रथम एमसिसी विरुद्धको सङ्घर्षलगायतका कतिपय राष्ट्रियताका विषयमा कार्यगत एकता गरेका पक्षसित नै प्रतिगमनका विरुद्ध संयुक्त सङ्घर्ष गर्ने नीति अपनाएका थियौँ तर ती पक्षमध्ये कतिपयको प्रतिगमनबारे स्पष्ट धारणा नभएको र वर्तमान गणतन्त्र र धर्मनिरपेक्षतासम्बन्धी उनीहरू र हाम्राबिचमा गम्भीर मतभेद रहेकाले उनीहरूसित प्रतिगमनका विरुद्धको कार्यगत एकता सम्भव हुन सकेन । त्यो अवस्थामा ओलीको प्रतिगमनका विरुद्धमा आएका नेपाली काङ्ग्रेस, स्वयम् नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल आदिसित हामीले कार्यगत एकता गरेका थियौँ । त्यो एकताले उनको प्रतिगमनलाई परास्त गर्नमा केन्द्रीय भूमिका खेलेको थियो ।

    ओलीले संसदीय व्यवस्थामा संसदको सर्वोपरिता, न्यायपालिकाको निर्णय, संविधानको भावनालाई कुल्चेर प्रतिगामी दिशाबाट सत्ताको दाउपेज गरिरहेका थिए । त्यसका विरुद्धको सङ्घर्षको देशको राजनीतिमा धेरै ठुलो आवश्यकता थियो । त्यही आवश्वयकता पूरा गर्न प्रतिगमन विरोधी गठबन्धन बनेको थियो । त्यसले कम्तीमा ओलीको प्रतिगामी प्रयत्नलाई असफल बनाउँदै संविधानको रक्षा गर्नका लागि योगदान दियो । न्यायपालिकाप्रतिकोे जनविश्वासलाई जीवित राख्नुपर्छ भन्ने न्यायिक चेतले पनि निरन्तरता पाउनका लागि मार्गप्रशस्त बन्न गयो । त्यसले गर्दा नै ओलीले दुई दुईपटक समाप्त गरेको संसद्लाई स्थापना गर्न न्यायपालिकालाई सम्भव भएको थियो । यसरी प्रतिगमन विरुद्धको उक्त गठबन्धनको ऐतिहासिक महत्त्व रहेको थियो ।

    ओलीले आफ्नो प्रतिगामी कदमलाई सही भएको सिद्ध गर्नका लागि प्रयत्न गर्दै आएको भए पनि त्यसलाई परास्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीको दृढ मत रहँदै आएको छ । त्यो सन्दर्भमा प्रतिगमनका विरुद्ध सङ्घर्ष गरेका पक्षबिच चुनावी एकता कायम हुनुपर्छ भनेर हामीले जोड दिएका थियौँ । हामीले वर्तमान राजनीतिमा मुख्य समस्याको रूपमा प्रतिगमनलाई मान्दछौँ र त्यसका विरुद्धको सङ्घर्षमा जोड दिन्छौँ । त्यसरी प्रतिगमनको विरुद्धमा जाने पक्षसित हाम्रो आवश्यकताअनुसार कार्यगत हुन सक्दछ । हामीले नेपाली काङ्ग्रेससँग गरेको चुनावी तालमेलको उद्देश्य प्रतिगमन विरोधी सङ्घर्षसित सम्बन्धित थियो र छ । अहिले प्रचण्डले प्रतिगमनका मतियारसित सत्तासाझेदारी गरेको कुरालाई हामीले गलत बताएका छौँ ।

    कुनै सरकारको समर्थन वा विरोधबारे
    ओलीले पछिल्लोपटक करिब तीन वर्ष सरकार चलाएका थिए । हाम्रो पार्टीका एकथरिका विरोधीले उनको सरकारलाई समर्थन गरेकोमा विरोध गर्दै आएका थिए । कसैको विरोध वा समर्थन त्यो जेसुकै भएको भए पनि त्यसका आधारमा नभएर हाम्रो पार्टीले देशको आवश्यकता र जनताको हितमाथि ध्यान दिएर नै नीति निर्धारण गर्दै आएको छ । त्यो सन्दर्भमा यो कुरा उल्लेखनीय छ कि ओलीले प्रतिगमनको दिशा लिएपछि उनीबाट नै गणतन्त्र र धर्मनिरपेक्षतामाथि गम्भीर प्रहार भयो । त्यो अवस्थामा उनको सरकारलाई समर्थन दिइरहनुको अर्थ गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्धको कुरा हुन्थ्यो । हामीले त्यसो गर्न सक्दैन्थ्यौँ र गरेनौँ पनि ।

    पछि प्रतिगमन विरुद्ध सङ्घर्ष गरेका कतिपय पक्षले सरकार निर्माण गरे र त्यो सरकारलाई हामीले समर्थन गर्याैँ तर सरकारका गलत कार्यलाई विरोध गर्ने र आवश्यकता अनुसार सङ्घर्ष गर्दै जाने नीति अपनायौँ । गत साल प्रतिगमन विरोधी शक्तिबिच भएको चुनावी तालमेलले एक प्रकारको सफलता हासिल गरेको भए पनि प्रचण्डको अविश्वसनीय भूमिकाले प्रतिगमन विरोधी मोर्चाको दीर्घकालीन अस्तित्वलाई गम्भीर समस्यामा धकेल्दै आएको छ ।

    पहिले प्रचण्डले एमाले लगायतसित निर्माण गरेको सरकारलाई हामीले समर्थन गरेका थिएनौँ किनभने त्यसमा प्रतिगमनका मतियार, प्रतिगामी तथा अमेरिकी साम्राज्यवादी सङ्गठनसमेत मिलेर त्यो सरकार निर्माण भएको थियो । त्यसैले त्यो सरकारलाई समर्थन गर्ने प्रश्न नै थिएन । हाम्रो यो जोड रहँदै आएको छ कि कम्तीमा प्रतिगमन विरोधी शक्तिबिच एकता कायम हुनुपर्छ । त्यसैले केही महिनापछि प्रचण्ड पुनः प्रतिगमन गठबन्धनमा आएर सरकार निर्माण गरेकाले हामीले त्यो सरकारलाई समर्थन गरेका थियौँ तर अहिले प्रचण्डले प्रतिगमनका पक्षधर र अमेरिकी साम्राज्यवादी समर्थक पार्टीसित मिलेर सरकार निर्माण गरेकाले त्यो सरकारलाई हामीले समर्थन गरेका छैनौँ । यसरी कुनै सरकारलाई समर्थन वा विरोध गर्नेसम्बन्धी हाम्रो आफ्नो नीति छ, जुन नीतिले देश र जनताको हितलाई केन्द्रमा राख्दछ । यसमा एमाले अध्यक्ष ओलीले कुनै शङ्का गर्नुपर्दैन ।

    ओलीको झुटो अभिव्यक्ति र वास्तविकता
    प्रतिगमनपछि ओलीको सरकार बर्खास्त भयो । त्यसपछि तत्कालीन प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलबारे एउटा कार्यक्रममा ‘मन्त्री नपाएकाले आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता लिएको’ भनेर अभिव्यक्ति दिनुभएको थियो । हामीले उहाँको त्यो झुटो अभिव्यक्तिबारे चर्चा गर्नुभन्दा पहिले यो कुरा स्पष्ट गर्न चाहन्छौँ : ओली एक झुटा र स्टन्टबाज व्यक्ति हुनुहुन्छ । राजनीतिक स्तर न्यून भएको हाम्रो देशको सन्दर्भमा उहाँ र उहाँ जस्ता झुटा र स्टन्टबाजी काफी हदसम्म सफल हुन्छन् । त्यो कुरा अहिले उहाँहरूले नै देशलाई कब्जामा लिएको कुराबाट स्पष्ट हुन्छ ।

    ‘मन्त्री नपाएकाले’ भन्ने वाक्यांश एउटा हास्यास्पद र झुटको खेती हो । मन्त्री वा अन्य पद पनि नपाएपछि गुट परिवर्तन गर्ने, दलबदल गर्ने रीतिरिवाज र संस्कार हाम्रो पार्टीमा छैन । पहिलो कुरा त हाम्रो पार्टीमा मुख्य र महत्त्वको विषय सिद्धान्त र विचार हुन्छ । दोस्रो, सामूहिक निर्णय स्वीकार्य हुन्छ । व्यक्तिगत स्वार्थको इच्छा र चाहना पूरा गर्ने मनासायलाई हाम्रो पार्टीले पूरै निरुत्साहित गर्दछ । त्यसैले मन्त्री वा कुनै पदका लागि हाम्रो पार्टीको कुनै सदस्यले व्यक्तिगत रूपमा कुनै दुःख र परिश्रम गर्नुपर्ने आवश्यकता हुँदैन । पार्टीको निर्णय हुन्छ भने हुन्छ, हुन्न भने हुन्न तैपनि ओलीको अभिव्यक्तिअनुसार ‘मन्त्री नपाएकोले’ भन्ने कुरा कति सत्य हो ? त्यसबारे सामान्य चर्चा गरौँ ।

    ओलीको प्रतिगमनको विरुद्धमा उनकै पार्टी तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड, सोही पार्टीका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, नेपाली काङ्ग्रेस, जसपासमेत उनको सो कदमको विरुद्ध खडा भएका थिए । त्यो बेलामा हामीले ओली सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थियौँ र प्रतिगमनका विरुद्धमा खडा भएका थियौँ । त्यो अवस्थामा आफ्नो सरकारलाई टिकाउनका लागि ओलीले प्रयत्न गर्ने कुरालाई हामीले राजनीतिक नै मान्दछौँ । त्यो सन्दर्भमा हामीलाई सरकारमा सामेल गर्नका लागि उनीहरूले प्रयत्न गरेका थिए ।

    त्यस सिलसिलामा यो कुरा उल्लेखनीय छ कि काठमाडौँ कमलादीस्थित एउटा होटेलमा तत्कालीन एमाले नेता टोपबहादुर रायमाझीले हाम्रो पार्टीका महामन्त्रीसित भेटघाट गरेर त्यस विषयमा दुर्गा पौडेललाई मन्त्री बनाउनका लागि प्रस्ताव गरेका थिए तर त्यो कुरालाई हाम्रो पार्टीका महामन्त्रीले प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्नुपर्ने देशका तत्कालीन राजनीतिक आवश्यकतामा जोड दिँदै रायमाझीको उक्त प्रस्तावलाई पूरै अस्वीकार गर्नुभएको थियो । उक्त भेटघाट हुँदा म स्वयम् महामन्त्री मोहनविक्रम सिंहसँगै भएकाले रायमाझी र आफूबिच भएको सम्पूर्ण कुराकानीको विवरण उहाँले मलाई बताउनुभएको थियो । त्यो सम्पूर्ण विवरण सही थियो र त्यसअनुसार पार्टीले प्रतिगमन विरोधी सङ्घर्षमा लगातार सङ्घर्ष गर्दै गयो ।

    वास्तवमा सत्यता यो हो कि दुर्गा पौडेललाई नेकपाको सरकार हुँदा मन्त्री बनाउने वा उपसभामुख बनाउने प्रस्ताव आएको थियो । त्यो बेलामा हामीले सरकारलाई समर्थन गरिरहेका थियौँ र मन्त्री वा उपसभामुख हुन पनि गाह्रो थिएन । सरकार बनाउन, सामेल हुन वा त्यस प्रकारका पदमा जाने पार्टीको नीति खुला छ । त्यसो भए पनि संसद्मा हाम्रो भूमिका र सङ्घर्षलाई ध्यानमा राखेर त्यसबारे पार्टीले आवश्यक निर्णय गर्दछ । त्यही कुरालाई विचार गरेर पार्टीले सरकारमा सामेल हुन वा उपसभामुखको पदलाई अस्वीकार गरेको थियो ।

    यसरी इतिहास साक्षी छ कि ओलीले ‘मन्त्री नपाएकोले’ भनेर जुन र जति झुटो बोल्नुभएको छ, त्यो त्यति नै असत्य र स्टन्टबाजी पनि छ । यो त हाम्रो देशको विडम्बना हो कि सतिसालले लिनुपर्ने स्थान झुटका पुलिन्दा र स्टन्टबाजीले लिन सफल भएका छन् । देशको यो बिडम्बना तयार हुनका लागि विभिन्न पक्षको भूमिका होला तर त्यसको परिणाम यो भएको छ कि जनताले सत्यलाई होइन कि झुटका पुलिन्दा र स्टन्टबाजलाई समृद्ध गरिरहेका छन् । त्यसैमा आफ्नो भविष्य खोजिरहेका छन् । वास्तवमा त्यो एउटा मृगतृष्णा जस्तै हो, जहाँ उनीहरूले कहिल्यै आनो भविष्य प्राप्त गर्न सक्ने छैनन् । यो कुरा हामीले अहिले भनेको होइन, इतिहासका सम्पूर्ण नजिरले प्रमाणित गर्दै आएका छन् र भविष्यमा अरू प्रष्ट हुँदै जाने छ ।

    सोमबार, चैत १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.