लुम्बिनी । विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका वाणिज्यदूतहरुले शुक्रबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्तिको लागि आह्वान गरेका छन् ।
परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्य दुतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन)ले संयुक्त रुपमा आयोजना गरेको लुम्बिनी कन्क्लेभमा उनीहरुलले शान्ति विना समृद्धि सम्भव नहुने भन्दै सबै देशलाई शान्तिका लागि आग्रह गरेका हुन् ।
विभिन्न देशबाट नेपाल आएका राजदूतहरूले लुम्बिनी परिसरमा विश्व शान्तिका लागि प्रार्थना समेत गरेका थिए ।
कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले विकासलाई अगाडि बढाउन शान्ति आवश्यक रहेको र लुम्विनीले विश्वमा शान्तिको सन्देश दिने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सम्मेलनको सन्देश पढदै विश्वमा शान्ति स्थापना र द्धन्द्ध समाधानमा भएका प्रयासलाई दुगुना पार्नुपर्ने बताए ।
उनले वर्तमान समयमा बुद्धका सन्देशको महत्व झन् बढेको बताए । ‘भगवान बुद्धको उपदेश बुद्ध धर्म मान्नेहरुका लागि मात्र होइन सबै धर्म मान्नेका लागि उत्तिकै उपयोगी छ, उनको भनाई थियो ।
‘नेपालमा व्यापार व्यवसाय गर्ने धेरै क्षेत्रहरु छन् । यस्तो गर्न कुनै कानुन वा नीतिले अवरोध गरेको छ भने त्यसलाई पुनरावलोकन गर्न नेपाल सरकार तयार छ । हामी लगानीलाई प्रोत्साहन गर्न र आर्थिक विकासलाई गति दिन सरकारले लगानीकर्ताको सल्लाहसुझावलाई गम्भीर रुपमा लिइरहेको छ ।’
उनले सरकार परिवर्तन हुनु भनेको नीति परिवर्तन हुनु नभएको बताए ।
‘म सबै राजदूत र कुटनीतिज्ञहरुलाई आ आफ्नो देशमा नेपाल लगानीको राम्रो गन्तव्य भएको सन्देश फैलाउन आग्रह गर्दछु,’ उपप्रधान तथा परराष्टमन्त्रले श्रेष्ठले भने ।
लुम्बिनी कन्क्लेभमा चर्चित कलाकार उजय बज्राचार्यको कला प्रदर्शनी र अन्य आर्थिक विषयवस्तुमा विचार गोष्ठी पनि भएको थियो । सम्मेलनको दोस्रो दिनको पहिलो सत्रमा नेपाल लगानी बोर्डका उपसचिव रमेश अधिकारीले नेपालमा रहेका लगानीका अवसर र आसन्न लगानी सम्मेलनका बारेमा प्रकाश पारेका थिए।
साथै, नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालमा पर्यटनको असीमित सम्भावना र लुम्विनीको पर्यटकीय महत्वको बारेमा प्रस्तुती गरेका थिए ।
एचसीसीएनका तर्फबाट डिन विष्णु कुमार अग्रवालले कन्क्लेभले समृद्धिका लागि शान्तिको आवश्यकतामा सम्मेलनले जोड दिएको बताए ।
‘विश्वका कैयन राष्टका राजदूतको यो उपस्थितीले बुद्धजन्मभूमिलाई सम्मान मात्र गरेको छैन, अझ बढी शान्तिपूर्ण र समृद्धि विश्व बनाउनका लागि जग पनि बसालेको छ’, डिन विष्णु कुमार अग्रवालले भने ।
उनले एचसीसीएनले नेपाल सरकार र सम्बन्धित मुलुकबीच पुलको रुपमा काम गर्नुका साथै प्रविधि स्थानान्तरण, व्यापार व्यवसाय विस्तारलाई विस्तार गर्न भूमिका निर्वाह गर्दै आएको बताए ।
सम्मेलनको समापन सत्रमा बोल्दै पर्यटन, सस्कृति तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले तिलौराकोटलाई विश्व सम्पदा सुचीमा राख्ने प्रयाश भैरहेको बताए । उनले लुम्विनीको बौद्ध परम्परा र सस्कृति जगेर्ना सरकार कटिबद्ध रहेको बताउदै, लुम्बिनी गुरुयोजनामा मार्फत लुम्विनी विकासको अभियानलाई अगाडि बढाइएको बताए ।