गलकोट (बागलुङ) । कुनै समय एउटा प्लास्टिक टनेल नभएको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँमा अहिले ४२ मात्रै आधुनिक प्लास्टिक टनेल छन् । अस्थायी टनेल त्यो सङ्ख्याको दोब्बर छन् ।
बसाइँसराइले आक्रान्त बनेको गाउँ अहिले सहकारीमार्फत कृषिमय बन्दै आएको छ । यहाँ आउने हरेक कृषिका कार्यक्रम सर्कुवा गाउँको साना किसान कृषि सहकारी संस्थामार्फत हुँदै आएका छन् । सहकारीमार्फत उपकरण, तालिम र अनुदानको व्यवस्था मात्रै सहकारीले गरेको नभई आलु, बेसार र अदुवा आफैँ उत्पादन गर्दै आएको छ ।
मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमसमेत सहकारीमार्फत २०७७ सालदेखि तीन वर्ष सहकारीमार्फत चलेको थियो । साना किसान कृषि सहकारी संस्थाले अदुवा, बेसार र आलुखेती गर्दै आएको छभने कृषिका कार्यक्रमलाई किसानसँग सहकारीमार्फत जोड्दै आएको छ ।
विसं २०७९ मा स्थापना भएको सहकारीले सुरुआती चरणमा बचत तथा ऋण कारोबारमात्रै गर्दै आएकामा पाँच वर्षयता उद्देश्यअनुरुप बेसार, अदुवा र एक वर्षयता आलुखेती गर्न थालेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष प्रभाकर पौडेलले जानकारी दिनुभयो ।
पाँच सय १६ शेयर सदस्य रहेको उक्त सहकारीमार्फत यहाँका किसानलाई कृषिमा प्रेरित गर्ने, अनुदानका कार्यक्रम ल्याउने र बजारीकरणमा सघाउने गर्दै आइएको छ ।
‘विसं २०७७ अघि सर्कुवामा प्लास्टिक टनेल थिएनन्, मुख्यमन्त्री नमुना कृषि गाउँ घोषणा भएपछि सहकारीमार्फत नै उक्त कार्यक्रम आएको थियो । सर्कुवा गाउँमा ४२ आधुनिक प्लास्टिक टनेल निर्माण गरिएको थियो । ७८ गोठको भकारो सुधार गरिएको थियो‘ अध्यक्ष पौडेलले भन्नुभयो– ‘एउटा प्लास्टिक टनेल नभएको गाउँमा अहिले कृषिको क्रान्ति नै आएको छ । सहकारीमार्फत अहिले ३० किसानले अदुवा र बेसार खेती गर्नुभएको छ । सहकारीमार्फत ३५ रोपनी जग्गामा यस वर्षदेखि आलुखेती गर्न थालिएको छ ।’
नगरपालिकाबाट अनुदानमा आएको अदुवा र बेसारको बिउ सहकारीमार्फत किसानलाई दिने र उत्पादनपछि ५० प्रतिशत बिउ फिर्ता लिने सहकारीको नीतिअनुसार किसान अदुवा तथा बेसारखेतीमा आकर्षित भएका छन् । किसानले बिउका लागि लगेको अदुवा र बेसार उत्पादनपछि ५० प्रतिशत फिर्ता गरेपछि सहकारीले उक्त बिउ पुनस् बजारीकरण गरेर आम्दानी गर्दै आएको छ ।
यस वर्ष सहकारीले १३ क्विन्टल बेसार बिक्रीका लागि तयारी अवस्थामा राखेको छ भने दुई क्विन्टल अदुवा नगरपालिकामार्फत बजारीकरण गर्ने भएको छ । मुख्यमन्त्री नमुना कृषि गाउँमार्फत साना किसान सहकारीमार्फत रु ५२ लाख अनुदानबाट गाउँ कृषिमय हुन थालेको उहाँले बताउनुभयो ।
अहिले खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहकारीले ३५ रोपनी जग्गामा आलुखेती गर्न थालेको र पहिलो चरणमा दुई मेट्रिकटन आलु उत्पादन गरेर बजारीकरणको तयारीमा जुटेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । सहकारीमार्फत कृषि ज्ञान केन्द्रको रु तीन लाख अनुदानमा पहिलोपटक ३५ रोपनी जग्गामा आलुखेती गरिएको छ । आलुखेतीका लागि कृषि ज्ञान केन्द्रले सहकारीलाई आलुको बिउदेखि सिँचाइको व्यवस्था मिलाएको थियो । रु ४५ लाख शेयर पूँजी रहेको सहकारीको आफ्नै कार्यालय भवन र दुई जनालाई प्रत्यक्ष रोजगारीसमेत दिइएको छ ।
बसाइँसराइको समस्या रहेको उक्त स्थानमा सहकारीमार्फत कृषि थालेपछि यहाँका नागरिकलाई राहत मिलेको छ । यहाँका किसानले प्लास्टिक टनेलमार्फत उत्पादन गरेको टमाटर, काउली, साग र सिमी तथा सहकारीमार्फत उत्पादन गरिएको आलु, बेसार र अदुवाको बजारीकरणमा भने समस्या रहेको सर्कुवाका अगुवा किसान खगेन्द्र थापाले बताउनुभयो ।
सर्कुवाबाट बागलुङ बजार कुश्माबजार टाढा रहेकाले बजारीकरणमा समस्या भएको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणमा मात्रै ठुलो रकम खर्च भइरहेको नगर प्रमुख नरबहादुर पुनले बताउनुभयो । उहाँले बजारीकरणको मात्रै नगरपालिकाले जिम्मा लिन सक्ने हो भने उत्पादनमा किसान थप प्रेरित हुने जनाउँदै कृषि एम्बुलेन्सको अवधारण ल्याइने बताउनुभयो ।
‘किसानले उपभोग गरेर समेत बाँकी रहेको कृषि उपजलाई बजारसम्म पुर्याउने, व्यावसायिक उत्पादनलाई सोझै बजार पढाउँदा बिचौलियाको अन्त्य हुने छ’ पुनले भन्नुभयो– ‘कृषिउपजको ढुवानीमा ठुलो रकम खर्च भइरहेको हामीले देखेका छौँ । नगरपालिकाले एउटा कृषि एम्बुलेन्स दिन सकेमा किसानले आफैँ व्यवस्थापन गरेर चलाउँदा आधाभन्दा सस्तो मूल्यमा बजार पठाउन सकिन्छ ।’
सहकारीले उत्पादन गर्दै आएको बेसार र अदुवालाई सुकाएर बिक्री गर्नका लागि ‘ड्राइ मेसिन’ दिने नगरपालिकाको तयारी छ ।