काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्।
शुक्रबार बिहान बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले दोषी जोसुकै भएपनि कारबाही गर्न निर्देशन दिए ।
यस्तै, प्रधानमन्त्रीले जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन पनि गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।