तौलिहवा । कपिलवस्तु एक सय चौधौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
अखिल नेपाल महिला सङ्घ शिवराज नगर समितिको आयोजनामा २०८० फागुन २४ गते बिहीबार खरेन्द्रपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि महिला सङ्घकी जिल्ला अध्यक्ष कमला पौडेल हुनुहुन्थ्यो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले महिलाहरूको हक, हित र अधिकार सीमित प्रकारको रहेको दाबी गर्नुभयो ।
मूलत: पुरुषप्रधान प्रतिक्रियावादी राज्यसत्ताका कारण पछाडि परेको बताउँदै उहाँले महिला सचेत र सङ्गठित भएर लड्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव केरसिंह अदैले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा प्रकाश पार्दै पुरुषसरह समान हक र स्वतन्त्रता प्राप्त गर्न पैत्रिक सम्पत्तिमा छोरासरह हक, विवाह र सम्बन्धविच्छेदको स्वतन्त्रता, गर्भपतनको स्वतन्त्रता पारिवारिक न्यायालयको स्थापना जस्ता विषयमा उठान गर्नभयो ।

उहाँले महिला आन्दोलनलाई आमूल परिवर्तनसँग जोडेर लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा राजमो जिल्ला कोषाध्यक्ष तथा शिवराज नगर अध्यक्ष केहरसिंह पुन र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य कर्मराज चौधरीले पनि मन्तव्य राख्नुभएको थियो ।
महिला सङ्घकी नगर अध्यक्ष बलौता विकको अध्यक्षता तथा जिल्ला सहसचिव विनिता अदैको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा महिला सङ्घकी नगर सदस्य राममाया सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो ।
