हनोई । भियतनामको राजधानी हनोईलाई विश्वकै प्रदूषित सहर घोषणा गरिएको छ ।
मार्च ५, २०२४ मङ्गलबार दिउँसो वायु निगरानी वेबसाइट आइक्युएयरको विश्वका सबैभन्दा प्रदूषित सहरको तालिकामा हनोई शीर्ष स्थानमा देखिएको हो ।
बाक्लो धुवाँले ढाक्दा हनोई सहरका अग्ला भवन अस्पष्ट देखिएका थिए भने सहरका करिब ९० लाख मानिसले विषाक्त हावामा सास लिन बाध्य हुनुपरेको थियो ।
फोक्सोमार्फत रक्तप्रवाहमा प्रवेश गर्न पर्याप्त क्यान्सर बनाउने सूक्ष्म कण पिएम२.५ प्रदूषकको स्तर धेरै अस्वस्थकरका रूपमा वर्गीकृत गरिएको छ र विश्व स्वास्थ्य सङ्गठनको वार्षिक दिशानिर्देशअनुसार यो २४ गुणाभन्दा बढी छ ।
हालैका वर्षमा हनोईलाई बारम्बार विश्वको सबैभन्दा प्रदूषित सहरमा सूचीबद्ध गरिएको छ । आंशिक रूपमा व्यापक निर्माण र प्रत्येक दिन राजधानीमा ठुलो सङ्ख्यामा मोटरसाइकल र कारबाट हुने उत्सर्जनलाई यसको प्रमुख कारक मानिएको छ । त्यस्तै, उत्तरमा कोइला खानीबाट हुने कार्बन उत्सर्जन र कषि जलनले समस्या थप बढेको छ ।
‘पछिल्ला केही दिनमा हावाको गुणस्तर अत्यन्त खराब भएकाले बाहिर निस्कँदा मैले मास्क लगाउनुपरेको छ’ कार्यालयका कर्मचारी गुयेन मिन्ह हुआङले भन्नुभयो– ‘सास फेर्न कठिन छ, मलाई बारम्बार हाछ्युँ आएकाले बाहिर निस्कने समयलाई सीमित गर्नुपरेको छ ।’
उच्च आद्रताले बाक्लो कुहिरोले हनोईलाई ढाकेर वायु प्रदूषणमा भएको वृद्धिले दृश्यता कम हुँदा गत महिना दर्जनौँ उडान प्रभावित भएका थिए । मौसम पूर्वानुमानकर्ताले विशेषत: भियतनामको उत्तरपूर्वी पहाडी क्षेत्रमा बाक्लो धुवाँको नियमित चेतावनी जारी गरेका छन् ।
वायु प्रदूषणमा विश्व बैङ्कको पछिल्लो प्रतिवेदनमा हनोईमा ४० प्रतिशत मानिस विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दिशानिर्देशभन्दा करिब पाँच गुणा धेरै सघनताको सम्पर्कमा रहेको उल्लेख छ । वायु प्रदूषणको जोखिमसँग स्ट्रोक, हृदयरोग र फोक्सोको क्यान्सर जस्ता गम्भीर स्वास्थ्य जोडिएका डब्लुएचओले बताएको छ । (रासस/एएफपी)