धनगढी । गण्डकीपछि सुदूरपश्चिम प्रदेशमा पनि नेकपा माओवादीका मन्त्रीलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।
बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् ।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमत पुग्छ ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।
केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन् ।
यसअघि गण्डकी प्रदेशमा पनि कांग्रेसका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादीका मन्त्रीलाई हटाएका थिए ।